Thursday, September 15, 2016

बहसः माथिल्लो कर्णालीको विरोध गर्नु ‘पपुलिष्ट राष्ट्रघात’

बहसः माथिल्लो कर्णालीको विरोध गर्नु ‘पपुलिष्ट राष्ट्रघात’

नेपाललाई फाइदा हुने योभन्दा राम्रो सम्झौता गरेर देखाउन्

अरुणकुमार सुवेदी
1.1K
SHARES
प्रकृतिको सृष्टिको पहिलो गुण हो हरेक प्राणीले आफ्नो भलो हेर्छ । तर मानिसले चाँहि अर्को मानिस मात्र हैन, समाज,  सभ्यता र यस अन्तर्गत निर्माण भएका संस्थाहरुका साथै अरु प्राणी, वनस्पति चराचर जगत सबैको भलो सोच्दछ ।
यो गुण जब मानिसमा आउँछ, ऊ दैवी वृत्तिले युक्त कहलाउँछ । जब मानिस आफ्नो फाइदाका लागि अरु मानिस र जगतको जस्तोसुकै हानी पनि पुरयाउन तयार हुन्छ, त्यसलाई पूर्वीय शास्त्रले आसुरी वृत्ति भनेको छ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
तर, आफूलाई पनि कुनै लाभ नहुने सभ्यता अर्थात राष्ट, समाज, छिमेकी सबैलाई हानी नै हानी हुने काम जब मानिस (हरु) ले गर्दछन्, त्यसलाई के भन्ने ? शास्त्र खासै बोलेको छैन ।  जब त्यस्ता वृत्तिप्रति ठूलो जमात लाग्न थाल्दछ, त्यसलाई आम पागलपन (मास म्यानिया) भन्नुबाहेक केही विकल्प रहन्न ।
नेपालको विकास क्रमको इतिहास लगभग यही आम पागलपनको शिकार भएको फेहरिस्त हो र त्यो पागलपनको आधार हुँदै आएको छ, जसलाई कथित राष्ट्रवाद भन्न सकिन्छ । यस क्रमको पछिल्लो शिकार भएको छ उपल्लो कर्णाली परियोजना ।
अहिले कर्णाली परियोजनाको विरोधमा कर्णाली वचाउ अभियान सामाजिक सञ्जालहरुमा झण्डै भाइरल नै भएको अवस्था छ । कहीँ कतै समाचार पनि आइसकेका छन् कि प्रधानमन्त्रीलाई ज्ञाापन समेत दिइएको छ ।
केही समय अगाडि कुनै कम्युनिष्ट पार्टीले उक्त परियोजना निर्माण गर्ने कम्पनीले बनाएका पूर्वाधारहरु जलाएर आफूलाई राष्ट्रवादी घोषणा गरेको थियो । अहिले पनि विकास निर्माणतर्फ एकल सोच नभएका केही राजनीतिक शक्तिहरु त्यस्तै उपद्रो गर्न तम्सिई बसेकै छन् ।
नेपाल यस्तो राष्ट्र हो जहाँ राष्ट्रवादी बन्न राष्ट्रको शुभचिन्तन लिनै पर्दैन, छिमेकीप्रति घृणा ओक्लने र यस्ता आयोजनालाई दुःख दिने तथा दुश्प्रचार गर्ने काम गरे पुग्छ । यसै क्रममा उपल्लो कर्णालीलाई लिएर अहिले राष्ट्रवादको बजारमा विज्ञापित केही प्रश्नहरु उपर विश्लेषणत्मक टिप्पणी गर्ने उद्देश्य रहेको छ यस लेखको ।
पहिलो प्रश्नः उपल्लो कर्णालीमा राष्ट्रलाई कति फाइदा वा घाटा छ ?
नेपाल सरकार र भारतीय कम्पनी जीएमआरको लगानी रहने उक्त परियोजनाका लागि भएको प्रोजेक्ट डेभलप्मेन्ट एग्रीमेन्ट (पीडीए)का सर्त हरुलाई आधारमान्दा नेपाल सरकारलाई उक्त कम्पनीले आफ्नो उत्पादनको १२ प्रतिशत विद्युत निशुल्क उपलब्ध गराउनुपर्ने छ भने उक्त परियोजनाको मिल्कियत राख्ने कम्पनीमा विना लगानी सरकारको २७ प्रतिशत इक्विटी शेयर कायम हुनेछ ।
२७ प्रतिशत शेयर रहने साझेदार अर्थात सरकारको जमानत -सोभेरियन ग्यारेन्टीविनानै जीयमआरले उक्त परियोजनालाई कर्जा व्यवस्थापन गर्नुपर्ने छ । अरु परियोजनाहरुमै यो पनि बुट अवधि सकिनासाथ स्वतः सरकारको हुनेछ ।
पीडीएमा भएको अर्काे महत्वपूर्ण पक्ष हो, यसबाट उत्पादित विद्युत नेपालले पाउने हिस्साबाहेक सबै उसैले बजार व्यवस्थापन गरी भारतीय बजारमा बेच्नुपर्ने छ । यसको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणले गर्नुपर्ने कुनै वाध्यता छ्रैन । यो पनि अति नै महत्वपूर्ण पक्ष हो ।
यी तीन महत्वपूर्ण पक्षहरुमध्ये अरुण-३ मा इक्वीटी शेयर मुफतमा पाउने बुँदा छैन भने मुफतमा विद्युत लगभग २२ प्रतिसत मिल्छ । तर, पश्चिम सेतीको प्रारम्भिक सम्मौता  (चीनको थ्री ग्रजेजको उपक्रमसँग भएको ) मा यी कुनै सुविधा उल्लेख छैनन् । त्यसको सम्पूर्ण उत्पादन विद्युत प्राधिकरण अनिवार्य किन्नै पर्ने र लगानी गरे जति मात्र शेयर प्राप्त गर्न सक्ने प्रावधान छ ।
listसर्तहरुको विश्लेषण
माथिका तथ्यांकहरुको विश्लेषण गर्दा गणितीय फाइदा बेफाइदा स्पष्टै हुन्छ । सर्तहरुको सवालमा उक्त परियोजना सिधै भारतमा दर्ता भएको कम्पनीको मालिकत्वमा रहन्छ भन्ने भ्रम भएको पाइन्छ ।
वस्तुतः भारतको जीएमआरले वैदेशिक लगानीअन्तर्गत ल्याएको रकम नेपालकै कानूनबमोजिम दर्ता भएको कम्पनीमा लगानी गर्ने हो, जसमा २७ प्रतिशत सेयर चुक्तापुँजी बढ्दै गएअनुसार नेपाल सरकारको हुनेछ । अर्थात उक्त परियोजनाको स्वामित्व धारण गर्ने कम्पनी नेपाली नै हुनेछ । कुनै पनि कम्पनीले कर्जा लिँदा उक्त कम्पनीका ठूला शेयरधनीहरुको व्यक्तिगत वा समूहगत वा संस्थागत जमानत हुनैपर्छ ।
अझ बुझ्ने भाषामा भन्दा कम्पनीका मालिकहरुले तमसुकमा सही नगरी कुनै पनि कर्जा प्रदायक संस्थाले कर्जा दिँदैन । तर, नेपाल सरकारको नै २७ प्रतिशत सेयर रहँदा पनि नेपाल सरकारले कुनै प्रकारको जमानतमा सही गर्नुपर्ने छैन । यो ठूलो र महत्वपूर्ण सर्त हो । यस्ता सर्तलाई पनि राष्ट्रको पक्षमा नदेख्नु चरम दृष्टिदोष हो ।
नेपाल र भारतवीच सन् २०१४ मा निकै फितलो उर्जा व्यापार सम्झौता पीटीए भएको छ । जसको शर्त ८ मा तीन महिनाको अग्रिम सूचनाद्वारा एकपक्षीयरुपमा उक्त सम्झौता कुनै पनि पार्टीले खारेज गर्न सक्ने छ भनी लेखिएको छ । नेपाल भारतको यस्तो उतार-चढावयुक्त सम्वन्धवीच यस्तो फितलो सम्झौतालाई नै आधार बनाएर भारतमै उर्जा बेच्छु भनी कुनै पनि व्यापारिक कम्पनीले लगानी गर्न अग्रसर हुनु कम जोखिमको विषय होइन ।
पंक्तिकार चुनौति दिन चाहन्छ, उपल्लो कर्णाली र अरुण-३ मा राष्ट्रघात देख्नेहरुले खाल्सा बसेका तामाकोसी ३, नलसिङगाड या त्यस्तै अरु कुनै परियोजनामा त्योभन्दा बढी लाभ हुने गरी पीडीए गरेर देखाउन्
भोलि भारतको कुनै प्रसारण कम्पनीसँग विद्युत खरिद सम्झौता गरी परियोजना पूरा भएपश्चात पीटीएलाई नेपाल वा भारतले एक पक्षीयरुपमा खारेज गर्‍यो भने त्यसबखत त्यो कम्पनीको हालत के होला ? बिप्पाअन्र्तगत क्षतिपूर्ति पाउँ भनी द्वार द्वार भड्कनुपर्‍यो वा टाट पल्टनु पर्‍यो । पीटीएको त्यही फितलो शर्तका कारण धेरै विदेशी लगानीकर्ताहरु उर्जा क्षेत्रमा लगानी नगरी फिरेको अनुभव छ लेखक स्वयंको ।
नेपालमा अहिले बनिरहेका आयोजनाको स्थिति हेर्दा प्रसारण लाइनको समस्या सुल्dmाउन साथ विद्युत प्राधिकरणले भारतको बजारमा  बिजुली नबेची धरै छैन । यो कुरा चिनियाँहरु जस्ता तेज बनियालाई थाहा नहुने कुरै भएन । पीटीएको त्यही फितलो शर्त र नेपाल-भारत सम्वन्धको इतिहासलाई विश्लेषण गरेर नै पश्चिम सेती परियोजनामा चिनियाँहरु उदासीन भएका हुन सक्छन् ।
यस्तो प्रतिकुल अवस्थामा पनि नेपाललाई उच्च लाभ दिने गरी पीडीए गरेर आँटका साथ काम सुरु गरिसकेको कम्पनी विरुद्ध आम घृणा उत्पन्न गराउन खोज्नु निश्चय पनि सकारात्मक कुरा होइन नेपालको विकासका लागि । यी सबै विश्लेषणका आधारमा भन्नैपर्ने हुन्छ, अहिले उपल्लो कर्णालीविरुद्ध भइरहेको क्रियाकलाप राष्ट्रवादका नाममा भएको पपुलिष्ट राष्ट्रघात हो ।
यस्तै पपुलिष्ट राष्ट्रघाती लहडमा अधिक बहकिने सामाजिक मनोविज्ञान र समाजलाई बहक्याएर गरिबीको खेती गरी आफ्नो राजनीतिक आधार निर्माण गर्ने गरिबका कथित मसिहा राजनीतिक दलहरुका कारणले नै नेपाल यो दुर्गतिमा पुगेको हो ।
पंक्तिकार चुनौति दिन चाहन्छ, उपल्लो कर्णाली र अरुण-३ मा राष्ट्रघात देख्नेहरुले खाल्सा बसेका तामाकोसी ३, नलसिङगाड या त्यस्तै अरु कुनै परियोजनामा त्योभन्दा बढी लाभ हुने गरी पीडीए गरेर देखाउन् । अन्यथा राष्ट्रलाई यस्तो लाभ दिने खालका परियोजना माथि जाइलाग्नेहरुलाई राष्ट्रद्रोह र विकास द्रोहको अभियोगमा अविलम्ब कारवाही होस् भन्ने मान्यता लेखकको रही आएको छ ।
(सुवेदी जलस्रोत विज्ञ हुन् । माथिल्लो कर्णालीबारे यो उनको व्यक्तिगत विचार हो । अर्को अंकमा ९०० वनाम ४१८० मेगावाटको विकल्प र विवादबारे चर्चा गरिनेछ  )
२०७३ असार १२ गते १०:५३ मा प्रकाशित (२०७३ असार १४ गते २१:२५मा अद्यावधिक गरिएको)

माथिल्लो कर्णालीः पश्चिमाले भाँड्दैछन् कि भारतले आफैं ?


माथिल्लो कर्णालीः पश्चिमाले भाँड्दैछन् कि भारतले आफैं ?

'यो परियोजना सगरमाथा र बुद्धपछिको नेपालको पहिचान बन्न सक्छ'

अरुणकुमार सुवेदी
Uper-Karnali-Hydro
कर्णाली बचाउ अभियानको अर्को पपुलिष्ट प्रचार देखापरेको छ, अहिलेको उपल्लो कर्णालीको बाँधस्थलमा नै बाँध बनाएर ४१८० मेगावाट विद्युत निकाल्न सकिन्छ भन्ने । विश्वका, विशेषतः पश्चिमका केही अध्ययनकर्ताको अध्यनसमेतमा विश्वको उत्कृष्ट परियोजन भनी सञ्जालहरुमा प्रचारित तथ्यमाथि पनि निश्पक्ष विश्लेषण जरुरी देखिएको छ ।
यो परियोजनाको बाँधस्थल दैलेखको ल्याटीविन्द्रासेनी र अछामको भैरवस्थान वीचमा पर्नेछ । टोपोग्राफी नक्शाका आधारमा उक्त स्थलको उचाइ ६१० मिटरको हाराहारीमा पर्ने देखिन्छ । उक्त स्थानमा ४१० मिटर अग्लो बाँध बनाई कर्णाली चिसापानीभन्दा माथिको कर्णालीको जलाधार ४३ हजार वर्ग किमी मध्ये २१ हजार वर्ग किमीको जलाधारमा पानी जम्मा गरी जलाशययुक्त आयोजना बनाउन सकिने भनिएको छ ।
यसलाई आधार मान्दा समुन्द्र सतहभन्दा १०२० मिटरको उचाइसम्म कर्णालीको तटीय भूभाग डुब्ने छ । अर्थात ल्याटी विन्द्रासेनीभन्दा माथिको तल्लो ढुंगेस्वर साहीगाउँदेखि लिएर तिला-कर्णाली दोभान सेरीघाटसम्म डुब्ने देखिन्छ ।
यस परियोजनाबाट निस्कने बिजुली सस्तो परे पनि यस परियोजनालाई बहुउद्देश्यीय बनाउनचाहिँ सकिँदैन । तर, यो परियोजना जसरी प्रचारित भइरहेछ, त्यो चाहिँ अत्यन्त खतरनाक डिजाइन अन्तर्गत निर्माण भएको षडयन्त्रात्मक कदम हो ।
यसमा केवल ९०० मेगावाटको उपल्लो कर्णाली परियोजनामा भारतीय लगानीकर्ता कम्पनी जीएमआरलाई विरोध गरेको जस्तो सतहमा देखिएको छ । तर, यो कर्णाली चिसापानी परियोजना नै भाँड्ने षड्यन्त्र अन्तर्गत आएको छ । यो पक्षचाहिँ अत्यन्त राष्ट्रघाती कुरा हो ।
नेपालमा सगरमाथा अनि बुद्धपछिको नेपालको पहिचान बन्न सक्ने परियोजना हो उपल्लो कर्णाली
किनभने, नेपाल लामो समयदेखि पश्चिम र भारतको चाखको द्वन्द्वमा फसेको छ र नेपालमा सगरमाथा अनि बुद्धपछिको नेपालको पहिचान बन्न सक्ने परियोजना हो उपल्लो कर्णाली ।
लगभग चार दशकभन्दा बढी समयदेखि अध्ययन भई एउटा राम्रो परियोजनाका रुपमा देखिएको १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी परियोजना भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र विश्व बैंकको द्वन्द्ववीच नेपालको तत्कालीन नेतृत्व अर्थात राजा महेन्द्रको कल्पना क्षमताभन्दा बाहिर रहनाले बन्नबाट बञ्चित परियोजना हो ।
यदि तत्कालीन समयमा नै नेपालले सफल विकास कुटनीति र सोही अनुरुपको स्वप्न क्षमता प्रदर्शन गर्न सकेको भए आज पाराग्वेको इटाइपुपछि संसारमै १०,००० मेगावाट भन्दा ठूलो दोस्रो परियोजना निर्माण भएको राष्ट्रका रुपमा हाम्रो गौरव स्थापित हुने थियो । तर, त्यसो हुन सकेन ।
समयक्रममा भारतको पनि यो परियोजनामाथि बाध्यात्मक चाख उब्जनु स्वभाविक थियो । सुरुमा बाढी नियन्त्रण र सामान्य सिँचाइ तथा विद्युत उत्पादनको मात्र उद्देश्यमा यो परियोजनाको अवधारणा बनाइए पनि पछि भारतको नदी जोड परियोजनामा स्पष्ट खाका बन्यो । र, सोही परियोजनाअन्तर्गत शारदाको पानी यमुनामा लगेर त्यसलाई राजस्थान हुल्ने अनि तटवर्ती सहरहरुमा पनि उपयोग गर्ने गरी जल ग्रीड बनाउने योजना भारतले अगाडि सार्‍यो । यो अवधारणा अनुसार यमुनाको प्रवाह सन्तुलनमा राख्न घागरा-यमुना लिंक नहर पनि यहीँबाट निर्माण गर्ने सोच थपिन पुग्यो ।
समय बित्दै जाँदा आज यो परियोजना गंगाको निर्मल धारा र अविरल धाराको कार्यक्रमसँग पनि जोडिन पुग्यो । यस प्रकार आजसम्म आइपुग्दा कर्णाली चिसापानी परियोजना वृहत बहुउद्देश्यीय लाभका रुपमा देखापरेकोे छ, नेपाल र भारत दुबै देशका लागि ।
Arun-Kumar-Subedi
अरुणकुमार सुवेदी
यसै क्रममा संसारका महत्वपूर्ण नदीहरुको बेसिन रणनीतिक योजनाको अध्ययन गर्ने क्रममा विश्व बैंकले गंगा उपत्यका (बेसिन) रणनीतिक योजनाअन्तर्गत अध्ययन गरी गंगा उपत्यकाको उच्चतम विकासका लागि सिफारिस गरिएका नेपालमा बनाउनुपर्ने २३ वटा जलासयमध्ये कर्णालीलाई सबैभन्दा ठूलो जलासय ठम्याएको छ । त्यसैगरी नेपाल र भारत दुबैको हितका आधारमा कोशी उच्च बाँधपछि यसलाई दोस्रो महत्वको परियोजना ठानिएको छ ।
चिसापानी २७२ मिटर अग्लो बाँध बनाई १६.२ अर्ब घनमिटर सक्रिय जलसञ्चयन गर्नुपर्ने परियोजना हो । यो विद्युतको जडित क्षमताका आधारमा आजसम्म अध्ययन भएका योजनाहरुमध्ये नवौं हैसियतको परियोजना हो । यद्यपि जल सञ्चयनको आयतनमा भने यो विश्वका ठूला परियोजनामा पर्दैन ।
यसबाट बन्ने सरोवर चिसापानीदेखि कर्णाली-भेरी दोभान घाटगाउँ, बाँधिगाउँ हुँदै भेरीतर्फ सुर्खेतको हरिहरपुर बेंसीसम्म र कर्णालीतर्फ डोटीको केदार अखडाको बेंसीसम्म डुवान भइ झन्डै अंग्रेजी अक्षर ‘वाई’ (Y) आकारको सरोवर बन्छ । महेन्द्र राजमार्ग र समथर भुभागको नजिक भएकाले यो सरोवरमा पर्यटन पनि यथेष्ट हुने प्रष्टै छ ।
कुल ४१८० मगावाटको सस्तो परियोजनासँगै १०८०० मेगावाटको कर्णाली चिसापानीको लाभको चर्चा गर्नुको खास अर्थ छ । यदि उपल्लो कर्णालीमा नै ४१० मिटरको बाँध बनाई जलासय बनाएको खण्डमा यसले चिसापानीको आधा जलाधारबाट सञ्चित हुन आउने पानीलाई माथि नै सञ्चय गरेर राखिदिन्छ । अर्थात आधा मात्र जलाधारबाट भेला भएको पानीले १६.२ अर्ब घनमिटरको वाञ्छित आयतन पूरा हुन सक्दैन ।
कर्णाली चिसापानी परियोजना भाँडेर हामीलाई पनि कुनै पनि थप लाभ छैन, बरु घाटा नै छ
कुरा स्पष्ट छ, माथि ४१८० मे.वा. निर्माण गर्नुको अर्थ १०८०० मेगावाटको कर्णाली चिसापानी तुहाउनु र नेपालको पहिचानात्मक आयोजनाको हत्या गर्नु ।
अन्तराष्ट्रिय खेल
नेपालले जहाँ बाँध बनाए पनि धेरै-थोरै भारतको बाढी नियन्त्रण, सुक्खायामको प्रवाह सन्तुलन, गंगाको निर्मल धारा र अविरल धाराको चाख त सम्वोधन यसै हुनेछ । उपल्लो कर्णाली बाँध (४१८०), भेरी बबई डाइभर्सन र पश्चिम सेती जलासय बनाउनासाथ भारतको घाघराको बाढी स्वतः नियन्त्रण हुन जान्छ, सुख्खायामको प्रवाह पनि सन्तुलित भइ नै हाल्छ । यसबाट भारतलाई केहीमा फरक पर्छ भने त्यो हो, सिंचाइ र केही स्थानमा उपभोग्य पानीको आपूर्ति ।
यो अवस्था हामी नेपालीलाई पनि समान रुपमा लागु हुन्छ । अर्थात कर्णाली चिसापानी परियोजना भाँडेर हामीलाई पनि कुनै पनि थप लाभ छैन, बरु घाटा नै छ ।
अर्कातर्फ भारतको सहमति र सहकार्यमा काम गर्दा उसैको लगानी परिचालित हुने पक्का छ । तर, उसको योजना इत्तर गएर काम गर्दा उसलाई त्यो बन्धन लाग्ने छैन । अतिरिक्त विद्युत किनिदिने सम्झौता गरिदिए पुग्छ । उसका चाख पनि धेरै हदसम्म सम्बोधन हुने नै छन् ।
अर्थ प्रष्ट छ, भारतको हित आफ्नो लगानी बिना नै हुनेछ । यसका लागि भारतले खास टाउको दुखाउनुपर्ने छैन । तर, कुरा यति सरल छैन । यी विकल्पहरु र राष्ट्रवादका नाममा नेपालले केही परियोजना आफैं बनाउँछ भनी उफ्रनुका पछाडिको ठूलो  कारण हो, नेपालको पानीलाई हतियार बनाएर पश्चिमले भारतसँग मोलमोलाई गर्ने उद्देश्य । र, भारतमाथि दबाव सिर्जना गरेर चीनलाई घेर्ने आफ्नो योजनाको सहकर्मी बनाउने आशय ।
संसारमा नै सबैभन्दा बढी जलासययुक्त योजनाहरुमा गइरहेको राष्ट्र हो भारत । उसको पिक डिमान्डको आपूर्ति गर्ने, बाढी नियन्त्रणदेखि सुख्खायामको प्रवाह सन्तुलन समेतलाई लक्षित गरी भारतले अरुणाञ्चल प्रदेशमा ५० हजार मेगावाटको जलाशययुक्त आयोजना बनाउन अग्रसर भइसकेको छ ।
भुटानमा १०,००० मेगावाटको भारतको मिसन निकै सफल भइसकेको छ । उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा पनि बनाइ नै रहेको छ । नेपालसँगको असहज जल सम्वन्ध सहज भएमा नेपालबाट पनि २५,००० मेगावाटको हाराहारीमा उसको उद्देश्य रहेको छ ।
Karnali
जलासयप्रतिको भारतको उच्च प्राथमिकतालाई बुझेका पश्चिमाहरु भारतमाथि निरन्तर दबाव बनाइरहेछन् । यसै क्रममा केही समय पहिले अमेरिकाले जलासययुक्त परियोजनाहरुलाई वित्तीय सहयोग नदिन विश्व बैंकलाई भनेको छ । जलाशययुक्त परियोजनामै आफ्नो समृद्धिको प्रचुर सम्भावना रहेका हामीजस्ता राष्ट्रहरु माथि त यो ज्यादती हो नै, साथै भारतमाथिको ठूलो दबाव पनि हो ।
पश्चिमाहरुले भिन्न-भिन्नतर्फबाट दबाव दिने यही रणनीति अन्तर्गत केही गैरसरकारी र अन्तरराष्ट्रिय गैरसरकारी समेतको प्रत्यक्ष/परोक्ष संरक्षणमा कर्णाली बचाऊ अभियान पनि चलेको स्पष्ट हुन्छ ।
उपल्लो कर्णालीका बारेमा अर्को पनि हल्ला सामाजिक सञ्जालमा मात्र हैन, नेपाली मानसपटलमा समेत भाइरल भएको छ ।
कर्णाली चिसापानी (१०,८०० मे.वा.) को जलाशयमा उपल्लो कर्णालीको विद्युतगृह (पावर हाउस) डुब्छ भन्ने तथ्यहरुका आधारमा हेर्दा यो सरासर गलत कुरा हो । कर्णाली चिसापानीको पानीको उच्चतम सतह ४१५ मिटर उचाइसम्मको हुने देखिन्छ भने उपल्लो कर्णालीको टेलरेसको पानीको सतह ४८० मी को उचाइमा देखिन्छ ।
गणितीय तथ्यांक मात्रै हेर्ने हो भने दुबैतर्फ ५/५ मिटर छाड्दा पनि अझै ५५ मिटरको फरक उपलब्ध हुन्छ । उपल्लो कर्णालीको प्रवाह आयतनलाई आधार मान्ने हो भने यसवीचमा अर्को २००-२५० मेगावाटको परियोजना बन्न सक्छ । यद्यपि यसका लागि भौगोलिक उपयुक्तता महत्वपूर्ण पक्ष हो ।
अर्को दिव्य सम्भावनाको भ्रूण हत्या
धार्मिक एवं सांस्कृतिक रुपमा कर्णाली नदीको महत्व छैन । यसले पवित्र स्नानका लागि योग्य हुन पनि सेती द्वीवेणीसम्मको दुरी तय गर्नुपर्छ । तर, नेपालको समग्र विकासमा यो नदी अति नै महत्वको छ ।
आफ्नो हिन्दु सांस्कृतिक पहिचानात्मक अस्तित्वको हत्या गरे पनि र आफ्नो सह-सांस्कृतिक छिमेकी भारतलाई सत्तोसराप गरे पनि नेपालका लागि सबैभन्दा ठूलो वरदान नै हिन्दु संस्कृति र भारतको हिन्दु जनसंख्या हो । हिन्दुहरुको पवित्रस्थल कैलाश मानसरोवर जाने सबैभन्दा छोटो र सुरक्षित मार्ग नै कर्णालीको तिरैतिर बन्ने मार्ग हुन सक्छ ।
यदि उपल्लो कर्णालीलाई ४१० मिटरको अग्लो बाँध  बनाएमा यो दिव्य सम्भावनाको भ्रुण हत्या हुनेछ । तर, कर्णाली चिसापानीले यसमा कुनै व्यवधान गर्दैन, उल्टो तीर्थयात्रीहरुलाई थप एक मनोरञ्जनस्थल प्राप्त हुनेछ ।
पश्चिमाहरुले भिन्न-भिन्नतर्फबाट दबाव दिने यही रणनीति अन्तर्गत केही गैरसरकारी र अन्तरराष्ट्रिय गैरसरकारी समेतको प्रत्यक्ष/परोक्ष संरक्षणमा कर्णाली बचाऊ अभियान पनि चलेको स्पष्ट हुन्छ
(यो मार्गका बारेमा अरु विस्तृत वर्णन लेखकको प्रकाशोन्मुख कृति स्वप्न डायरीमा पढ्न सक्नुहुनेछ )
आफैं फिर्न सक्छन् जीएमआर र सतलज
नेपालको जग्गा प्राप्ति र वनसम्वन्धी प्रचलित कानूनहरु कस्ता छन् ? र, कर्पोरेट क्षेत्रलाई पनि भारतसँगको नेपालको सरकारी विवादको सामाजिकीकरणको मार र भार जुन किसिमले परिरहेछ, त्यो स्थिति हेर्दा ती कम्पनीको बलबुँतामा समस्याको समाधान सायदै हुने देखिन्छ ।
वर्तमान सरकार पनि त्यसप्रति उत्तरदायी भूमिकामा रहन्छ भन्नेमा शंकै छ । यसकारण अन्ततः यी कम्पनीहरुले परियोजना निर्माण गर्न नसक्ने वातावरण आउनेछ र यिनीहरुले विप्पाअन्तर्गत क्षतिपूर्ति माग गर्ने वाध्यात्मक अवस्था नआउला भन्न सकिन्न । त्यसपछि भारत विरोधको अर्को अध्याय सुरु हुनेवाला छ ।
स्थितिलाई त्यतै जाओस् भनेर सरकारी र गैरसरकारी स्तरबाट समेत वातावरण बनाइरहेको विश्लेषण छ लेखकको ।
भारतको असक्षमता
कोशी उच्चबाँध र कर्णाली चीसापानी, महाकाली पञ्चेश्वरजस्ता परियोजनाहरु कुनै कर्पोरेट क्षेत्रबाट हुने कुरै भएन । यसमा भारत र नेपाल सरकार लाग्नैपर्ने हुन्छ ।
यस्ता परियोजनाहरु जहाँ पनि सरकार(हरु) को प्रत्यक्ष संलग्नतामा नै बन्ने हुन् । तर, यस्ता ठू-ठूला लगानी त्यो पनि आफ्नो भूगोल बाहिर गएर भारत सरकारको कतै क्षमताभन्दा परको कुरा त हैन ? यस्तो शंका गर्ने ठाउँहरु पनि प्रशस्त छन् । नत्र यस्ता ठू-ठूला परियोजना, जसले भारतकोसमेत अन्तराष्ट्रिय शाख बढाउँछ, पहिचान बनाउँछ र हरेक प्रकारबाट फाइदै फाइदा हुन्छ ।
यस्ता आयोजनाका बारेमा जनता र राजनीतिलाई आश्वस्त पार्ने काममा भारत उदासीन देखिन्छ भने नेपाल, नेपाली र भारतको वित्तीय सक्षमतामाथि प्रश्न गर्नेहरुलाई आश्वास्त पार्नेतर्फ पनि भारत चुपचाप  देखिन्छ ।
यसर्थ यस्ता परियोजनामा लगानी गर्ने भारतीय क्षमतामाथि शंका उत्पन्न हुनु स्वाभाविक छ । र, शंका गर्नेको पंक्तिमा लेखक स्वयम् पनि पर्दछ ।
भारतको केन्द्रीय नेतृत्व परिवर्तन भएपछि मेट्रो रेलदेखि लिएर आधुनिक शहरीकरण र हाइ स्पीड रेलमा समेत भारतको व्यापक लगानी भैरहेको अवस्था छ । आफ्नो उर्जाका आधार पनि तापीयबाट नाभिकीयतर्फ लान भारत जोडतोडले लागेको छ ।
यस्तो अवस्थामा कोशी उच्च बाँधसहितका जलसंयोजकहरु, कर्णाली चिसापानीतर्फ बजेट बन्दोवस्त गर्न भारतका लागि खास प्राथमिकताको क्षेत्र पनि नपरेको र क्षमताभित्र पनि छैन भन्नेमा विश्वास गर्ने आधार बन्दै गएका छन् ।
उग्रराष्ट्रवादको ‘सेकेण्ड थट’
कर्णाली बचाऊ अभियानको जरो या त भारतको विरुद्धमा पश्चिमको योजना अनुसार छ, या त भारतकै स्पोन्सरमा उसले आफ्नो दायित्व मुक्ति र स्वार्थपूर्तिका लागि भइरहेको छ
यसैको दोस्रो सोच (सेकेन्ड थट) का रुपमा नेपालभित्र उग्र राष्ट्रवादको भावनाको खेती गरेर नेता र जनतालाई प्रोभोक गरेर गंगा उपत्यका रणनीतिक योजना अन्तर्गतका नेपालमा बन्ने बाँधहरु नेपाललाई नै बनाउन लगाइरहेको त छैन ? यसमा पनि शंका गर्ने ठाउँ छ ।
यसको उदाहरणमा बुढीगण्डकीलाई लिन सकिन्छ । यही सूत्र अनुसार नै कर्णाली चिसापानीको बिराट लगानीबाट उम्किने आफ्नो बाढी नियन्त्रण, सुख्खायामको प्रवाह सन्तुलन, निर्मल र अविरल गंगा बहावको उद्देश्य पूर्ति हुने पीक डिमाण्डमा विद्युत पनि मिल्ने र आफ्नो लगानीविना नै नेपालमा बाँध पनि बन्ने उद्देश्यबाट नै यो भारतको विरोध पनि उतैबाट स्पोन्सर भएको त छैन भनी शंका गर्ने यथेष्ठ ठाउँ छ ।
इतिहास पर्गेल्दा पनि भारत विरोधी भनी कहलिएकाहरुका कर्मले नेपाललाई अधीक घाटा र भारतलाई नै फाइदा भएको स्थिति प्रमाणित गर्छ ।
माथिका आधारहरुमा भन्नैपर्छ, कर्णाली बचाऊ अभियानको जरो या त भारतको विरुद्धमा पश्चिमको योजना अनुसार छ, या त भारतकै स्पोन्सरमा उसले आफ्नो दायित्व मुक्ति र स्वार्थपूर्तिका लागि भइरहेको छ । जे भए पनि यसको जरो नेपाली राष्ट्रहितको उद्देश्यमा कहीँकतै जोडिँदैन ।
उपसंहार
माथिका तथ्यहरुका आधारमा भन्नैपर्ने हुन्छ, उपल्लो कर्णाली परियोजना लाभयुक्त मात्र हैन, नेपालको पहिचानात्मक परियोजना हो ।
यसले कर्णाली चिसापानीलाई पनि नभाँड्ने देखिन्छ । यस्ता परियोजनाहरुको विरोध राष्ट्रघातबाहेक अरु केही हुन सक्तैन । कुनै पनि बाहाना र शर्तमा कोशी उच्चबाँध र कर्णाली चिसापानीको विरोध वा त्यसलाई भाँड्ने अप्रत्यक्ष षडयन्त्र राष्ट्रविरोधी अपराध हुन् भन्नेमा यो लेखक स्पष्ट छ ।

राष्ट्रवादको अपव्याख्याः भीमसेन थापादेखि केपी ओलीसम्म !

राष्ट्रवादको अपव्याख्याः भीमसेन थापादेखि केपी ओलीसम्म !

'राजीनामा नै केपी ओलीको सच्चा राष्ट्रवाद हो'

अरुणकुमार सुवेदी
अहिले निवर्तमान प्रधानमन्त्री केपी ओलीको सर्वत्र चर्चा छ । आफ्नो उखान टुक्का र ठट्यौलीपूर्ण अभिव्यक्तिका लागि चर्चामा रहने ओली यसपटक भने व्यवस्थापिका संसदमा राजीनामा दिँदाको भाषणका लागि चर्चित छन् ।
Arun-Kumar-Subediओलीकै सरकारको नीति तथा कार्यक्रम र बजेटसम्म कहीँकतै उल्लेख नभएका विकासका सपनाहरुका लागि धेरैले केपी ओलीलाई सम्झिइरहेछन् । उनका त्यस्ता केही सपनाहरुको प्रशंशा यस पंक्तिकारले पनि गरेकै हो । तर, अहिलेको राजनीतिक बजारमा उनको खासियत भने उनले लिएको राष्ट्रवादी अडान र धारणा रहेको छ । यसलाई आधार बनाएर निकै विद्वान र गहन व्यक्तिहरुको भावना पनि तरल भएका अभिव्यक्तिहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा यत्रतत्र देखिएका छन् ।
राजनीतिक कुटनीतिको जटिलताका बावजुद जहिले भावनामा मात्र बहकिएर आफ्नो अभिमत व्यक्त गर्ने सामान्यजनको त कुरै छाडौं, यस अर्थमा केपी ओलीले लिएको अडानलाई राष्ट्रवादको उत्तम नमूनाका रुपमा सर्वप्रचारित भएपछि पंक्तिकारलाई पनि नेपालका चल्तीका राष्ट्रवादी भावना र नेपाल राष्ट्र एवं जनतालाई त्यसले पुर्‍याएको लाभ-हानीको कसीमा एकपटक फेरि विश्लेषण गर्ने उत्कण्ठा उत्पन्न भयो ।
अहिलेको प्रौढ पिँढीदेखि पढ्दै र बढ्दै गएको किशोर पिँढीसम्मले भीमसेन थापाका बारेमा एउटै प्रकृति र प्रवृतिको इतिहास पढेको छ । यसको स्रोत खासगरी राजा महेन्द्रका पालामा दरवारिया पृष्ठपोषणमा लेखिएको इतिहास नै हो । यो इतिहासको ठीक विपरीत व्याख्या एवं ठहर छ, इतिहासकार बाबुराम आर्चाय र पछिल्लो पिढीँका केही इतिहासकारहरुको । तर, त्यो इतिहास भने जसले स्वध्यायन गर्छन् तिनले मात्रै पढिरहेछन् । सरकारी आधिकारी स्तरबाट पढाइरहिएको छैन । बाबुराम आर्चायको इतिहासलाई आधार मान्दा भीमसेन थापाको छवि अहिलेको इतिहासमा पढाइएजस्तो पटक्कै छैन ।
यसक्रममा मलाई एउटा गम्भीर प्रश्नले लामो समयसम्म सताइरहेथ्यो आखिर आफ्नै पूर्वजहरुलाई खोपीमा राखेर र दरबारभित्रकै पारिवारिक व्यक्तिहरुलाई उपयोग गरेर सधैं आफ्नो हातमा शक्ति राखिरहने भीमसेन थापाप्रति राजा महेन्द्रको त्यत्रो अनुराग के कारणले उत्पन्न भयो ?
भीमसेन थापा कसरी शक्तिमा आए ?
मेरो मनमा लगभग ढेड दशकदेखि उत्पन्न यो प्रश्नको उत्तर नेपाली सेनाको इतिहासमा विध्ाावारिधि गर्नुभएका अवकाशप्राप्त जनरल प्रेमसिंह बस्नेतले दिनुभयो । जुन शाह वंशको इतिहासका लागि अलि अपमानजनक पनि रहेछ ।
पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाह त्ात्कालीन अवस्थामा राजा हुन लायक थिएनन् । त्रान्त्रिककहाँ त्रन्त्र साधनाका लागि जाने र आठै प्रहर रक्सी पिइरहने अनि अलिअलि तनबल आउनासाथ तन्त्र साधनाका नाममा काम-अभ्यासमै लिप्त रहन्थे प्रतापसिंह ।
Bhimsen-Thapa
अनवरत नशा र अत्यधिक यौनका कारण उत्पन्न दुर्बलताले प्रतापसिंहको अल्पायुमै निधन भयो । उनका पुत्र रणबहादुर शाह झनै यौन मुद्दाका कारण अर्धपागल नै रहन्थे । अस्वाभाविक यौन चरित्र र अस्वाभाविक आकारको यौनाङ्गका कारण रणबहादुर उन्मत्त भैरवका राज अवतार थिए । उनको नजिक पर्नासाथ रानीहरु रोईकराई गरेर भाग्न चाहन्थे ।
राजाको यो अवस्थाप्रति चिन्तित दरवारिया वैद्य, अझ काम-विधाका ज्ञाताहरु राजाका निम्ति उपयुक्त स्त्रीको खोजीमा लागिरहन्थे । यसैक्रममा आफ्ना पतिको मृत्युका कारण पशुपतिमा शतविज छर्न आएकी मैथिल विधवा ब्राम्हणीमाथि दरवारियाहरुको नजर पर्‍यो ।
ठूलो प्रयत्नपछि रणबहादुर शाहकी जेठी महारानीले गोर्खा लगेर ती विधवा ब्राम्हणीसँग आफ्नो पतिको विवाह गराइदिइन् । तिनै महारानीबाट गिवार्णयुद्ध विक्रम शाह जन्मिए । तर, सुत्केरी महारानीमाथि अधैर्य राजाले बारम्वार गमन गरेपछि भएको रक्तस्रावले ती महारानीको मृत्यु भयो ।
महारानीको जीवन रक्षाका लागि गरिएका तान्त्रिक, वैद्य र देवकार्य केहीले काम गरेन । आफ्नो रेहक्षुधा तृप्तिका लागि मन परेकी महारानीको मृत्युवाट थप विक्षिप्त बनेका रणबहादुर शाहले देवधामको अपमान गर्न शुरु गरे । पशुपतिनाथको शिवलिंगमा कोपरा खन्याउने र गुहेश्वरीमा बाँस हाल्ने जस्ता काम गर्न गराउन थाले । यस्ता विक्षिप्त रणबहादुरलाई उपयोग गरेर भीमसेन थापा सत्ताको शिखरमा पुगे ।
भीमसेन थापाले गिर्वाणयुद्धविक्रमको वचपनलाई भरपूर उपयोग गरे । पछि भीमसेन थापाद्वारा स्थापित भारदारहरुको गुटद्वन्द्वलाई अन्त्य गर्दै जगंबहादुरले राणा शासनको शुरुवात गरेका हुन् । त्यसपछि राणाहरुले शाहहरुलाई माथिका दुई राजाहरुसहित पछिका केही सन्की राजाहरुको उदाहरण दिएर बारम्बार अपमान गर्ने गर्थे । वर्णशंकरजस्ता अपमानजनक शब्द प्रयोग गर्ने गर्थे ।
वि.सं. २००७ सालअघिको आफ्नो जीवनमा यो अवस्था प्रशस्त भोगेका महेन्द्रले आफू राजा भएपछि आफ्ना पूर्वजलाई महिमाहित गर्ने अभियानमा लागे, जसका कारणले पहिले भीमसेन थापालाई महिमान्वित गर्नुपर्ने अवस्था आयो । यसैअुनसार दरबार पोषित इतिहास निर्माण भयो ।
माथिको यो विवरण अवकाशप्राप्त जनरल डा. प्रेमसिंह बस्नेतको कोट-अनकोट कथन हो । यो लेखक केही मामलामा राजा महेन्द्रको प्रशंसक पनि हो भने केही मामलामा कटू आलोचक । तर, महेन्द्रजस्तो गम्भीर प्रकृतिका राजाले इतिहासलाई यथारुपमा नछाडेर किन यसरी लेखाउनेतर्फ लागे ? मेरा लागि अझै पनि यो जिज्ञासाको विषय छ । त्यस्ता बहुलठ्ठी पूर्वजका कारण महेन्द्रको शीर्षस्थतामा कुनै असर त पर्ने थिएन । तर, पनि एउटा निर्देशित इतिहास लेखियो, जसका आधारमा आजको आम भावनासमेत निर्माण हुन पुगेको छ ।
भीमसेनको राष्ट्रवाद
राजा महेन्द्रबाट प्रक्षेपित भीमसेन थापाको राष्ट्रवाद कस्तो थियो र त्यसले नेपाललाई के दियो ? यो गम्भीर प्रश्नको उत्तर आजको केपी ओलीजीको राष्ट्रवादी छविको चर्चामा सान्दर्भिक हुन जान्छ ।
राष्ट्रवादको तटस्थ मानक र नेपालको विशिष्ट जातीय क्षेत्रीय स्वरुपका आधारमा वीपी कोइराला र राजा महेन्द्रको अलग-अलग सोच प्रष्ट देखिन्छ । तीमध्ये कुनले राष्ट्रियता सबल हुन सक्थ्यो र सक्छ भन्ने विवाद लामो हुन सक्छ
आफ्ना पूर्वजहरुको कृत्रिम महिमा निर्माण गर्दा भीमसेन थापाद्वारा गरिएका धेरै गल्तीहरु औचित्यपूर्ण सत्कार्यका रुपमा रुपान्तरित भए । जसको हठ अदुरदर्शिता र कुटनितिक अक्षमताले नेपालले एक तिहाइ भन्दा बढी भूभाग गुमाउनुपर्‍यो, यस्तो नेपाल निर्माणपश्चात राष्ट्रले भोगेको सबैभन्दा ठूलो आघातका कारणीलाई राष्ट्रवादको पहिरन भिराएर महिमान्वित गर्ने काम भयो ।
बहुलठ्ठी र बालक राजाहरु अनि तिनका संरक्षकहरुलाई आफ्नो पकडमा लिएर एकछत्र राज्यशक्ति उपयोग गर्न सक्षम भीमसेन थापाले बुद्धि पुर्‍याइदिएका भए आजको नेपालको भूगोल कस्तो र कत्रो हुने थियो ? त्यतिमात्र होइन, उनको कालसम्म तात्कालीन पश्चिम नेपालमा विद्रोहहरु उठिरहे । तर, नेपालको हारपश्चात नेपालमै रहनका लागि आवाज उठ्नु त कता हो कता, लेखिका शिवानीका अनुसार त्यसक्षेत्रमा मुक्ति उत्सव मनाइयो रे ।
अर्थात, यसले प्रष्ट पार्छ, आफ्नो आन्तरिक छविका कारणले पनि राष्ट्र विखण्डनको विजारोपण भएको रहेछ भीमसेन थापाका पालामा । त्यस्तो इतिहासमा प्रमाणित सत्यका वावजुद भीमसेन थापालाई राष्ट्रवादको रोलमोडेल मान्नेहरु धेरै छन् ।
तिनको कृत्रिम इतिहासका प्रायोजक राजा महेन्द्रलाई सर्वोत्तम राष्ट्रवादी मान्ने त झनै बढी छन् ।राष्ट्रवादको तटस्थ मानक र नेपालको विशिष्ट जातीय क्षेत्रीय स्वरुपका आधारमा वीपी कोइराला र राजा महेन्द्रको अलग-अलग सोच प्रष्ट देखिन्छ । तीमध्ये कुनले राष्ट्रियता सबल हुन सक्थ्यो र सक्छ भन्ने विवाद लामो हुन सक्छ ।
भीमसेन थापा र जंगबहादुरमा पनि राष्ट्रको सार्वभौम पहिचान स्थापना गर्न विपरीत किसिमका कार्यहरु छन् । तीमध्ये कुनले नेपाललाई फाइदा दियो ? यसको विवेचना र ठहर पनि बहसको ठुलै विषय हुन सक्छ ।
यी सबै एउटा आलेखमा पुरा हुने विषयहरु होइनन् । तर, लामो समयदेखि नेपालमा स्थापित राष्ट्रवादको मूलप्रवाह असहमतिहरुको निशेष र पहिचानहरुको निशेष गरी ‘एउटा भाषा एउटै भेष, एउटै जाति एउटै देश’ बनाउने कि सबैको सहभागिता र सहअस्तित्वको समावेशी राष्ट्रियताको आधार निर्माण गर्ने ? यो द्वन्द्व पहिलेदेखि रही आएको छ र आज निकै उत्कर्षमा छ ।
राजीनामा नै ओलीको सच्चा ‘राष्ट्रवाद’ हो
यही द्वन्द्वको शिथिलीकरणमा भन्दा वृहतीकरण गरी माथिको पहिलो मान्यतामा आधारित राष्ट्रवाद नै मूलप्रवाह हो भन्ने सोचबाट वर्तमान वातावरण निर्माण भइरहेथ्यो, जुन धरातलका नायक बनिरहेथे केपी ओली ।
KP Oliभीमसेन थापालाई महानायक मान्ने र राजा महेन्द्रलाई मात्रै सच्चा राष्ट्रवादी ठान्नेहरुको भावना केपी ओलीजीले साँच्चि नै जिते ।
ओलीजीले अनधिकृतरुपमा उठाएका विकासका केही सपनाहरुको ठूलै प्रशंशक हो यो लेखक । उनले उठाएका ती सपना किन अनधिकृत हुन् भने ती उनीसमेतले निर्माण गरेका राष्ट्रको नीति तथा कार्यक्रमसँग सम्वन्धित कुनै दस्तावेजमा छैनन् ।
तर, उनले अहिलेसम्म देखाएको राष्ट्रवादको अडानको रुप र त्यसैको पृष्ठभूमिमा अंगीकार गरिएको चोथाले र उत्तेजक परराष्ट्र नीतिको भने म कटू आलोचक रही आएको छु ।
यति हुँदाहुँदै पनि उनले गरेको अन्तिम निर्णय अर्थात राजीनामा र अर्को सरकारका लागि मार्गप्रशस्त गरिदिने कामचाँहि सबै भन्दा बढी राष्ट्रवादी भयो भन्ने विश्लेषण छ मेरो । उनको शासनमा मधेस वहिष्करणमा पर्‍यो र राष्ट्रिय राजनीतिको मूल प्रवाहवाट एक थरी जनता र राजनीतिक शक्ति अलग बस्न बाध्य भए । विस्तारै उत्ताउलिएको एकांगी राष्ट्रवादबीच राष्ट्र विखण्डनको सम्भावना बढ्दै गएको थियो । यदि यो द्वन्द्व अझ बढेको भए नेपालको विभाजनको सम्भावना निकै प्रवल भइसकेको थियो । अहिले पनि सायद अन्तरिम विश्राम मात्रै हुन सक्छ ।
भीमसेन थापाको ढिपीले खण्डित भनेको नेपाल अर्काे ढिपीले फेरि टुक्रिन सक्थ्यो । तर, यो स्थितिलाई केपी ओलीले राम्ररी भाप्ने काम गरे । संविधानको अर्कमण्यतालाई औजार बनाएर उनले सत्ता ओगटिरहन सक्ने थिए । व्यवस्थापिका संसद पनि विघटन गर्न सक्थे । यही संविधान ‘वाइमर’ संविधानको नेपाली संस्करण हुन सक्थ्यो । उनले यी सबै कार्यतर्फ लाग्ने कोशिस् गरेनन् । सबैले सोचेको भन्दा सहज र कम कटुतामा राजीनामा दिए ।
परिणामस्वरुप मधेसका राजनीतिक शक्तिहरु राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समावेश भई वैधानिक बाटोमा आएका छन् । यसले राष्ट्रियता दह्रो भएको छ ।
एकातर्फ भीमसेन थापापन्थी र महेन्द्रवादीको नेता केपी ओली हुन पुगे भने अर्कातर्फ बाहिरिएकाहरु मूल प्रवाहमा आउन शुरु गरे । दुबै पक्ष एकअर्काका प्रतिपक्ष भएर प्रजातान्त्रिक सहकार्यमा रहने वातावरण बनेको छ अहिले ।
यो लेखक केपी ओलीको राष्ट्रिय अखण्डता अक्षुण राख्ने यो कदमलाई सर्वाधिक राष्ट्रवादी ठान्दछ, पूर्ववत् ‘पोस्चरिङ’मा रहेर एउटा भूखण्डमा पृथकतावादी सोच मौलाउने हदसम्मको उत्तेजनात्मक अडानलाई हैन ।
२०७३ साउन २१ गते १७:३२ मा प्रकाशित

प्रचण्डको आशन्न भारत भ्रमण र राजनीतिक पर्यटन

पर्यटन

नेपाल भारत सम्बन्धः 'लभ एण्ड हेट'

अरुणकुमार सुवेदी
प्रधानमन्त्रीका विशेष दूत भएर भारत गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीजीको भारत भ्रमणको समयमा यो पंक्तिकार पनि आफ्नो कामविशेषले त्यहाँ पुगेको थियो । नयाँ दिल्ली क्षेत्रको हरियाणा फरिदावादस्थित होटलको लबीमा चिया गफ गर्दैगर्दा ती उद्यमीले मसँग सुरुमा माफी माग्दै राजनीतिक र कूटनीतिक प्रसंग निकाले । उनले गरेको प्रश्न र प्रश्नलाई पुष्टि गर्ने प्रसंग अलि लामै थियो । तर, एउटा नेपालीका लागि निकै पेचिलो र मननीय थियो ।
Arun-Kumar-Subediभर्खरैमात्र दुवै छिमेकीतर्फ आफ्ना दूतहरुलाई सप्ताहव्यापी राजनीतिक पर्यटनमा पठाएर यस क्रमको सुरुवात भइसकेको छ । हाम्रा मन्त्री र प्रधानमन्त्री यसरी लामो समय छिमेककोे तीर्थाटनमा गइरहने सामान्य प्रक्रियालाई हल्कारुपमै लिएको यस लेखकलाई एक भारतीय उद्यमीको प्रश्नले भने विचार गर्न बाध्य बनायो ।
हाम्रो व्यवसायिक प्रसंगबाट बाहिरिँदै उनले भने- ‘नेपाल-भारतबीच रहेका समस्या र त्यसबारे एक-अर्काको दृष्टिकोण दुवै मुलुकलाई पक्कै थाहा छ । त्यहाँ भारतका राजदूत लगायत उच्चपदस्थ कर्मचारी पनि छन् । नमिलेका विषय तिनीहरूमार्फत नै आए पनि त हुन्छ । संवेदनशील विषयहरु भए सम्बन्धित विशेषज्ञको समूहमा बहस गराउन सकिन्छ होला । तीर्थाटनमा यत्रो लामो समय किन पाहुना लागेर बस्नु ? यसले तिम्रो राष्ट्रको गरिमा त फितलो हुन्छ नै, भारतीय सरकारी पक्षलाई पनि झमेला लाग्दो हो भनी तिमीहरु सोच्दैनौ ?’
कुरा गम्भीर थियो । ५/७ दिन नै दिल्ली बस्नुको अर्थ मलाई पनि खासै सुझेको थिएन । तर, भारतको नागरिक स्तरमा पनि यो विषयलाई यति गम्भीरतापूर्वक लिइएको हुँदोरहेछ भन्ने कुराको हेक्का मलाई पहिलो पटक भइरहेथ्यो ।
मेरा उद्यमी मित्र जसको क्लाइन्टका रुपमा म त्यहाँ उपस्थित थिएँ । उनले थप कुरा गरे – ‘तिमीहरुको यस्तो काइदाले तिमीहरुकै इज्जत घट्छ । पहिले त प्रतिक्रियात्मक भएर अरुसँग रिसाउनुभन्दा आफू अदवमा बस्नु जरुरी छ । पहिले इज्जत र अदवमा बस, सस्तो नबन । त्यसपछि स्वावलम्बी बन । बाध्यताको निर्भरता त एक-अर्काबीच सबैमा हुन्छ, यो ठूलो कुरा होइन ।’
एउटा व्यापारी काउण्टर पार्टबाट आएका यस्ता कुराबाट म अपमानित र लज्जित थिएँ । तर, आत्मतर्कना बाहेक मलाई अरु कुनै प्रतिक्रिया सुझेन ।
भारतीयहरुसँग हाम्रो अनौपचारिक सम्बन्ध छ । तीर्थ-व्रतका सम्बन्ध छन् । भारतीय समाज पनि केही अनौपचारिक छ । भारतीयहरुलाई हामी अलि हेप्छौं पनि । भारतको राज्य पक्षसँग प्रधानमन्त्री निवास अगाडि नै प्रदर्शन गरेर टक्कर लिँदा पनि हामी त्यसमा अन्यथा सोच्नुपर्ने मान्दैनौं ।
भाषिक समस्या जनस्तरसम्म पनि खासै छैन । त्यस्तो राष्ट्रको एउटा सामान्य व्यापारीलाई त हाम्रो नेतृत्वको हल्कापनले यस्तो भाव विकसित हुनसक्छ भने चिनियाँ जस्तो औपचारिक राज्य र समाजले हामीलाई के सोच्दो हो !
यो पंक्तिकार अझै पनि जोड दिन्छ – फगत राजनीतिक पर्यटनमा हाम्रा प्रधानमन्त्री छिमेक यात्रामा नजाऊन्
चीनमा पनि हाम्रा राज्यका अधिकारी र राजनीतिज्ञहरु हप्तौं बसिदिन्छन् । बिनसित्ति सपिङ कम्प्लेक्समा सुरक्षा प्रबन्धको झमेला सिर्जना गरिदिन्छन् । यो राजनीतिक पर्यटनमा अनावश्यक धाइरहने, आफ्नो इज्जत घटाउने र छिमेकीलाई झिंंजो लगाउने कूटनीतिक शैली नेपालले परिवर्तन गरेमा राष्ट्र, जनता र स्वयं राजनीतिक नेतृत्वको पनि इज्जत बढ्ने रहेछ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
नेपाल भारत सम्बन्धः ‘लभ एण्ड हेट’
नेपाल-भारतबीचको ‘लभ एण्ड हेट’ सम्बन्ध लोककथ्यका आधारमा भन्ने हो भने हजार जिब्रो भएका शेष नागको पहुँचभन्दा पनि पर छ । तैपनि उठ्दा-बस्दा यस सम्बन्धका कारण हरेक नेपाली नागरिक कुनै न कुनै किसिमले प्रभावमा परिरहेका हुन्छन् । कथ्यमा समेट्न नसकिने त्यही प्रसंगलाई बारम्बार चर्चा गर्न हरेक नेपाली बाध्य छ ।
नेपालमा ६, ९, १२ महिनामा प्रधानमन्त्री फेरिइरहन्छन् । हरेक प्रधानमन्त्री कुनै न कुनै रुपमा भारत भ्रमण गर्न इच्छुक वा बाध्य के हुन्छन् कुन्नि ! सामान्यतया उसको पहिलो र यदाकदा दोस्रो गन्तव्य भारत नै हुने गर्छ । जे-जस्ता विषयमा पाखुरा सुर्के पनि भारतप्रति तुच्छ वचन प्रयोग गरेर आफूलाई सूरवीर ठान्नेको अवस्था पनि त्यो भन्दा फरक छैन ।
निकट अतीतको कुरा गर्ने हो भने भारत विरोधी राष्ट्रियता अघि बढाएको दोष पाएका केपी ओलीले पनि दक्षिणको भ्रमण गरेकै हुन् । अब वर्तमान प्रधानमन्त्री पनि जाने तयारी हुँदैछ । पुष्पकमल दाहाललाई हरिद्वार, काशी दर्शनका लागि समय पक्कै चाहिँदैन, तर, पनि पहिलेका प्रधानमन्त्रीझैं उनले पनि ४/५ दिन बिताउने पक्का छ ।
श्राद्धमा बिरालो बाँध्ने उखानझैं प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल पनि दुई छिमेकी राष्ट्रको राजनीतिक पर्यटनमा जाने पक्का छ । त्यसैका लागि आफ्ना दूत बनाएर दुई उपप्रधानमन्त्रीलाई आ-आफ्नो इष्ट राष्ट्र जाऊ भनी प्रधानमन्त्रीबाटै पठाइएको कुरा चर्चामा छ ।
प्रधानमन्त्रीले दुवै राष्ट्रको भ्रमणमा नगई सम्बन्ध व्यवस्थापन गर्न सक्षम हुनुभएमा अत्यन्त उत्तम हुनेछ । यदि जाने नै भए पनि माथिको समय प्रसंगलाई ध्यान दिए वेश होला । यसै पनि प्रधानमन्त्री दाहाललाई सांस्कृतिक र धार्मिक तीर्थाटन गर्नु छैन । घुम्न बाँकी पर्यटकीय ठाउँ बाँकी छैनन् । सद्भावना भ्रमण एकदिन नै काफी हुनेछ । अझै पनि नेपालका प्रधानमन्त्रीले भ्रमण गर्नुभन्दा आधीउधी तय भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ला ।
यस्तै, विगतमा लामै प्रयत्न गरे पनि मुक्तिनाथ, लुम्बिनी र जनकपुर जान नपाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ती स्थानको भ्रमण तय गरे सद्भावनामा टेवा पुग्नुका साथै बिगि्रएको कूटनीतिक सम्बन्धमा पनि विश्वास कायम हुन सक्ला ।
प्रधानमन्त्रीको तहमै भ्रमण गर्ने हो भने आफ्ना आन्तरिक समस्याको उचित सम्बोधन गरेर बाहिर कुनै पनि नाममा कुरा नउठ्ने स्थिति पहिले बनाउनुहोस् । त्यसपछि ठूला सवालमा निर्णयात्मक सम्झौता गर्न मात्र जानुहोस् । पञ्चेश्वर कार्यान्वयन, कोशी उच्च बाँध बनाई नेपालसम्म जलमार्ग विस्तार, कणर्ाली चिसापानीको विकास, ठूला पूर्वाधार योजनाहरुको मोडालिटीलाई अन्तिम रुप दिने जस्ता विषय टंुगिऊन् ।
यो पंक्तिकार अझै पनि जोड दिन्छ – फगत राजनीतिक पर्यटनमा हाम्रा प्रधानमन्त्री छिमेक यात्रामा नजाऊन् ।
२०७३ भदौ १३ गते १५:२१ मा प्रकाशित

Tuesday, March 15, 2016

सेनापतिको भारत भ्रमण र मधेस आन्दोलनको पटाक्षेप

सेनापतिको भारत भ्रमण र मधेस आन्दोलनको पटाक्षेप

२०७२ फागुन ५ गते १७:१२ मा प्रकाशित
 0  4 
  0
अरुणकुमार सुवेदी
भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउका नवावी समाजवादीको आतिथ्य र मन्त्रणापछि नेपालमा मधेस आन्दोलन शुरु भएको कुरा कसैबाट छिपेको थिएन । आन्दोलनमा उठेका माग र भावनाप्रति धेरै कोणबाट समर्थन पनि जुट्न पुगेकै थियो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
मधेसी नेताहरुको अभिव्यक्ति तराईको जनमनोविज्ञान तथा आन्दोलनको स्वरुप हेर्दा तुरुन्त नटुंगिने देखिन्थ्यो । तर, प्रधानमन्त्री भन्दा पहिले मित्रराष्ट्र भारतको आमन्त्रणमा दिल्ली पुगेका नेपाली प्रधानसेनापति सैनिक तथा राजनैतिक अधिकारीहरुसँग भेटघाटमा व्यस्त रहेका बखत मधेसी नेताहरुलाई पटनाबाट बोलावट आइपुग्छ । पटनाको लालु उपदेशपछि एकाएक मधेस आन्दोलनको अवतरण हुन पुग्छ । यो अनपेक्षित अवतरणपछिको रहस्य आज सर्वाधीक जिज्ञासाको विषय बनेको छ ।
मधेस आन्दोलनको पाश्र्व उद्देश्य
१. पश्चिमाहरुको दीर्घकालीन रणनीतिअन्र्तगत नेपालमा अराजकता निर्माण गरी राष्टसंघ मार्फत पश्चिमको उपस्थिति जनाउन महत्वपूर्ण औजारका रुपमा अहिलेको विवादास्पद संविधान लागु गराउने ।
२. चीनलाई घेर्ने रणनीतिअन्र्तगत भारतका सेकुलारिष्टसँग पश्चिमले सहकार्य गर्ने र मोदीलाई नेपाल मुद्दाबाटै बिहारको चुनाव हराई कमजोर बनाएर तीन चार वर्षपछिको आम निर्वाचनमा परास्त गर्ने ।
यी दुबै उद्देश्यका लागि भारतका सेकुलारिष्ट, पश्चिमाहरु र भारतिय खुफिया संस्था ‘रअ’ समेत सहकार्यमा रहेको कुरा यथेष्ट चर्चामा आइसकेको छ । अहिलेको सेकुलारिष्ट विभाजनकारी संविधान लागु गरेपछि उनीहरुको योजनाअनुसार नै तराईमा अराजकता र आन्दोलन बढ्दै गयो । तर, यसवीचमा एउटा अवस्था भने पाश्र्व निर्देशकहरुको अपेक्षा भन्दा बिल्कुल अलग किसिमले निर्माण हुन पुग्यो। नेपालका केही बुद्धिजिवी, विश्लेषकहरु (यो लेखक समेत) राष्ट्र बिघटनोन्मूख भएबाट अब अन्तिम शक्तिकारुपमा सेनाले सत्ता लिनुपर्छ भन्ने पक्षमा उभिन थाले भने जनमत पनि बिस्तारै त्यसै पक्षमा बन्न थाल्यो ।
नेपाली सञ्चार माध्यममा यस्ता विचारहरु आइरहदा सेनाले आफ्नो मुख्यालयमा अवकास प्राप्त केहि सैनिक उच्च अधिकारीहरु र बहालवाला अधिकारीहरुको सम्मेलन आयोजना गरी मार्शल मन्थन पनि गर्‍यो । मार्शल मन्थनपछिको शैनिक वक्तव्य पनि घुमाउरो किसिमले सेनाको सक्रियताको संकेत दिने प्रकारकै आएको हो । तर, नेपालजस्तो रणनीतिक अवस्थिति भएको राष्ट्रको राजनीतिक वा सत्ता परिवर्तनमा विश्व समुदाय र भारत तथा चीनको रवैया निर्णायक हुन जान्छ ।
पश्चिम र भारतका मोदी विरोधी सेकुलारिष्टहरुसँग नेपालका सबै राजनैतिक शक्तिहरुले भिन्न-भिन्न मोडेलमा सहकार्य गरिरहेको अवस्थाको विरुद्धमा सेनाले सत्तालिनु पर्ने खण्डमा चीन र भारतको केन्द्र सरकारसँग सेनाको कन्फिडेन्स नै निर्णायक कारण हुनु स्वाभाविक हो । सोका लागि सेनाले आफ्नो अन्तराष्ट्रिय सम्वन्धलाई मिहीनरुपमा उपयोग गर्न सुरु गरेका संकेत पनि आउन थालेका थिए ।
मोदीको ढिलाइ
नेपालमा बढ्दो अराजकता, धर्मान्तरणमार्फत खुकुलिँदो सास्कृतिक राष्ट्रियता र बढ्दो भारत विरोधी भावनावीच कुनै पनि बेला राष्ट्र संघ मिसनमार्फत पश्चिमाहरुको उपस्थितिको सम्भावना बढ्न थालेको सूचनाले मोदी ठूलो सकसमा पर्न थाले । यो अवस्थाप्रति निकै असन्तुष्ट रहेको चीनबाट पनि मोदीलाई नेपाल व्यवस्थापन गर्न नसकेकोमा ठूलो दबाव पर्नु स्वभाविक थियो ।
चीन स्वयमलाई पनि नेपाल खतराको स्थल बन्दै गएकोमा चीनले आफ्नो सरोकार देखाएकै हो । भारत नेपाल विवादका कारण उत्पन्न स्थितिले चीनमाथि अनावश्यक कुटनीतिक झण्झट थपियो भन्ने संकेत चीनको व्यवहारले दर्शाएकै हो । यस्तो अवस्थामा मोदीका लागि नेपालमा भरोसायोग्य राजनीतिक व्यक्ति मिलिरहेको थिएन । नेपालमा आफनो सानो मसिनो सहकर्मीसमेत नपाएका मोदीलाई अत्यन्त कम विकल्पहरु बाँकी थिए ।
नेपालको राजनीतिक अवस्थालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नु । मोदीको विवशता बुझ्न नेपालको सैनिक नेतृत्व सक्षम पनि भएको देखिन थाल्यो नेपाली सेना स्वयमनै सास्कृतिक राष्टियताको परम्परामा संगठित छ । यसकारण आपतकालिन उपायका रुपमा सेना अगाडि ल्याई मुलुकमा सल्किएको आगो निभाउन सक्ने सम्भावनालाई मोदीको सुसुप्त सर्मथन रहन सक्थ्यो । तर, मोदी त्यसका लागि तुरुन्त निर्णयमा पुग्न नसकेको देखियो सामान्यतया शिघ्र निर्णय गर्ने स्वभाव भएका मोदीले नेपालमा सैनिक सासनका पक्षमा निर्णय लिन हिच्किचाएको देखिन्छ ।
सायद नेपाली सेनाको इतिहासको केही घटनाहरुको प्रभाव र एउटा प्रजातान्त्रिक नेताको साखका कारणले उनमा त्यो अवस्था पैदा भएको हुन सक्छ । अराजकता र चरम तनावका वीच नेपाली सत्ता पक्षले लिएको उत्तेजक नीतिले कुनै पनि बखत ठूलो हिसांत्मक रुप ग्रहण गर्ने अवस्था लगभग आइसकेको थियो । यस्तो तरल अवस्थामा नेपालका प्रधान सेनापति दिल्ली पुग्नु केवल नियमित शिष्टाचार मात्र थिएन ।
अब भारतेली सेकुलारिष्ट र पश्चिमसँग पनि समय सकिँदै थियो तराईमा सेना परिचालन गरी द्वन्द्व भड्काउने नीतिलाई नेपाली सेनाले नै अश्विकार गरेर सेना अर्काे लाइनमा सकि्रय भइसकेको अवस्था बुझ्न गाह्रो थिएन । यस कारण मधेस आन्दोलन यथावत राख्नुको अर्थ सेना मार्फत अहिलेको संविधान निलम्वन हुने अवस्था निर्माण हुनु मात्रै नभएर नया राजनीतिक प्रकि्रयामा गणतन्त्र पनि धरापमा पर्न सक्ने सम्भावना स्पष्ट थियो ।
नेपालका प्रधान सेनापतिको दिल्ली भ्रमण त्यो पनि भारतको केन्द्र सरकारसँग नेपालको घोर तिक्तता भएका बखत, संकेत स्पष्ट थियो- अब मिनेटको ढिलाइ पनि उनीहरुका लागि जोखिमपूर्ण थियो ।
मोदीको एउटा निर्णयलेे सबै पासाहरु पल्टन सक्थे । यसर्थ रोकथामका लागि यसपटक सक्रिय बनाइए भारतीय राजनीतिमा अलग मौलिकताका व्यक्ति र मोदीका उग्र विरोधी लालु प्रसाद यादव ।
नेपाली मधेसी नेताहरु प्ाटना बोलाइए र अपमानजनक शारीरिक भाषाबीच मधेस आन्दोलनको अपमानपूर्ण विसर्जन गर्नैपर्ने वाध्यतामा मधेसी नेताहरु पुर्‍याइए । यसरी नेपाली राजनीतिमा आउन सक्ने यु टर्न को सम्भावनालाई रोकियो र मधेसी नेताहरु सेकुलारिज्म र संविधानका लागि बलीको बोका बनाइए ।
डिजाइन अरु खतरनाक छ
अहिले आएर मधेसका मूलप्रवाहका नेताहरु पूरै आवरुहीन भएका छन् । जनतामाथिको उनीहरुको पकड धरापमा परेको छ । तर, त्यसले ठूला दलहरुको पकड पनि बढेको छैन, घटेकै छ ।
स्पष्ट छ-अब तराईमा विखण्डनवादीको पकड दह्रो हुँदै जानेछ । नेपाललाई अस्थिर बनाउन र बिखण्डनमा पुर्‍याउने अवस्था विकसित भइरहेछ ।
तुरुन्त पश्चिमको उपस्थिति नभए पनि दीर्घकालीन अवस्था झनै खतरनाक हुने देखिन्छ । यसपछि विकसित हुने अवस्थाले पहाडमा पनि तीब्र अस्थिरता छाउनेछ ।
परिणामस्वरुप पहाडबाट क्षेत्री-बाहुनको सबैभन्दा बढी बसाइ-सराइ हुनेछ । यसको ठूलो हिस्सा युरोप अमेरिका र अष्टे्रलिया पनि पुग्नेछ । उच्चमध्यम र उच्च आर्थिक औकात भएका जनजातिहरुको बसाइ-सराइ पनि तीब्र हुनेछ । यसप्रकार बसाइ सरेको जनसंख्या या त केही जनसंख्या केन्द्रहरुमा या त विदेशमा नै पुग्ने छ । यो अवस्थालाई सांस्कृतिक अतिक्रमणबाट झन बढावा मिल्ने छ ।
तराईको अवस्था पनि पहाडी मधेसी द्वन्द्व र अराजकताले तीब्र बसाइँ सराइतर्फ नै उन्मूख हुनेछ । यो अवस्थाबाट मुक्त हुँदा तराई विभाजित भइसकेको हुनेछ भने पहाडको ग्रामीण क्षेत्रको आधाउधि जनसंख्या इसाइकरण भइसकेको हुनेछ ।
यो संविधान र अहिलेको अवस्था निरन्तर रहे यो परिणामका लागि तीन दशकको समय पनि लाग्ने छैन । यहाँसम्मको यात्राले लगभग कर्णाली नदीदेखि मेघना (बाराक ) नदी भारतसम्मको पहाडी भूभाग इसाइहरुको प्रभुत्वमा जानेछ ।
जुन जनसंख्या र जनमत भारत र चीनलाई व्यवस्थापन गर्न सबैभन्दा ठूलो हतियार हुनेछ । सम्भवतः यस समयसम्म यस क्षेत्रको राजनीतिक भूगोल परिवर्तन पनि हुन सक्नेछ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2016/02/389405/#sthash.1j6kBHNq.dpuf