Tuesday, March 15, 2016

कांग्रेसमा शशांक कोइरालाको नयाँ अवतार

कांग्रेसमा शशांक कोइरालाको नयाँ अवतार

एउटै लाइनका शेरबहादुर र शशांक किन दुई खेमामा ?

२०७२ फागुन २१ गते १८:०३ मा प्रकाशित
 4  7 
  0
अरुणकुमार सुवेदी
नेपाली कांग्रेसमा कोइराला परिवारको वर्चश्व र महत्व कहीँकसैबाट छिपेको छैन । यसप्रति विरोध र समर्थन पनि सुरुदेखि नै भई आएको छ । तर, आजको विषय भने यसतर्फ भन्दा पनि कोइराला परिवारका कान्छा भाइ शशांक कोइरालाको नयाँ अवतारका बारेमा केन्द्रित हुनेछ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
बैचारिक रुपमा कोइराला परिवारभित्र समय-समयमा विवाद परेको र बढेको कुरा नेपाली कांग्रेसको इतिहासको सामान्य जानकारी हुने जोकोहीलाई थाहा छ ।
मात्रिका अवतार
विसं. २००८ सालमा सर्वप्रथम नेपाली कांगे्रसकै नेता पहिलो प्रधानमन्त्री भएका बखत तात्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला र वी.पी. कोइरालावीचको विवादले एक्लिएका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला नयाँ भूमिकामा देखापरे ।
कोइराला परिवार र नेपाली कांग्रेस पार्टीको साथ नपाएर एक्लिएका मात्रिकाबाबुलाई तात्कालीन राजा त्रिभुवन र तात्कालीन हिन्दुस्थानी प्रधानमन्त्री नेहरुको भने राम्रै साथ थियो भन्ने इतिहासले देखाउँछ । तर मात्रिकाबाबुको राजा र हिन्दुस्थानपरस्त अवतारले २००७ सालको क्रान्तिमा वहाँले खेलेको भूमिकाको समेत यथोचित मूल्यांकन र चर्चाबाट नै वञ्चित गर्‍यो । त्यसपछिका दिनहरुमा पनि मात्रिकाबाबुको राजनीतिक यात्रालाई सधैं संकटमा पार्‍यो ।
मात्रिकाबाबुको यो अवतार कांग्रेस, प्रजातन्त्र, कोइराला परिवार र वहा स्वयंलाईसमेत प्रत्युत्पादक भएको देखिन्छ ।
प्रकाश अवतार
कोइराला परिवारभित्र वीचवीचमा अरु पनि विवादहरु नआएका होइनन् । तर, कांग्रेस पार्टी र कोइराला परिवारको निर्णय विपरीत सबैभन्दा उल्लेख्य विद्रोहकारी अवतार देखियो ०४६/०४७ सालको जनआन्दोलनमा बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइरालाको ।
Prakash Koirala-1नेपाली कांग्रेस, पूरा हिन्दुस्तान र पश्चिमाहरुसमेत एक खेमामा आएर चलाइएको जनआन्दोलनलाई कांग्रेसको मूल मान्यता विपरीत भनी वहाँले विरुद्धमा वक्तव्य दिनुभयो । वहाँको विरोधका बावजुद जनआन्दोलनले लक्षातीत उपलब्धि हासिल गर्‍यो र पञ्चायत ढल्यो ।
त्यसपछिका राजनीतिक क्रियाहरुमा प्रकाश कोइराला नेपाली कांग्रेसभित्र ‘एकोमोडेट’ त हुनुभयो, तर आफ्नो लाइन भने कहिल्यै परिवर्तन गर्नुभएन ।
कांग्रेसको मूल लाइनको विपरीत उभिएर पनि प्रकाश कोइराला केन्द्रीय सदस्य, सांसद, मन्त्री इत्यादि भइरहनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलन प्रक्रिया र राजावीचको तनाव पनि निरन्तर रहि नै रहयो । ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सहभागी भएता पनि प्रकाश १३ महाधिशवेनसम्म नेपाली कांग्रेसको प्रतिनिधि बन्दै आएका छन् ।
गिरिजा अवतार
नेपालको प्रजातान्त्रिक प्रकिया, भारत, राजदरबार र पश्चिमको चाख द्वन्द्वलाई नेपाली कांग्रेसले समायोजन र सन्तुलन गर्न नसकिरहेका बेला गिरिजाप्रसाद कोइरालाको एकछत्र नेतृत्वमा नेपाली कांग्रेस पुग्यो ।
Girija-Prasad-Koiralaगिरिजाप्रसाद कोइरालाको एकोहोरो कार्यशैली, विषयको गाम्भीर्यतामाथिको मसिनो समझ र आत्मकेन्दि्रत एवं परपीडक सोचबीच नेपालमा अप्रत्याशित घटनाहरु हुन पुगेको इतिहास निकट समयकै हो ।
यसैवीच पछिल्लोपटक तात्कालीन महाराज ज्ञानेन्द्रले राज्यसत्ता लिँदा फेरि कोइराला परिवारमा प्रकाश कोइराला पुरानै आफ्नो लाइन अनुसार राजा ज्ञानेन्द्रको नेतृत्वको मन्त्रीपरिषदमा सहभागी हुनु पुग्नुभयो ।
अलिकति आफ्नै कुरा
मेरो ०४७ सालपछि कोइराला परिवारका सदस्यमध्ये प्रकाश कोइरालासँग नै सघन सम्वन्ध भयो । तथापि सप्तकोशी पारिको कांग्रेसी राजनीतिमा निवासको इशाराविना पात पनि नहल्लिने अवस्थामा निवासको ठुलै सदस्यसँगको सम्वन्ध आफ्नै करिअर राजनीतिमा पटक-पटक खग्रास ग्रहण बनेर आउला भन्ने मलाई लागेको थिएन । तर, मैले यो नियति भोगें ।
प्रकाश कोइरालासँगको सामीप्यसँगै उहाँले लिनुभएको लाइनप्रति समय-समयमा मेरो गम्भीर असहमति रहेको पनि हो । तर, त्यसले सम्वन्धलाई त्यस्तो असर पारेन । वहाँका कतिपय बानी व्यहोराबारे अतिरञ्जनापूर्ण दुश्प्रचार पनि भए ।
प्रकाश कोइराला पछिल्लोपटक जब राजा ज्ञानेन्द्रको ‘कु’सरकारको मन्त्री बन्नुभयो त्यसपछि केही दिन उहाँसँग मेरो सघन सम्वाद भयो । गतिलै संवैधानिक हैसियतमा आफ्नो नियुक्तिको प्रस्तावमाथि हामीबीच धेरै नै विमर्श भयो । धेरै लामा टेलिफोन वार्ता भए । अन्ततः उहाँको प्रस्ताव मैले स्वीकार गर्न सकिँन । मेरो अन्तिम निर्णयपछि उहाँले आफ्नो लाइनका बारेमा भनेका दुईवटा तर्क भने अहिलेको नेपालको स्थितिले मेरा निमित्त झन मननीय बनाइरहेछ-
पहिलो- महत्वपूर्ण कुरा, राजाले सत्तालिनु नलिनु हैन, यो कदम असफल हुने वा बनाइने सम्भावना प्रशस्त छ । तर, पनि यो राष्ट्रियतासँग प्रत्यक्ष सम्वन्धित विषय भएकाले मैले यस्तो निर्णय लिएको हँु । यो राजाको कदमको अन्त्यपछि नेपाल निकै ठूलो दुर्गतिमा फस्छ ।
र, दोस्रो- अब नेपाललाई साम्प्रदायिक र धार्मिक द्वन्द्वमा फसाइनेछ । र, नेपाल अत्यन्त कमजोर हुनेछ ।
यीबाहेक पनि उहाँले धेरै कुराहरु गर्नुभयो । तर, ती सबैका बावजुद मैले राजा ज्ञानेन्द्रको कदमको औचित्य पुष्टि गर्दै समर्थन जनाउन र सहभागिताको सम्भावनातर्फ सोच्न चाहिँन । त्यो ‘मौका’ को उपयोग नगरेकोमा मेरा निकटस्थहरुबाट म अहिले पनि यथेष्ट आलोचित छु ।
त्यसपछि नेपालको राजनीतिक घटनाक्रम कता गयो, सबैलाई थाहा छ ।
आश्चर्यको एउटा अवस्था
दिल्लीको बाह्रबुँदे सम्झौतापछि भएको आन्दोलनमा मेरो पनि सक्रिय सहभागिता थियो नै । आफ्नो कार्यस्थान हेटौडामा रहेर जे गर्न सक्थें गरि नै रहेको थिएँ । त्यसपछिको राजनैतिक परिवर्तन सामुन्नेमा छन् ।
मलाई त्यसबखत सर्वाधिक आश्चर्य भयो, जब तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाह्रबुँदे सहमतिमा नभएका तीन कुराहरु आफ्नो खल्तीबाट निकाल्दै दिन थाल्नुभयोः संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ।
कुनै जमानामा चुनाव जितेका आफ्नै नेताले विघटन गरेका र त्यो विघटन संविधानसम्मतः छ भनी सर्वोच्च अदालतले ठहर्‍याएका भूतपूर्व सांसदहरु र जंगलबाट आमन्त्रण गरी ल्याएका व्यक्तिहरु सम्मिलित एउटा संज्ञाविहीन सभाको गठन भयो राजाकै हुकुम प्रमाङ्गीबाट । र, त्यही सभाले उप्रान्त आउने भनिएको संविधानसभालाई तिनै तीन कुरालाई पूर्वशर्त बनाई निर्णयसमेत गर्‍यो ।
म आश्चर्यमा परेको थिएँ यी निर्णयहरु काँग्रेस सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरिरहनुभएको छ कि कुनै कथित कम्युनिष्ट नेताद्वारा यी निर्णयहरु भइरहेका छन् ?
समय आएको थियो, मैले आफ्नो ब्रह्मको आवाज सुनें । हरेक कोणबाट विश्लेशण गरेर कांग्रेस अर्थात गिरिजाप्रसाद कोइरालाको विरुद्धमा उभिएँ । यी कृत्यहरु भइरहँदा किसुनजी, शैलजा आचार्य, तारानाथ रानाभाट जस्ता धेरै व्यक्तिहरु यसको विरुद्धमा उभिइसक्नुभएको थियो । तर, त्यसले राजनीतिक प्रवाहलाई थोरै पनि प्रभाव पार्न सकेन ।
नेपालमा भइरहेका राजनीतिक घटनाक्रमप्रति भारतको तत्कालीन विपक्षीमात्र नभएर कांग्रेस आइकै केही उपल्ला नेताहरुसमेत असहमत देखिन्थे । तथापि गिरीजाप्रसाद कोइराला रोकिएनन् ।
यी सबै घटना भइरहँदा मेरो अडान र सोचबारे मैले आफैंलाई बारम्बार विश्लेषण गरें । तर, मेरो स्थिति राजतन्त्रलाई छाड्ने हो भने प्रकाश कोइरालाले लिनुभएकै अडान वा भन्नुभएको लाइनमा देखियो । यो आकस्मिकताले म स्वयम आश्चर्यमा थिएँ । र, लामो समयपछि प्रकाश कोइरालासँग सम्पर्क गरेर आफ्नो मनको कुरा बताएँ । तरल उहाँको राजतन्त्रबारेको लाइनमा म आझसम्म पनि आएको छैन । त्यसबारेमा मेरा आफ्ना तर्क र धारणाहरु छन्, जुन यहाँ उल्लेख गर्न सम्भव छैन ।
शशांकको नयाँ अवतार
पहिलो संविधानसभा स्खलनपछि दोस्रो संविधानसभा र नेपालको संविधान ०७२ सम्म आइपुग्दा नेपाली कांग्रेसमा प्रकाश कोइरालाको लाइनमा धेरै नेता-कार्यकर्ताहरु आइपुगेका छन् । तर, प्रकाश कोइराला कांग्रेसमा आइपुग्नुभएको छैन । म स्वयमले पनि कांग्रेस छाडें तिनै मुद्दाहरुका कारणले । अहिले कांग्रेसमा ठूलै खेमा त्यो लाइनमा छ ।
Shasank Koiralaधर्म निरपेक्षतामा संविधान निर्माण प्रक्रियामा चुँसम्म नगरेका बरिष्ट नेता शेरबहादुर देउवाले समेत यस अभियानको कद्दावर नेता खुमबहादुर खडकाको गृहजिल्लामा पुगेर अझै हिन्दुराष्ट्र बनाउन सकिन्छ भन्नुभयो । डा. शेखर कोइराला पहिलेदेखि बोलिरहनुभएको थियो । तर, उहाँहरुले यो संविधानको विरुद्धमा आजसम्म खुलेर बोल्नु भएको छैन । र, कांग्रेसले यस अभियानको नेतृत्व गरेर संविधान परिवर्तन गरी छाडने प्रतिवद्धता कसैबाट आएको छैन ।
स्थिति हेर्दा लाग्छ, हिन्दु सांस्कृतिक राष्ट्रवादको लाइनबाट कमल थापाको पतन भएपछि कांग्रेसमा भइरहेको यो लाइन रामनामको मण्डी ओडेर पदको घिऊ खाने चाल हो कि, अन्तःस्करणको आवाज हो ? पर्गेल्न गार्‍हो भइरहेको छ ।
यसैवीच हिन्दु सांस्कृतिक राष्ट्रियताको लाइनमा बोल्नसमेत लगलगी कामेका आफ्नो खेमाका सभापतिका उमेदवार रामचन्द्र पौडेलको लाइनमा कहीँ ‘फिट’ नदेखिएको लाइन शशांक कोइरालाले अप्रत्याशितरुपमा लिएका छन् । विगतका राजनीतिक उपलब्धि भनिएका तीनैवटा विषयमाथि पुनरावलोकन हुनुपर्छ भनी डा. शशांक कोइरालाले ‘माष्टर स्ट्रोक’ हानेका छन् ।
दक्षिणबाट मोदीको निरन्तरको असन्तुष्टिवीच शशांकको नयाँ अवतार कति सोचविचार र योजनावद्ध किसिमले आएको हो ? प्रतिक्षाको विषय बनेको छ । तर, अचम्मको विषय के छ भने एउटै लाइनको वकालत गर्ने शेरबहादुर र शशांक अलग-अलग खेमाबाट चुनाव लड्दैछन् ।
हुनत कांग्रेसमा तेस्रो खेमा पनि देखिएको छ । तर, त्यसको औकात ‘चिढीको दुक्की’ भन्दा माथिको नदेखिएकाले यसको चर्चा गरिएन ।
शशांकको यो अवतार जेठा दाजु प्रकाश कोइरालाको लाइनकै शत प्रतिशतको अभिव्यक्ति चाहिँ पक्कै हो । अब प्रतिक्षाको विषय, शशांकको यो अवतार महामन्त्रीको निर्वाचन जित्न ओढिएको मण्डीमात्रै हो कि नेपालको राजनीतिक कोर्ष नै परवर्तनका लागि नेतृत्व लिन कसिएको कम्मर हो ?
नेपाली कांग्रेसको १३ महाधिवेशनमा शुभकामना मन्तव्य दिन आएका अतिथिहरुमध्ये भारतीय कम्युनिष्ट पार्टीका जोगेन्द्र शर्माले मोदीको मुख्य एजेन्डा हिन्दु राष्ट्र नै भएको पुष्टि गरे । भाजपाका पूर्वउपाध्यक्ष भगतसिंह कोसियारीले आफ्नो दल नेपालको संघीयतामा हिमाल, पहाड, तराई सम्मिलित विभाजनको पक्षमा रहेको कुरा व्यक्त गरेर तराई आन्दोलनको भौगोलिक विभाजनसम्वन्धी मागमा भाजपा असहमत रहेको सन्देश दिए ।
भारतवाटै यस्तो सोच आइरहँदा अब कांग्रेसभित्र भाजपा र संघ परिवारको भावनासँग तादम्य राख्ने नेतृत्वका लागि शेरबहादुर देउवा र शशांक कोइरालावीच प्रतिस्पर्धा पनि देखिएको छ । अब भविश्यमा देख्न पाइएला, यिनीहरुले संविधान निर्माण प्रक्रियामाझैं मोदीलाई छक्याउने छन् वा यही लाइनमा अडिग रहनेछन् ?
जे होस् यो लेखक डा. शशांकको नयाँ शुरुवातले निरन्तरता पाओस् भन्ने पक्षमा छ ।
- See more at: http://www.onlinekhabar.com/2016/03/396435/#sthash.uo8L1TiA.dpuf

No comments:

Post a Comment