Tuesday, June 16, 2015

ओन्लाइङ्को लेख भुकम्प पछिको आर्थिक नीतिको बहस -5

पहाडेलाई मधेसमा नसारौं, हिमाली बस्ती खाली नपारौं !

भूकम्पपछिको पुनर्बास नीतिबारे बहस

२०७२ जेठ ३० गते १८:१६ मा प्रकाशित
 589  20 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको उद्धार, राहत र पुर्ननिर्माणको बहस चलिरहँदा भूकम्पको राजनैतिक पराकम्पन पनि अनपेक्षित रुपमा देखा परेको छ ।
इन्डोनेसियाको राजनैतिक विवादलाई सुनामीको त्रासदीले गाडीदिएझैं भूकम्पको धक्काले मुख्य राजनैतिक शक्तिहरु वीचको विवादलाई समाप्त पार्ने अनिवार्य स्थितिको निर्माण गर्‍यो । केही भुरेटाकुरे र कन्फ्युज्ड पार्टीहरुलाई छाडेर लगभग सहमति भएको छ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
पछि तोड्न र मोड्नलाई सहज हुने गरी बनाइएको संघीयताको समझदारीले सत्तारुढ गठबन्धनसँग एमाओवादी र फोरम लोकतान्त्रिक एक स्थानमा आए भने धर्मनिरपेक्ष माथिको मौनताले संविधानसभाको चौथो शक्ति राप्रपा नेपाललाई रिङ बाहिर राखेर पनि अव्यक्त सम्वोधन गरेको छ ।
जेहोस् भूकम्पले नेपाली भूमि तरलीकरण भएका बेला त्यसको दबावले नेपाली राजनीतिमा ठोसकरण आएको हो कि भन्ने सन्देश नेपालीहरु माझ पुगेको छ ।
राजनीतिक विश्लेषण गर्ने स्वप्नकारको उद्देश्य छैन । तर, प्रशंग वश आइपरेको राजनैतिक स्थितिको उठान गरिएको मात्र हो, यसले नव/पुर्ननिर्माणको नीति र स्थितिलाई पनि अवश्य प्रभाव पार्ने छ ।
भूकम्पछिको नव/पुर्ननिर्माणका लागि आवश्यक आर्थिक नीतिको बारेमा अघिका लेखहरुमा देखिएका प्रतिकि्रया र शेयरले उत्साहित तुल्याएको छ यस स्वप्नकारलाई । नव/पुनर्निर्माण हेतु आवश्यक आर्थिक स्रोत जुटाउनेतर्फ पहिलेका लेखहरु केन्द्रित रहे । उक्त स्रोतको उचित प्रयोगले मुलुकको आर्थिक अवस्थामा नयाँ रक्तसञ्चार प्रवाह हुन सक्छ ।
यस श्रृंखलामा अहिले व्यापक बहसमा रहेको आवास/पुर्नवास नीति, सो अनुसारको भू-उपयोग नीति र आवश्यक कृषि नीतिका बारेमा केही धारण व्यक्त गर्ने कोशिस गरेको छ स्वप्नकारले ।
१ ग्रामीण आवास /पुर्नवास नीति –
नेपालको ग्रामीण क्षेत्रको परम्परागत बसोवास शैलीमा विकास पुर्‍याउन महंगो भएको सर्वविदितै छ । कुनै निश्चित केन्द्रमा विकास पुर्‍याए पनि त्यसको वरिपरिको क्षेत्र त्यसै रहने अवस्था छ । यस स्वप्नकारले आर्थिक नीति/विकास नीतिसम्वन्धी केही फोरमहरुमा राखेको विचारलाई पुनरुक्ति गर्नु आज पनि सार्न्दभिक लागेको छ ।
हिमाली पहाडी ग्रामीण क्षेत्रलाई शून्य पार्दै लाने हो भने नेपाल-चीन सीमाक्षेत्र नै वस्ती विहीन हुने अवस्था आउन सक्छ
कर्णाली अञ्चलको ठूलो, कठीन भूगोल र अत्यन्त न्यून जनघनत्वलाई सम्वोधन गर्न कस्तो विकास निति ल्याउनु पर्ला भन्ने प्रश्नमा स्वप्नकारको धारणा ८/१० वर्ष अघि प्रकाशित पुस्तक सपनाका गाथाहरुमा पनि सम्प्रेशित थियो । आज पुर्नवासको स्थिति प्रकृतिले कर्णाली प्रदेशमा नभएर पश्चिमाञ्चल र मध्यमाञ्चलका विरल जनघनत्ववाला क्षेत्रमा आइपरेको छ । यसकारण त्यो सोचलाई लागु गर्न सके उचित होला भन्ने अभिप्राय हो स्वप्नकारको ।
केही अगाडि भूकम्प पीडित जनतालाई केही स-सना घर घडेरी दिई मधेस र भित्री मधेसमा पुर्नवास गराउने नीतिको पनि चर्चा भएको थियो । स्वप्नकार त्यसको पक्षमा छैन । यसले जमीनको सानोे टुक्रामा पुर्नवास गराइएकाहरुलाई सदा सदाका लागि गरिवमा परिणत गर्नेछ ।
अर्कातर्फ यसरी हिमाली पहाडी ग्रामीण क्षेत्रलाई शून्य पार्दै लाने हो भने नेपाल-चीन सीमाक्षेत्र नै वस्ती विहीन हुने अवस्था आउन सक्छ । जनता स्वयम नै सीमारक्षक हुन् । यसर्थ त्यस्ता क्षेत्रलाई वस्ती शुन्य बनाउने गरी पुर्नवासको योजना बनाउनुहुँदैन । तर, अब भूकम्प प्रभावित जिल्ला, विशेष गरी हिमाली क्षेत्र छोएका जिल्लाहरुको पुर्नवासका लागि वैज्ञानिक बसोबास भएका जनसंख्या केन्द्रहरु निर्माण गर्नेतर्फ योजना ल्याउनुपर्छ ।
एउटा जनसंख्या केन्द्रबाट वरिपरिको क्षेत्रमा खेतीपाती गर्न सक्ने गरी जनसंख्या केन्द्रको अवस्थिति बनाइनुपर्छ । त्यस्ता केन्द्र बनाउनका लागि सुरक्षित क्षेत्रहरुको पहिचान गरिनुपर्छ । यसरी पुर्नवास गराइएका जनतालाई निजी जमीन मात्र अपर्याप्त भए सरकारी जमीन पनि भोगाधिकारमा दिने नीति राम्रो हुनेछ । अब यस्ता क्षेत्रमा ९६ रोपनीको हदबन्दीको कुनै अर्थ रहन्न ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका अत्यन्त न्युन जनघनत्व र सुदुरवर्ती पातला बस्तीहरुलाई पहिले सम्भाव्य स्थानहरु चयन गरी जनआवादी  क्षेत्र विकास गर्नुपर्छ
भूकम्प प्रभावित क्षेत्र त्यसमा पनि अत्यन्त कठीन भौगोलिक अवस्था र छरिएर बसेको सानो जनसंख्यालाई अर्बौ खर्बौंको योजनामा लगानी गर्दा त्यसको प्रतिफल कस्तो स्वरुपमा कसरी आउँछ भन्ने कुराको भरपर्दो तर्क र तथ्य लिखितरुपमा प्रस्तुत हुनुपर्छ । यसमा पहिले केही नीतिगत आधारहरु तयार गरी तदनुरुपको अवस्था निर्माण गरेपछि मात्र विकासको मोडेल तयार गर्न सकिन्छ ।
यसका निम्ति लिइनुपर्ने पहिलो नीति हो बैज्ञानिक पुर्नवास । भूकम्प प्रभावित क्षेत्रमा रहेका अत्यन्त न्युन जनघनत्व र सुदुरवर्ती पातला बस्तीहरुलाई पहिले सम्भाव्य स्थानहरु चयन गरी जनआवादी  क्षेत्र विकास गर्नुपर्छ । यसो भएपछि  त्यस्ता केन्द्रहरुमा सम्भाव्य विकास निर्माण गर्न सहज हुन्छ ।
व्यापक पुर्नवास भएपछि भूकम्पले प्रभावित रहेका धेरै ठाउँहरु खाली हुनेछन् । ती खाली ठाउँको उपयोग त्यसक्षेत्रको आर्थिक विकासको अर्को मुख्य सवाल हुनेछ । भूकम्प प्रभावित क्षेत्रहरुको भौगोलिक र प्राकृतिक स्रोतहरुको पहिचान गरि चरिचरन जडीबुटी उत्पादन तथा पर्यटन विकास यी तीन उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ ।
जहाँ यातायातको व्यवस्था छैन, त्यहाँ पशुपालनको व्यवसाय रोज्नेहरुलाई शक्तिशाली सञ्चार उपकरण, खच्चर वा पोनीसहित पशुहरु चरनमा लिएर जाने प्रणालीबाट प्रेरित गर्नुपर्छ । पशुजन्य उत्पादनले आर्थिक विकासमा ठूलो टेवा दिनेछ ।
जडीबुटीका लागि पनि कृषक समूहहरुलाई ठुल्ठुला क्षेत्रहरुको भोगाधिकार दिनुपर्छ । त्यहाँबाट उत्पादन हुने जडीबुटी अर्ध प्रशोधित वा कच्चा अवस्थामा ढुवानी गर्दा यातायातको पहुँच नभएका स्थानहरुमा  पशु ढुवानीबाट पनि आवश्यक स्थानमा लाने गर्नु पर्छ ।
भूकम्प प्रभावित क्षेत्रको विकासमा बैज्ञानिक पुर्नवास अपरिहार्य शर्त हो, यातायात पूर्वाधारको विकास गरी सकेसम्म सडकको पहुँच कम बनाई  भूकम्पले छियाछिया भएका क्षेत्रहरुलाई बचाउनुपर्छ
भूकम्पीय जोखिम भएका क्षेत्रहरुको पर्यटन विकासमा पनि पशु सवारी, पैदल यात्रा र केवुल वेको निर्माण गरी केबुल वेमै सीमित राख्न सक्नुपर्छ यसो गर्न सके स्खलनशील पहाडहरु झर्ने क्रम कम भई पहिरो खस्ने जस्ता दैवी प्रकोपबाट केही हदसम्म बचाउन सकिन्छ ।
गामीण सडक निर्माणको क्रममा अहिलेको भूकम्प प्रभावित क्षेत्रमा पनि ठूला, कमला र स्खलनशील पहाडहरुमा अत्यधिक छेडखानी भएको छ । स्वप्नकारको धारणामा यो सकारात्मक बिकास होइन । अति आवश्यक परेको खण्डमा मात्रै सडक निर्माण गर्नुपर्छ अन्यथा विकल्पहरु छन् ।
यी सबै विकासमा सञ्चार सुविधा महत्वपूर्ण हुन्छ । गोठाला पर्यटक र कृषकहरुलाई शक्तिशाली सञ्चार उपकरण उपलब्ध गराउनुपर्छ । यसले प्राकृतिक विपत्तिमा उनीहरुको उद्धार गर्न र उत्पादनको बजार मूल्यका बारेमा उनीहरु सदा सुचित रहन सघाउ पुग्नेछ ।
पुनःश्च भूकम्प प्रभावित क्षेत्रको विकासमा बैज्ञानिक पुर्नवास अपरिहार्य शर्त हो यातायात पूर्वाधारका हकमा केवुल वे, घोडा, खच्चड, भेडा, चौरीको यातायात विकास गरी सकेसम्म सडकको पहुँच कम बनाई पहिरोलगायतका दैवी विपत्तीहरुवाट भूकम्पले छियाछिया भएका क्षेत्रहरुलाई बचाउनुपर्छ भन्ने यो स्वप्नकारको उद्देश्य हो ।
अन्त्यमा, जहाँसम्म अहिलेको राजनीतिक सहमतिको सवाल छ, अन्तराष्ट्रिय उच्च रणनीतिक रस्साकसीमा दिशाहीन देखिएको नेपाली राजनीतिलाई दुई विशाल छिमेकीहरुको पार्श्व दबावमा टेक्टोनिक घर्षणको ताथै ताथै वीच राजनीतिलाई स्थिर बनाउने काम भएको छ  ।
यसले पश्चिमाहरुको नेपाली राजनीतिलाई जहिले तरल बनाएर चीन-भारतवीच आफ्नो नौका राखी रखवाली गर्ने रणनीतिलाई तुरुन्तका लागि अर्धविराम लगाइएको प्रतीत हुन्छ । उप्रान्त पश्चिम बनाम भारत चीन रणनीतिक टक्करले कुन स्वरुप ग्रहण गर्ने हो, प्रतिक्षाको विषय बनेको छ ।
ट्वीटर Dream dweller
- See more at: http://www.onlinekhabar.com/2015/06/287709/#sthash.46NftrhU.dpuf

Thursday, June 11, 2015

Article on Onlinekhabar-debate series 4

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई नेपालमा बोलाऔं

बहस : दातृ समुहको बैठक र नेपालले गर्नुपर्ने काम

२०७२ जेठ २३ गते ९:२८ मा प्रकाशित
 763  19 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको नवनिर्माणको एजेन्डामा बहस र प्रतिवद्धताका लागि यही आषाढ १० गते दातृ समूहको सम्मेलन आयोजना गरिएको कुरा सरकारले सार्वजनिक गरेको छ । यसका लागि समान हैसियतमा भारत र चीनसँगै जापान, अमेरिका, युरोपियन युनियन, एशियाली बिकास बैंक, बिश्व बैंक आदिलाई आमन्त्रण गरिएको छ । नेपालमा नै गर्न लागिएको उक्त सम्मेलनप्रति यो स्वप्नकार अलग धारणा राख्दछ ।
modi-and-hinese-president
केही समय अगाडि एशियाली विकाश बैंकको बाकुमा भएको वाषिर्क साधारणसभामा दातृ समूहको सह-अध्यक्षता र स्थानलाई लिएर गम्भीर बहस भएको थियो । उक्त बहसको रणनीतिक दबाव यति व्यापक थियो कि सहअध्यक्षता गर्ने राष्ट्र र सम्मेलनस्थलका बारेमा तुरुन्त बोल्नु गाह्रो भएको कुरा अर्थमन्त्रीले बताएका थिए ।
अमेरिका, ईयु, जापान भारत र चीन आफ्नै सहअध्यक्षता गर्न तयार रहेको बताइरहेथे र आयोजना स्थलमा पनि त्यस्तै विवाद पर्न गएको थियो । जापान र एडीबीको जोड मनिलामा बैठक हुनुपर्छ भन्ने थियो । पश्चिमाहरु र विश्व बैकको चाहना पेरिस थियो । चीन बेइजिङ वा अर्काे तटस्थ स्थान भनिरहेको थियो भने भारत दिल्लीमा हुनुपर्ने, अन्यथा अर्को तटस्थ स्थान भनिरहेथ्यो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
आखिर नेपाललाई  आपतकालीन सहायता गर्ने र त्यसका लागि बैठक आयोजना गर्ने स्थलका बारेमा यत्रो तर्क वितर्क  र जोडको के अर्थ छ ? पेरिस वा मनिला किन तटस्थ स्थल भएनन् भारत र चीनको नजरमा ? यही हो गम्भीर सवाल । र, यसको विश्लेषणात्मक उत्तर हेतु स्वप्नकारले बारम्बार उठाउँदै आएको प्रशंगको पुनरुक्ति आवश्यक पर्न गयो ।
नेापालमाथिको प्रभाव र भूमिलाई लिएर धेरै पहिलेदेखि पश्चिम वनाम भारतवीच द्वन्द्व भईआएको थियो । खास गरी वीपी कोइरालाको पश्चिमसँगको सामिप्यताले त्यो स्थिति ल्याएको थियो । विगतको दशकमा भारतसँग टकरावमा जानेभन्दा सहकार्य गर्ने रणनीतिमा पश्चिमाहरु पुगे र त्यसलाई भारतको तत्कालीन सत्ताले पनि स्वीकार गर्‍यो । परिणामस्वरुप नेपालमा अनपेक्षित राजनीतिक परिवर्तनसँगै पश्चिमाहरुको भूमिका विस्तारित भयो ।
पश्चिम वनाम चीनको टकरावले नेपालमा भारतको भूमिका पातलिन थाल्यो । वास्तवमा विगतका दशकमा भारतले लिएको नेपाल नीति असफल भयो
नेपालमा भारतको एकल प्रभावमाथि खास चासो नराखिरहेको चीन पनि पश्चिमाहरुको बढ्दै गएको क्रियाकलाप र नेपालको पहाडी क्षेत्रमा बढ्दै गएको सांस्कृतिक अतिक्रमण मार्फत तिब्बत मामिला र सिञ्जियाङ मामिलामा चीनले संकट बढ्दै गएको अनुभव गर्‍यो । परिणामस्वरुप नेपालको संघीय मामिला, सांस्कृतिक अतिक्रमण लगायतका मामिलाहरुमा चीन र पश्चिमी देश टकरावको अवस्थामा देखिए ।
पश्चिम वनाम चीनको टकरावले नेपालमा भारतको भूमिका पातलिन थाल्यो । वास्तवमा विगतका दशकमा भारतले लिएको नेपाल नीति असफल भयो भन्ने विश्लेषण छ यो स्वप्नकारको । तर, भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बन्नासाथ स्थितिमा बदलाव आएको छ । एकातर्फ नेपाल मामिलामा भारत र चीनका समान विचार आइरहेछन् भने  अर्कातर्फ आफु मात्र पर्याप्त नभएर भारतले पश्चिमसँग भन्दा रसिया, जापानलगायत अफगानिस्तान, भियतनामसमेत हिन्द चीनका अन्य राष्ट्रहरुसँग सघन सम्वन्ध बनाई चीनमाथि सामुहिक दबाव दिने र नेपाल मामलामा पश्चिमाहरुलाई अलग राख्ने प्रयत्न गरी चीनसँग समान धारणा राख्ने नयाँ रणनीति /कुटनीतिमा भारत अगाडि बढेको छ ।
अहिलेको यस विपतमार्फत पनि एशियाको ककपिट भनिएको नेपालमा आफ्नो वर्चश्व बढाउन पश्चिमा र जापान एउटा रणनीतिमा रहे भने चीन र भारत त्यसको विपरीतमा । र यही द्वन्द्व मुखरित भयो बाकुमा ।
०४७ सालपछि नेपालको आर्थिक सामाजिक नीतिलाई गलत बाटोमा लगी वर्तमान दुर्गतिमा पुर्‍याउने दोषी पनि यिनै डा. महत नै हुन्
नेपालका लागि त्यो अवस्था अप्ठेरो थियो यद्दपि अप्ठेरो नमान्नुपथ्र्याे । यो अप्ठेरो उत्पन्न भएको थियो नेपालको परराष्ट्र नीतिको आधार सिद्धान्तले । त्यसबाट तुरुन्त उम्कन अर्थमन्त्री डा. रामशरण महतले जे भने र जे गरे, त्यसको प्रशंसा नै गर्दछ यो स्वप्नकार । वर्तमान मन्त्रीमण्डलका सबैभन्दा अनुभवी मन्त्री हुन् उनी । तर, ०४७ सालपछि नेपालको आर्थिक सामाजिक नीतिलाई गलत बाटोमा लगी वर्तमान दुर्गतिमा पुर्‍याउने दोषी पनि यिनै डा. महत नै हुन् । यसमा भने उनलाई आलोचनाबाट उन्मुक्ति दिन सकिँदैन ।
अहिले सरकारले उक्त सम्मेलन नेपालमै गर्ने निर्णय त गर्‍यो । तर, यो बैठकका लागि तय गरिएको कुटनीतिक आधारसँग स्वप्नकार पूर्ण असहमत छ । माथि उल्लेख भएको द्वन्द्व त्यसरी मुखरित हुँदाहुँदै पनि नेपालले त्यस द्वन्द्वबाट आफूलाई मुक्त राखी विकासका लागि अगाडि बढाउने नयाँ सोच लिएर आउन सकेन ।
स्वप्नकारको पहिलेदेखिको स्पष्ट धारणा छ नेपालका लागि भारत र चीनको समान महत्वमा अरु कोही हुन सक्तैन । अतः दातृ समूहका नाममा समान हैसियतमा तेस्रो अरु राष्ट्रहरुलाई सहभागी बनाउने नेपालको कुटनीतिक निर्णय अदुरदर्शी अव्यवहारिक छ ।
नेपालले सबभन्दा पहिले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति दुबैलाई मात्र आमन्त्रण गरेर शिखर बैठकको आयोजना गर्नु पर्थ्यो । त्यो शिखर सम्मेलन नै नेपालका लागि यथेष्ट हुने थियो
नेपालमा भएको विनाशकारी भूकम्मपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण भएको थियो । उनको चिनियाँ राष्ट्रपतिसँगको वार्तामा नेपाल उच्च प्राथमिकताको विषय थियो, जसको कुटनीतिक/रणनीतिक संकेत नेपालले बुझ्नु पथ्र्यो । तर, नेपालले त्यो नबुझेको हो या बुझेर पनि यसै गरिएको हो यकिन भएन ।
अब प्रश्न उठ्छ, नेपालले आखिर के गर्नुपर्थ्यो ? यस प्रश्नको स्पष्ट उत्तर छ स्वप्नकारसँग । नेपालले सबभन्दा पहिले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति दुबैलाई मात्र आमन्त्रण गरेर शिखर बैठकको आयोजना गर्नु पर्थ्यो । त्यो शिखर सम्मेलन नै नेपालका लागि यथेष्ट हुने थियो । त्यसले छिमेकीप्रति हाम्रो विश्वसनीयता दर्बिलो हुने थियो । अन्य दातृराष्ट्र र निकायहरुका लागि कुटनैतिक पहल र मन्त्रीहरुको भ्रमण नै काफी हुने थियो । अझ पनि केही बितेको छैन, असार १० को सम्मेलनपछि पनि यस्तो शिखर बैठकको आयोजना गर्न सकिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/06/285300/#sthash.08lVdhZn.dpuf

Monday, June 1, 2015

भुकम्प पछिको आर्थिक नीतिको बहस शृंखला-३

सरकारले जाँड, बोका र बिँडी बेचेर बस्नुहुँदैन

बहस : अबको अर्थनीति कस्तो हुनुपर्छ ?

२०७२ जेठ १७ गते ११:३६ मा प्रकाशित
 704  14 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको पुनर्निर्माणका लागि जसरी मौद्रिक नीतिमा नयाँ सोच र परिवर्तन जरुरी छ, त्यसरी नै राज्य आफैंले ऋण, कर र अनुदान बाहेकका आफ्ना अरु स्रोतहरुलाई कसरी परिचालन गर्ने भन्ने सोच पनि जरुरी छ । यसको अर्थ हो, राज्यले आफ्नो स्वामित्वमा रहेका बोझिला सम्पतिहरुको उचित प्रयोग गर्नु ।
अरुण सुवेदी
अरुण सुवेदी
त्यस्ता सम्पतिमा पर्छन् धेरै सार्वजनिक प्रतिष्ठानहरु । रुग्ण र भ्रस्ट अवस्थामा रहेका सार्वजनिक  प्रतिष्ठानहरु अब सरकारी स्वामित्वमा राखिराख्न जरुरी छैन ।
एक्काइशौं शताब्दीको प्रजातान्त्रिक सरकारले बग्गीखानामा जाँड बेचिराखेको छ, उदयपुर/हेटौडामा सिमेन्ट र जनकपुरमा बिँडी । यो भन्दा हास्यास्पद के हुन सक्छ ?
सार्वजनिक प्रतिष्ठानहरु सरकारले चलाइराख्नु आधुनिक अर्थतन्त्रको मर्म विपरीत छ नै, त्यो सभ्य र प्रजातान्त्रिक सरकारको नैतिकता विपरीत पनि छ । सरकार जोसँग कर उठाउँछ, त्यसैसँग प्रतिस्पर्धी पनि बन्नु पूरापूर अनैतिक कार्य हो । यसकारण यस स्वप्नकारको स्पष्ठ धारणा रहिआएको छ कि कानुनहरु तुरुन्त परिमार्जन गरी उदयपुर सिमेन्टदेखि वाणिज्य बैंकसम्म निजीकरण हुनुपर्छ ।
टेलिकम अरु बढी विनिवेषमा जानुपर्छ, सबै विनिवेष गरे पनि फरक पर्दैन । विद्युत प्राधिकरणका हरेक परियोजना कम्पनी बनाई निजीकरण गरिनुपर्छ । आवश्यकता अनुसार वितरण क्षेत्र पनि निजीकरण गरिनुपर्छ ।
सरकार अहिले पनि जाँड, बोका र बिँडी बेचेर बसेको छ । वृद्ध अवस्थाको सुरक्षा गैरसरकारी संस्थाहरुको जिम्मा नै भएजस्तो छ
वर्तमान विद्युत प्राधिकरणलाई राष्ट्रिय प्रसारण निगम वा कम्पनीमा मात्र सीमित राखिनुपर्छ । वायुसेवा निगमका शेयर निजीक्षेत्रलाई बेचे हुन्छ । एउटा आपतकालीन आपूर्ति र कृषि उपज (नसड्ने) को क्रय प्रत्याभूति दिने संस्थान बाहेक सरकारले व्यापार गरी बस्नुपर्ने आवश्यकता छैन । सके स्वदेशी, नत्र विदेशी आएर पनि बोल कबोल गर्लान् ।
यसबाट सरकारलाई ठूलो रकम प्राप्त हुनेछ, जसलाई नयाँ विकास परियोजनाहरुमा लगानी गर्ने र विकासको नयाँ अध्याय सुरु गर्ने अवसर मिल्नेछ ।
‘कन्फ्युज्ड’ अर्थमन्त्री  
तर, यसका लागि सबैभन्दा अडचन हो, वर्तमान अर्थमन्त्रीको कार्य चिन्तन । उहाँप्रति मेरो कुनै व्यक्तिगत कुरा छैन । तर, मेरो विश्लेषण छ, उहाँ नेपालको अर्थनीतिको स्पष्ट गन्तव्यको खाका कोर्न ‘कन्फ्युज्ड’ व्यक्ति हुनुहुन्छ ।
ramsaran mahat
वर्तमान अर्थमन्त्री ०४७ सालपछि नेपालको अर्थनीतिको अभियन्ता हुने अनवरत अवसर प्राप्त गरेका व्यक्ति हुन् । आफूलाई नेपालमा उदार अर्थ व्यवस्थाको सुत्राधार माने पनि कुन क्षेत्रमा उदार नीति र कुन क्षेत्रमा सरकारको सक्रियता अपरिहार्य भन्ने कुरामा उहाँ र उहाँको टिम स्पष्ट नहुँदा आज सरकारको प्रत्याभुति हुनुपर्ने शिक्षा र स्वास्थ्य क्षेत्र मुनाफामूलक लगानीको क्षेत्रमा रुपान्तरित भए । तर, सरकार अहिले पनि जाँड, बोका र बिँडी बेचेर बसेको छ । वृद्ध अवस्थाको सुरक्षा गैरसरकारी संस्थाहरुको जिम्मा नै भएजस्तो छ ।
यस स्वप्नकारले यो कुराको पुनरुक्ति धेरै नै गरेको छ । आज पनि अर्थमन्त्री र उहाँको सहकर्मीहरुको सोच कार्यशैली र बीच बीचमा आएका विचारहरुलाई विश्लेषण गर्दा सार्वजनिक प्रतिष्ठानलाई एकै पटक निजीकरण गरेर ठूलो धनराशी उठाउन राज्य अग्रसर हुन्छ भन्ने मलाई लाग्दैन । उहाँहरु त्यस्तो गन्तव्यमा जानु हुन्छ कि हुन्न भन्ने कुरामा अहिले पनि ‘कन्फ्युज्ड’ नै हुनुहुन्छ । ‘कन्फ्युज्ड’ अभियन्ताहरुको नेतृत्वमा सामान्य अवस्थाको अर्थतन्त्र त घुमाउनेको पानीझै घुमिरहेकै हुन्छ भने यस्तो संकटकालमा कसरी अगाडि बढ्ला ? गम्भीर प्रश्न उठेको छ ।
यहाँ भनिए अनुसार अगाडि बढ्ने हो भने सरकारलाई लगानीका लागि ठूलो रकम प्राप्त हुनेछ । जुन रकम ठुल्ठुला जलाशययुक्त विद्युत परियोजना, रेल परियोजनाहरुको स्वपुँजीका रुपमा लगानी गर्न सकिन्छ, जसले विकास मार्फत रोजगारी र कारोबारको अवसर प्रदान गरी अर्थतन्त्रलाई चलायमान गराउन सक्नेछ ।
- See more at: http://www.onlinekhabar.com/2015/05/283218/#sthash.p9Xay1EB.dpuf

Saturday, May 30, 2015

भुकम्प पछीको अर्थनिति,बहस्-१

बहस : भूकम्पपछि कस्तो मौद्रिक नीति अपनाउने ?

२०७२ जेठ १५ गते १२:१५ मा प्रकाशित
 3393  41 
  4
अरुणकुमार सुवेदी
नेपालले ०७२ वैसाख १२ गते विनाशकारी भूकम्पको सामना गर्नुपर्‍यो । त्यसका ३ वटा पराकम्पनसहितले गोरखादेखि रामेछाम- ओखलढुंगासम्मका पहाडी क्षेत्रका साथै काठमाण्डौ र काभ्रे उपत्यकाले ठूलो विनाशलीलाको सामना गर्नुपर्‍यो । सांस्कृतिक धार्मिक ऐतिहासिक धरोहरदेखि लिएर व्यक्तिगत सरकारी सम्पतिको क्षति त भयो नै लगभग ९ हजार मानिसहरुले जीवनसमेत गुमाए । हजारौं घाइते भए ।
नेपालको कमजोर राजनैतिक  संस्थापना, स्थायी द्वन्द्वरत राजनैतिक वातावरण र सरकारको कमसल साखका वीच राहत र उद्धारमा नेपालले सोचेअनुसार नभए पनि प्रचार गरिएजस्तो नराम्रो पनि रहेन ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
भूकम्पको समष्टिगत थितिलाई मूल्याङकन गर्दा यस स्वप्नकारको विश्लेषण छ- विज्ञहरुले चेतावनी दिएको अनुपातमा सहरी क्षेत्रमा धनजनको क्षति कम भयो र राहत /उद्धारमा अपेक्षाभन्दा सरकारले राम्रै काम गर्‍यो । अब तुरुन्तको राहत र उद्धारको अवस्था लगभग सकिएको छ र पुनर्निर्माण एवं नवनिर्माणको अध्याय सुरु भएको छ ।
यसकारण नव निर्माण र पुनर्निर्माणको कार्ययोजना शुरु हुनुपूर्व नीति तथा योजनामा सघन बहस जरुरी छ भन्ने मेरो राय छ । सोही बहसका लागि यो लेख लेख्ने प्रयत्न गरेको छु :
वर्तमान संकटलाई सम्वोधन गर्नका लागि कस्तो आर्थिक नीति आवश्यक पर्छ ? यो प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण छ । यसका लागि निकट समयमा आउँदै गरेको मौदि्रक नीति, सरकारको नीति तथा कार्यक्रम र बजेटको दुरगामी महत्व हुनेछ । यी  तीनवटै विषयमा केन्दि्रत रही केही नीतिगत र कार्य चिन्तनमा आमूल परिवर्तन हुनुपर्ने निक्र्यौलका लागि तर्क र तथ्यगत विश्लेषणको खाँचो छ । भूकम्पीय विपतले जुन आर्थिक मन्दी लिएर आउँदैछ, त्यसलाई सम्वोधन गर्न मौदि्रक नीतिमा अलग सोच आवश्यक छ ।
नेपाल सरकारको आर्थिक नीति/मौद्रिक नीतिको नेतृत्वदायी भूमिकामा रहेका अर्थमन्त्री रामशरण महतको अतीतलाई नियाल्दा उहाँबाट त्यस्तो अपेक्षा गर्न सक्ने स्थिति कमै देखिन्छ ।
Ramsaran-Chiranjivi-nepal
राष्ट्र बैंकको वर्तमान नेतृत्वको कार्य-चिन्तन पनि अर्थमन्त्रीभन्दा अलग रही अर्थमन्त्रीको सोच र कार्य चिन्तनलाई नै परिवर्तन गर्न सक्ने औकातको छैन । बरु अर्थमन्त्रीको  आदेश पालनको स्थितिमा देखिन्छ ।
यसकारण भोलि यस विपतलाई सम्वोधन गर्ने भनी जारी गरिने मौद्रिक नीतिले नेपालको पूर्वाधार क्षेत्र र उत्पादनशील क्षेत्रमा कतै तहस-नहस त पार्दैन  ? यस विषयमा ठूलो भय छ यो स्वप्नकारलाई । वर्तमान अर्थमन्त्री र गर्भनरको कार्य-चिन्तन र अतीतलाई नियाल्दा नेपाली मुद्राको अवमूल्यन गरिने सम्भावना अत्यन्त ठूलो छ ।
भूकम्पको निहुँमा बढी प्रचार र वास्तविकता
भूकम्पीय विपतको निहुँ पारेर आर्थिक संकटमा नाममा नेपाली अर्थव्यवस्था जति कमजोर भएको छ, त्योभन्दा प्रचार ठूलो हुनेछ । र, त्यो अवस्थालाई निराकरण गर्न वैकल्पिक बाटाहरु अवलम्वन गरिने छैन र नेपाली मुद्राको अवमूल्यनको उपाय अवलम्वन गरी राजस्व बढाउने कोशिस गरिने सम्भावना छ ।
यदि यस्तो उपाय अवलम्वन गरिएमा त्योभन्दा ठूलो आत्मघाती कदम केही हुने छैन । राष्ट्रको ऋण स्थानीय मुद्रामा झन बढ्नेछ । महंगी आकासिने छ । जनताको दैनन्दिनी धान्नै नसकिने हुनेछ । परिवत्र्य विदेशी मुद्राको उपयोग गर्नुपर्ने पूर्वाधार विकास आयोजनाको लागत हवात्तै बढ्नेछ । कर्पोरेट तहबाट प्रवर्तित त्यस्ता आयोजनाका वित्तीय सूचकहरु नकारात्मक हुनेछन् । सम्भाव्यता नकारात्मक हुनेछ । परिणामस्वरुप ठूलो मात्रामा स्थानीय लगानी जोखिममा पर्ने स्पष्ट छ ।
नेपालको विदेशी मुद्राका स्रोतहरु मध्ये विप्रेषणमा खासै ठूलो नकारात्मक असर नपरे पनि पर्यटनमा ठूलै असर परेको छ । तर, पुनर्निर्माण र नवनिर्माण हेतु केही आएको पनि छ ।
निर्यात क्षेत्र खासै ठूलो नभएको र तुरुन्त बढाउन पनि सक्ने अवस्था नरहेकाले सरकारले बैकल्पिक मार्गहरु सोच्नैपर्छ ।
उपायहरु धेरै हुन सक्छन्, यो स्वप्नकार त्यसको शुक्ष्म विशेषज्ञ हैन, तर, आजसम्मको अनुभव र सामान्य चेतका आधारमा तुरुन्त अवलम्वन गर्नुपर्ने नीतिगत परिवर्तनको उपाय सम्प्रेशण गर्न चाहन्छु ।
नवनिर्माणका क्रममा भूकम्पीय विनासका कारणले गर्नुपर्ने सामाजिक-आर्थिक लगानीलाई निकै सानो अंश हुनेगरी ठूलो विकास लगानीको नीति लिएर सरकार आउनुपर्छ ।
बजारमा संकुचन सुरु भइसकेको छ । कर संकलन घटिसक्यो भनेपछि बजारमा आर्थिक क्रियाकलाप होस् र उत्पादनशील क्षेत्रले गति लेओस भनेर शिघ्र नयाँ कर्जा नीति आउनुपर्दथ्यो । यस्तो असमान्य अवस्था हुँदा पनि राष्ट्र बैंकले यसतर्फ ध्यान पुर्‍याएको देखिँदैन
सरकार वा सरकारका प्रतिष्ठानहरुले क्रय प्रत्याभुति दिएका वा आयमा प्रत्यक्ष नियन्त्रण गर्न सक्ने प्रकारका ठूल्ठूला परियोजनाहरुलाई निजी वा कर्पोरेट वा सार्वजनिक-निजी साझेदारीमा तुरुन्त अगाडि बढाई त्यसलाई आवश्यक पर्ने कर्जा रकम बाह्य स्रोतहरुवाट लिन सक्नुपर्छ, जसका लागि राज्यले जमानतसमेत बस्नुपर्छ ।
यसका लागि कुनै पनि कर्पोरेट लगानीमा राज्यले जमानत दिँदै नदिने बर्तमान नीति परिर्वतन गर्नै पर्दछ । वर्तमान राजनीतिक नेतृत्वको इमान र साख कमजोर भएको अवस्थामा यस्ता नीतिहरुको दुरुपयोग हुन सक्ने कुरामा स्वभाविक शंका लाग्न सक्छ । यसका लागि क्षेत्र निर्धारण गर्न सकिन्छ । यसमा नियन्त्रणका लागि सार्वभौम संसद पनि छँदैछ ।
अन्य निकाय पनि छँदैछन् । यो कुरालाई अझ बोधगम्य बनाउन उदाहरणहरु नै उल्लेख गर्नु असल होला :
ठूला आयोजना नरोकौं
अध्ययन गरिसकिएका ठूला जलविद्युत आयोजनाहरु, जस्तो-अरुण ३, उपल्लो कर्णाली, तामाकोशी-३, पश्चिम सेती बुढी गण्डकी, नलसिंह गाढ, नौमुरे आदि छन् । तुरुन्त अध्ययन गरी अध्ययन र निर्माणलाई अंश /अंशमा समानान्तर लान सकिने परियोजनालाई पनि सरकारले अगाडि बडाउन सक्दछ, जस्तो-वीरगञ्ज-काठमाडौ रेल र काठमान्डौको मेट्रो रेल ।
त्यसैगरी नेपाल-भारत द्वीपक्षीय हितमा  एवं द्वीपक्षीय सन्धिका आधारमा अगाडि बढाउन सकिने अति ठूला परियोजनाहरुलाई पनि अध्यनकालीन लगानीको परियोजना सुरु नै गर्न सकिन्छ । जस्तो- कोशी उच्च बाँधमाथि अध्ययनकालीन लगानी तुरुन्त आउन सक्छ भने कणर्ाली-चिसापानी र पञ्चेश्वर तुरुन्त सुरु गर्न सकिन्छ ।
अहिलेको परिप्रेक्षमा यी कुरा अत्यन्त ठूला सपना लाग्न सक्छन् । तर यो सोच राजनैतिक नेतृत्वसँग यस्ता सपनाको फम्र्याट नै नभएर उत्पन्न भएको हो ।
जब हाम्रा दुईतिर यत्रा ठूला स्रोत राष्ट्रहरु छन् भने त्यस्ता ठूला परियोजना हामीले गर्न नसक्ने कुरै आउन्न । यस्ता ठूला परियोजनाहरुमा लगानी जुट्नु भनेको पुनर्निर्माण र नवनिर्माणको लगानीले अर्थतन्त्रमा पार्ने प्रभावका सामु त्यो धेरै सानो हुनेछ ।
कर्जा नीति कस्तो बनाउने ?
अर्को अत्यन्त महत्वपूर्ण विषय हो, कर्जा नीति । नेपाल संसारकै अनुदार, अव्यवहारिक, संकीर्ण र कठोर कर्जा नीति भएको राष्ट्रमध्ये पर्दछ । पुनः नवनिर्माणका लागि तथा आपतकालीन दायित्वका लागि सरकार बढी आन्तरिक ऋण लिन बाध्य भएको छ ।
यसले गर्दा कर्जाको माग र आपूर्तिको सन्तुलन बिग्रन सक्छ र यही कठोर कर्जा नीति अरु कठोर कर्जा बन्न सक्छ । यसको सम्भावना ठूलो देखिन्छ । यस्तो अवस्था आउन नदिन मात्र हैन, वर्तमान कर्जा नीतिलाई नै उदार बनाई कर्जाको उपभोग बढाउनु अपरिहार्य छ ।
धितोपत्र बजार सन्तुलित रहोस् भनी सरकारी नियन्त्रणका वित्तीय संस्थाहरुले लगानी गरी साना लगानीकर्तालाई मूल्य अवरोहबाट मार्का नपरोस् भनी जुन नीति अवलम्वन गरियो, त्यो त्यस्तै कर्जा नीतिमा पनि असल परिवर्तनको जरुरी छ ।
बजारमा संकुचन सुरु भइसकेको छ । कर संकलन घटिसक्यो भनेपछि बजारमा आर्थिक क्रियाकलाप होस् र उत्पादनशील क्षेत्रले गति लेओस भनेर शिघ्र नयाँ कर्जा नीति आउनुपर्दथ्यो । यस्तो असमान्य अवस्था हुँदा पनि राष्ट्र बैंकले यसतर्फ ध्यान पुर्‍याएको देखिँदैन ।
- See more at: http://www.onlinekhabar.com/2015/05/282622/#sthash.LiYee1x7.dpuf

Thursday, May 28, 2015

8 barsh agi prakashit pustak ko euta khanda ko kehi ansh

काठमाडौंमा दलालको प्लटिङ : बालसन्ततिको छातीमा छुरा

'भिल्लका हातको मणिजस्तै भयो अलकापुरी'

२०७२ जेठ ९ गते १६:०८ मा प्रकाशित
 1664  68 
  1
अरुणकुमार सुवेदी
विसं. ०४६ सालको जनआन्दोलनपश्चातको प्रथम निर्वाचित सरकारमा आवास तथा भौतिक योजनामन्त्री थिए नेपाली कांग्रेसका वरिष्ठ नेता बलबहादुर राई । स्थानीय निर्वाचन पनि भइसकेको थियो । काठमाडौंका नगरप्रमुख थिए पीएल सिंह र उपप्रमुख नवीन्द्रराज जोशी ।
Arunkumar subediकाठमाडौं तीव्रतर वृद्धिको दिशामा लागिसकेको थियो । चक्रपथ बाहिरसमेत बीच-बीचमा चारआने, पाँचआने घर देखा पर्न थालिसकेका थिए । त्यसले एक कुरुप काठमाडौंको संकेत गर्न थालिसकेको थियो । योजनाकारहरुसँग काठमाडौं कस्तो बनाउने भन्ने योजना नै नभएकाले यस विषयमा ध्यान गएको थिएन ।
सबै भूमिसुधारका कुरा गरिरहन्थे । तर, मोरङ, झापा, सुनसरी, नवलपरासी, चितवनजस्ता उर्वर भूमिमा जथाभावी जनघनत्व बढिरहेको थियो । मानो मुरी फल्ने खेतहरु सिमेन्ट र कङक्रिटका भीडमा दबिइरहेका थिए । यसले सम्पूर्ण भूमिको १७ प्रतिशतमात्र उर्वर र बसोवासयोग्य भूमि भएको नेपालको कठोर भाविष्यप्रति संकेत गरिरहेको थियो ।
यसलाई कसरी जनसंख्या, कृषि र पर्यावरणको सन्तुलित व्यवस्थापन हुन सक्छ ? त्यसउपर कस्तो नीति हुन्छ र त्यस नीतिले ल्याएको वातावरणलाई आफ्नो व्यापारिक चाख र कमाइका लागि आम लगानीकर्ताले उपयोग गर्न सक्छ, सक्तैन भन्ने लगायतका विषयमा यो स्वप्नकारले यी सबैलाई जोडेर एउटा इन्जिनियरिङ तयार गरेको थियो ।
यसका लागि काठमाडौंलाई उपयुक्त उदाहरणका रुपमा लिन उचित हुनेछ । काठमाडौंको सम्भावित विजोगपूर्ण विकासको हेक्का यो स्वप्नकारलाई त्यस बखत नै भएको थियो । त्यसबाट व्यापारिक लाभको पनि राम्रो आकर्षणले सायद बढी उत्प्रेरित पनि गरेको थियो ।
केही ‘इन्जिनियर’ तथा ‘प्लानर’ साथीहरुको टोलीले एउटा प्रस्ताव तयार पारेको थियो । जसमा केही नीतिगत आधारहरुलाई कानूनी स्वरुप दिई ऐन कानूनको व्यवस्था गर्नुपर्ने थियो ।
१) उपत्यकाको भू-उपयोग नीति निर्माण गरी व्यापारिक, सांस्कृतिक (हेरिटेज), आवासीय, कृषि इत्यादि भूमिको वर्गीकरणको नीति र नियम बनाउने ।
२) उक्त नीतिका आधारमा एकीकृत नक्सा प्रणाली लागू गरी उपत्यकाभरिको एउटै नगर विकास प्राधिकरण गठन गर्ने ।
३) बसोबास प्रयोजनका लागि ‘एक परिवार एक मात्र घर’ को नीति लिने, सोभन्दा माथि भएमा उच्च कर लगाउने र व्यापारिक क्षेत्रको घरमा क्षेत्रफलका आधारमा कर लगाउने । आवासीय घरलाई व्यापारिक प्रयोग गर्न नदिने ।
४) निर्माण क्षेत्रबाहेक कृषिभूमिमा घर इत्यादि निर्माण गर्न नदिने । उक्त भूमि कृषिका लागि मात्र प्रयोग गर्नुपर्ने । कृषिभूमि घोषित गरी भूमि मालिकले कृषि प्रयोजनमा नल्याई ६ महिनाभन्दा बढी बाँझो राखेमा त्यसलाई दण्डनीय मान्ने ।
५) बसोवास क्षेत्रको अधिकतम उपयोग गर्न संयुक्त आवास (एर्पाटमेन्ट) को नीति लिने, जसलाई कम्तिमा ५० प्रतिशतभन्दा कम जमीन (घडेरी) प्रयोग गरी एक वर्गफिट जमीन पाँच वर्गफिट निर्माण गर्न पाउने नीति लागु गर्ने । सोभन्दा कमको मापदण्डमा सरकारले वैज्ञानिक आवास क्षेत्र घोषणा गरेको ठाउँमा एकल घर (बंगला) बनाएमा त्यसलाई उच्च कर लगाउने ।
काठमाडौंको अहिलेको घर घडेरी व्यवस्थापन प्रणाली पृथ्वीमाथिको चरम ज्यादती हो, आफ्नै सन्ततिको अन्नहरण हो
६) कसैले आवासीय क्षेत्रको जग्गा (पैतृक वा नीति लागू हुनुअघि खरिद गरिएको) बेच्नु परेमा नगर विकास प्राधिकरणलाई मात्र बेच्न पाउने व्यवस्था गर्ने ।
बंगला प्रयोजनका लागि कसैले त्यस्तो जग्गा खरिद गरेमा एक निश्चित समयभित्र निर्माण नगरेमा उक्त जग्गा फेरि प्राधिकरणले लिलाम गरी आफ्नो सेवाशुल्क कटाई बाँकी रकम उक्त व्यक्तिका नाममा जम्मा गरिदिन पाउने नियम बनाउने ।
७) एउटा ‘एकल घर’ बनाइसकेको व्यक्तिले अर्को घर-घडेरी खरिद गर्न नपाउने तर विल्डर्सहरुले भने खरिद गर्न पाउने र बेचबिखन गरी सरकारलाई कर तिर्नुपर्ने व्यवस्था गर्ने ।
८) घडेरी जग्गाको विक्रेता नगर विकास प्राधिकरण मात्र हुन पाउने व्यवस्था गर्ने ।
यो नीति लागू गरी नागरिक प्रयोजन (सिभिल युटिलिटिज्), पर्यावरणीय संरक्षण, यातायात इत्यादिको विकास गरी काठमाडौं र अन्य नगर क्षेत्रमा आधुनिक विकास गर्न सकिन्छ ।
यसर्थ यी सबै कुरा समावेश गरिएको एउटा रिपोर्ट तयार गरी काठमाडौंका उपप्रमुख नवीन्द्रराज जोशी र मन्त्री बलबहादुर राईलाई एक-एक प्रति दिई यसको महत्व बुझाउन मन्त्रीसँग एउटा बैठकको समय पनि व्यवस्था भयो ।
यसलाई उच्च प्राथमिकता दिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार जयप्रकाशप्रसाद गुप्ता (जेपी आनन्द) लाई पनि लविङ गरियो । यस सम्बन्धमा नवीन्द्रराज जोशीसँग एकपटक भन्दा बढी भेट भएन । उनले तिवारी थरका एकजना इन्जिनियरसहितको मिटिङ गर्नुपर्छ भन्ने रायका साथ उक्त नीतिगत रिपोर्टको प्रशंसा गरे । तर, छलफलका लागि फेरि कहिल्यै कुरा उठाएनन् ।
मन्त्री बलबहादुर राईसँगको भेटमा भने स्थिति निकै अचम्मको भयो । नीति र योजनाको हकमा सम्वेदनशील विषय लिएर हामी आवास तथा भौतिक योजनामन्त्री बलबहादुर राईको निवास पुगेका थियौं । उनले समय ठीकै दिए । धैर्यका साथ हाम्रा कुरा पनि सुने । तर, उनको टिप्पणी अचम्मको थियो- ‘हाम्रो समाजमा यो सम्भव छैन, एउटै छतमुनि सबै जातिको मान्छेको घर कसरी सम्भव हुन्छ ? भन्या जति सम्पत्ति राख्न कसरी नदिने ? हाम्रो परम्परा नै घरजग्गालाई सम्पत्ति मान्ने हो ।’
उनको यस्तो जवाफले यो स्वप्नकार हदप्रभ भयो । अब उनलाई यस्ता गतिशील सपनाका बारेमा बुझाउने शब्द र समय बाँकी थिएन । उनीसँगको भेटले के कुरा इंगित गर्‍यो भने यो नीति र नियमका लागि कांग्रेसको अरु कुनै प्रभावशाली नेतृत्वबाट कुरा उठाउन गरिनुपर्छ ।
९० परिवारलाई चार आनाका दरले घडेरी वितरण गर्ने हो भने बाटोसहित २५ रोपनी जग्गा लाग्छ । बहुतले घरबाट २० रोपनी जग्गाको दुरुपयोग रोकी धानखेत बाँकी राख्न सकिन्छ
तर, तत्कालीन सत्ता सञ्चालक अर्थात नेपाली कांग्रेसमा अर्को संस्कृतिको सुरुवात भइसकेको थियो । सरकारमा गएका र नगएका पनि प्रभावशाली नेता तथा कार्यकर्ताहरु कुरा मिलाउने सुब्बामा परिणत भइसकेका थिए ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सातजना मन्त्रीलाई विनासूचना हटाई नयाँ नियुक्ति गरेपछि असन्तुष्टि र असुरक्षाको वातावरण सुरु भएको थियो । यसर्थ शक्तिमा पहुँच हुँदै भविश्यका लागि साम, दाम, दण्ड, भेद सबै प्रकारका कर्म/कुकर्म गरेर भए पनि यथेष्ट परिग्रह गर्नुपर्छ भन्नेहरुकै पकडमा पार्टी र सरकार पर्दै गइरहेको थियो । यो संस्कृतिमा नीतिका गीत गाउन कोही तयार देखिँदैन्थ्यो । यसकारण केही द्वारहरु भट्किएपछि यो क्रम रोक्नु नै उचित लाग्यो ।
पछि बालाराम घर्तीमगर आवास तथा भौतिक योजनामन्त्री हुँदा एर्पाटमेन्टको कानून त आयो तर आज पनि काठमाडौंको हविगत झन्झन् स्खलित हुँदै गएको छ ।
अहिले चक्रपथ बाहिर एक वर्गफिट घडेरीमा साढे तीन वर्ग फिटसम्म निर्माण गर्न पाउने कानून छ जसले उपलब्ध घडेरीको २९ प्रतिशत क्षेत्रफलमै लक्षित परिवार संख्यालाई आवास उपलब्ध गराउन सकिन्छ ।
तर, यतिबेला नगर योजना २ आनाका घडेरी बेचिरहेछ । उदाहरणस्वरुप, एउटा पाँच रोपनी क्षेत्रफलको घडेरी लिने हो भने त्यसमा ९६ हजार वर्गफिटको बहुतले घर बनाउन सकिन्छ । यसले लगभग ९० परिवारलाई सम्पूर्ण सुविधायुक्त आवास उपलब्ध हुन्छ ।
यदि ९० परिवारलाई चार आनाका दरले घडेरी वितरण गर्ने हो भने बाटोसहित २५ रोपनी जग्गा लाग्छ । त्यसका थप सुविधा केही हुँदैन । यहाँ बहुतले घरबाट बीस रोपनी जग्गाको दुरुपयोग रोकी भविष्यका पीँढीलाई धानखेत बाँकी राख्न सकिन्छ ।
तत्कालीनरुपमा पनि जमिन लगानीको आकर्षण क्षेत्र बनिसकेको थियो । सत्तावृत्तका मानिसहरु किसानसँग सस्तो जमिन किनेर आफ्नो प्रभाव प्रयोग गरी सरकारी स्रोतसाधनसमेतका माध्यमबाट बाटो खुलाएर प्लटिङ गरी बेच्न थालिसकेका थिए । यस्ता माफियाहरु प्रगतिशील नीतिका विरुद्धमा थिए । सरकार र पार्टी तिनै माफियाको नियन्त्रणमा थिए । नयाँ नेपालसम्म आइपुग्दासम्म पनि यसको क्रमभंग हुनसकेको छैन, यो जगजाहेर नै छ ।
अहिले काठमाडौंमा लगभग ३० लाख घर घडेरीका लागि कित्ताकाट गरिएको छ । नेपालभरिका शहरी क्षेत्रको गणना गर्ने हो भने यो आँकडा एक करोडको हाराहारीमा पुग्छ । एक करोड घडेरीमा पाँच करोड जनसंख्या अट्छ, जो नेपालको जनसंख्या तीन करोडभन्दा माथि मात्र छ । ग्रामीण क्षेत्रमा कति जनता छन्, सबैलाई ज्ञातै छ । आखिर यो मात्रामा घर-घडेरीको उत्पादन शून्य कारोबार केवल दलाली र व्यापारका लागि भइरहेछ ।
यो क्रम रोकेर पूर्वाधारविकास र उत्पादनशील क्षेत्रमा लगानी प्रवाहित गरिनुपर्छ । काठमाडौंको अहिलेको घर घडेरी व्यवस्थापन प्रणाली पृथ्वीमाथिको चरम ज्यादती हो, आफ्नै सन्ततिको अन्नहरण हो । आफ्नो पैसा कमाउने सुरमा हामी आफनै सन्तानलाई भोकै मार्न उद्यत भएका छौं ।
काठमाडौंको उर्वर खेतका गह्राहरुमा दलालले पारेका प्लटिङका चिराहरु देख्दा मलाई आफ्नै बालसन्ततिको छातीमा छुरा चलाएजस्तो लाग्छ ।
एक त्यान्द्रो बिउ रोप्दा एक गाँज धान हुने काठमाडौंको उर्वरभूमि सकिन लाग्यो । तराई पनि सकिने क्रममा छ । अब भविष्यका पीँढीलाई कमसेकम भूमि त छाडौं । यो सबै सरोकारवाला पक्षहरुसँग रोदन र क्रन्दन पनि हो ।
सार्वजनिक प्रतिष्ठानहरुको अनावश्यक दायित्व लिएर सरकार बसेको छ । तर, आवासजस्तो अत्यावश्यक क्षेत्रमा सार्वजनिक प्रतिष्ठान गठन गर्नेतर्फ सोचसम्म बनेको छैन
सानो कुरा, ठूलो अर्थ
काठमाडौं नेपालको सबैभन्दा ठूलो जनसंख्या केन्द्र हो । यहाँको विरुप प्रणालीमध्ये साह्रै खट्किने एक हो-मासु प्रणाली । चोक चोकमा भाग लगाएर मासु बेच्ने र रिक्सावालाले राँगा र बङ्गुरको मासु तानेको दृश्य मासु उपभोक्ता र निरामिस कसैलाई पनि अवश्यमेव मनपर्ने होइन । क्वारेण्टाइनको त कुरै छाडौं, खाने सामग्रीको रुपमा देख्नसम्म सकिने गरी व्यवस्थापन पनि भएको हुँदैन मासुमा ।
कम्तिमा उपत्यकाको पायक पर्ने ठाउँमा वधशाला विकास गरी स्वस्थ्य पशुको मासु उपयुक्त किसिमको प्याकिङ गरी फ्रेसहाउस तथा ग्रोसरीहरुमा किन्न पाइने अवस्था निर्माण गर्न सकिन्छ, पहिले नै पनि सकिन्थ्यो । यस्तो सामान्य कुराको पनि व्यवस्थापन नहुनु लाजमर्दो हो ।
काठमाडौंको अर्को उराठलाग्दो समस्या हो- यसका नदी किनाराको सुकुम्बासी बस्ती । यही क्रम निरन्तर रहने हो भने उपत्यकाका सबै नदीका कोरिडर केही वर्षभित्रै सुकुम्बासीका झुङ्गी झोपडीले भरिनेछन् । स्थिति यहाँसम्म भएको छ- भारतको आन्ध्र प्रदेशका नागरिकहरुसमेत त्यहाँ झोपडी बनाएर बसेका छन् । पुरुषहरु दिनभर तान्त्रिक र ज्योतिष भएर टुँडिखेल वरिपरि बस्छन् र घरघर चाहार्छन्, महिला र केटाकेटी मगन्ते बनेर हिँड्छन् ।
नेपालीहरुको हकमा बाहिरका जिल्लामा वा काठमाडौंमै तिनीहरुको थातवास भएर पनि अतिक्रमण गरी बसेका छन् वा सही सुकुम्बासी हुन् ? कसैलाई थाहा छैन । यसउपर पनि एउटा स्वप्नील योजना छ ।
कुरा राष्ट्रिय नीतिमा नै ठोकिन्छ । हरेक नागरिकलाई नागरिकता दिने सरकारले तिनीहरुको सम्पत्ति र अन्य व्यक्तिगत विवरणचाँही एकीकृतरुपले राखेन । राखेको भए नागरिकता मिलान गर्दै उक्त व्यक्तिको घरजग्गा राज्यको अन्य भागमा भएनभएको पत्ता लगाउन सकिन्थ्यो/सकिन्छ । यसका लागि सबै मालपोत कार्यालयहरुलाई एकीकृत अभिलेखमा राखे पुगिहाल्छ । त्यसबाट छान्दा पनि कोही सुकुम्बासी नै ठहरे उसलाई थातवासको व्यवस्था गर्नुपर्छ । बाँकी अतिक्रमणकारीलाई कानूनी कारबाही गरिनुपर्छ ।
सुकुम्बासी भनी पहिचान गरिएकाहरुलाई निजी क्षेत्रको संलग्नतामा आवास उपलब्ध गराउन सकिन्छ । निश्चित सकुम्बासीलाई आवासीय टावर बनाई निश्चित वर्गफिटको आवास उपलब्ध गराएबापत सरकारी स्वामित्वमा रहेको कुनै उपयुक्त स्थानको कति भूमि आवासीय एपार्टमेन्ट विकास गरी बेच्ने सर्तमा उपलब्ध गराउनुपर्छ भनी खुला बोलकबोल गर्न सकिन्छ ।
यसो भए निजी क्षेत्रले नै यो समस्या समाधान गर्नसक्छ । अन्यथा राष्ट्रिय राजधानी विकास प्राधिकरणले पनि गर्न सक्छ । सार्वजनिक प्रतिष्ठानहरुको अनावश्यक दायित्व लिएर सरकार बसेको छ । तर, आवासजस्तो अत्यावश्यक क्षेत्रमा सार्वजनिक प्रतिष्ठान गठन गर्नेतर्फ सोचसम्म बनेको छैन ।
डर्टी गार्वेजको क्लिन वाटर र क्लिन इनर्जी
अर्को टीठ लाग्दो विषय हो- अलकापुरीको फोहोरमैला र वातावरण व्यवस्थापन । यहाँको भूउपयोग नीति नुहँदाको विडम्बना त आइ नै सक्यो । त्यसले वातावारणमा नकारात्मक प्रभाव पार्ने नै भयो । अर्को समस्या हो राजधानीका नदीहरुको व्यवस्थापन, ढल व्यवस्थापन र फोहोर मैला को व्यवस्थापन । काठमाडौंका सबै ‘मती’ (नदी)हरु ढलमती भइसके । फोहोरमैलाको समस्याको कुरै छाडौं ।
काठमाडौं र नेपालका अरु ठूला शहरहरुको अर्को विरुप चरित्र हो साना-मझौला उद्योगहरु र आवासीय एवं व्यापारिक क्षेत्रको सीमाङ्कन नहुनु ।
अस्पतालको छिमेकमा चौबीसै घण्टा काठ चिरानको कर्कश आवाज सुनिन्छ । छात्रावाससँग कार्पेट कारखानाको दोहोरी घन्किन्छ । पवित्र मन्दिरको आरती गार्मेन्टसका हिन्दी गीतको आवाजमा दबिन्छ ।
अहिले काठमाडौंमा केन्दि्रत प्रोसेसिङ तथा उत्पादनमूलक उद्योगहरुमा प्रिन्टिङ प्रेस, गार्मेन्ट, कार्पेट, काष्ट, बेकरी, मेटल फ्याबि्रकेसन, ईंटा इत्यादि यत्रतत्र छन् । यी सबैलाई काठमाडौ बाहिर सार्नुपर्छ र अरु शहरमा पनि औद्योगिक क्षेत्र तोक्नुपर्छ ।
काठमाडौं देशको वित्तीय केन्द्र हो, राष्ट्रको राजधानी भएकाले राजनीतिक र प्रशासनिक केन्द्र हो, ठूलो उपभोक्ता बजार हो । यसलाई यही रुपमा व्यवस्थापन गर्नुपथ्र्यो/पर्छ ।
काठमाडौं राष्ट्रिय राजधानीमा भएका महत्वपूर्ण क्षेत्रमा जग्गा जमिनको दुरुपयोग र अनुपयोगको कथा अर्को पेचिलो विषय हो । भद्रगोल र केन्द्रीय कारागार तथा थापाथलीको धान गोदाम यसका उदाहरण हुन् । सुधारगृहको रुपमा जेलहरु स्थानन्तरण गरी त्यहाँ व्यापारिक केन्द्रहरु निर्माण गर्न सकिन्थ्यो । सरकारले नै प्रयोग गर्ने हो भने पनि सेनालाई दिएको भए टुँडीखेल मासेर सैनिक घरहरु त बन्ने थिएनन् ! यस्तो भिल्लका हातमा मणि लिएर हामी बसेका छौं ।
यी यस्ता सामान्य कुरा हुन् । जसले अबलम्बन गर्न न कुनै ठूलो बजेट चाहिन्छ न कुनै विशेष पूर्वाधार । मात्र इच्छाशक्ति र नियम असल भए पुग्थ्यो/पुग्नेछ ।
(सुवेदीको पुस्तक सपनाका गाथाहरुबाट)
- See more at: http://www.onlinekhabar.com/2015/05/280348/#comment-459149

Friday, May 22, 2015

Article on onlinekhabar

राहत कोषः प्रधानमन्त्रीको कमण्डलु र अर्थमन्त्रीको अररोपन

रणनीतिक गोलचक्करमा उद्धार र राहत

२०७२ जेठ ७ गते १३:०६ मा प्रकाशित
 266  45 
  2
अरुणकुमार सुवेदी
वैशाख १२ गतेको भूकम्प र २९ गतेको पराकम्पपछिको उद्धार तात्कालीन राहत सँगसँगैको सरकारको क्षमता दातृनिकायको नियत र सहयोगी भनिएकाहरुको असलियतको बहस सुरु भएकोे छ । विशेष गरेर राष्ट्रिय अन्तरराष्टिय गैरसरकारी संस्थाहरुको रवैया र दातृनिकायहरुले देखाएको चिसो रेस्पोन्सलाई मनन गर्दा अब सरकार परम्परागत सोचबाट नभई विपत व्यवस्थापनका लागि नयाँ विचार र सोचबाट अगाडि बढनुपर्ने स्थिति आएको छ ।
दातृ निकायहरुको अहिलेको स्थिति हेर्दा भरपर्दो देखिएन । कबुल नै नगर्ने, गरेको नदिने, दिए ढीलो दिने र सरकारको प्राथमिकताभन्दा आफ्नो रणनीतिक प्राथमिकताले खर्च गर्ने यस्ता तमाम समस्याहरु देखा परे ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
प्रधानमन्त्री राहत कोषमा अपेक्षित रकम जम्मा नभएको स्थिति सबैलाई स्पष्ट छ । तर, कोषमा रकम नहुँदा पनि सरकार विशेष गरी अर्थमन्त्रीले अरु विकल्प नल्याउने र रकम निकासामा आनाकानी गर्ने अवस्था आयो । यसकारणले गृहमन्त्री र अर्थमन्त्रीको तीतो जुगलबन्दी पनि प्रेसमा आइरहेको छ ।
प्रधानमन्त्री राहत कोषमा पैसा नजुटे पनि यति विपत व्यवस्थापन गर्न सक्ने पैसा नभएको स्थिति चाँहि थिएन नेपालमा । यो अवस्थालाई तुरुन्त सम्वोधन गर्न सरकारले केही नीति अवलम्वन गर्न सक्थ्यो/सक्दछ ।
प्रधानमन्त्री राहत कोषमा रकम जम्मा नहुञ्जेलसम्म सो कोषका लागि आन्तरिक बैंक तथा वित्तीय संस्थाहरुसँग सरकारको जमानतमा अल्पकालीन ऋण लिन सक्दथ्यो । कर्मचारी सञ्चयकोष, नेपाली सेना र प्रहरीका कल्याणकारी कोषहरु, विमा समितिहरु नागरिक लगानी कोष, वाणिज्य बैंकहरु सबैबाट ऋण उठाएको भए आवश्यक रकम नजुटने अवस्था थिएन ।
स्थानीय बैंक, वित्तीय संस्था र कोषहरुबाट ऋण लिएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुँदै जाँदा क्रमश तिर्दै जान सकिन्थ्यो /सकिन्छ ।
कर्जामार्फत रकम व्यवस्थापन मात्र हैन आफ्नो प्रत्याभुति जमानत मार्फत अल्पकालीन ऋणका रुपमा स्थानीय उत्पादक र व्यापारिक कम्पनीहरुबाट सामान पनि खरिद गर्न सकिन्थ्यो । एकातर्फ यसको जिम्मा लिएको गृह मन्त्रालय तड्पिएको अवस्था रह्यो भने अर्काेतर्फ अर्थ मन्त्रालय चुप लागेर बस्यो ।
अत्यावश्यक सामाग्री उत्पादन गरिरहेका कम्पनी र आयातकर्ता व्यापारिक कम्पनीहरुबाट उठाइएका त्यस्ता सामाग्रीहरुको मूल्य बराबरको रकम निज कम्पनीले ऋण लिएको बैंकमा निश्चित समयमा जम्मा गर्ने जमानत पत्र जारी गरे सक्किइहाल्थ्यो । यो भएन र त्यो भएन भनी हिँडनुपर्ने अवस्था आउन्नथ्यो ।
खाद्यान्नका ठुल्ठुला आयात-निर्यातकर्ताका मौज्दात पक्कै थिए । त्यसरी नै त्रिपाल पनि पक्का थिए बजारमा । यस विपतमा आवश्यक पर्ने सामाग्रीको भन्सार छुट गर्न सक्दा त्यसअन्र्तगत आएका सामाग्री सरकारले नै खरिद गर्न सक्दथ्यो ।
अन्तराष्ट्रिय वित्तीय संस्थाहरु विशेष गरेर भारतको एक्जिम बैंक चीनको एक्जिम बैंक, एडीबी, वल्र्ड बैंक कहीँबाट पनि दु्रत पद्दतिबाट सरकारले अल्पकालीन आपतकालीन कर्जा लिन सक्थ्यो/सक्छ । त्यस प्रकारको अनुरोध छिमेकी मित्रराष्ट्रहरु र अन्य निकायहरु सामु गर्न सकिन्थ्यो /सकिन्छ ।
यस्ता उपायहरु भए पनि आखिर अर्थ मन्त्रालयले समयमा नै किन अवलम्वन गरेन ? यो अहिलेलेको सबैभन्दा बढी दुखद विषय हो नेपालीहरुका लागि । यसमा सबैभन्दा ठूलो समस्या हो अर्थमन्त्रीको अररो सोच । यति सामान्य कुराको हेक्का अवश्यमेव वहाँलाई थियो । तर, यसतर्फ वहाँ र अर्थ मन्त्रालय लागेको देखिएन ।
ramsaranउद्धार र तत्कालीन राहातका लागि सरकारले आवश्यक वित्तीय स्रोत व्यवस्थापन गर्न सकेन भन्यो र अभावको कुरा गरियो र मगन्तेझै प्रधानमन्त्री दैवी प्रकोप राहतकोष नामको कमन्डलु मात्र नियालियो । यस्ता सम्भाव्य स्रोत परिचालन गर्नमा अग्रसर नहुने अर्थमन्त्रीलाई यो पंक्तिकार ठूलो दोषी मान्दछ ।
पश्चिमाहरुका लागि नेपाल एशियाका दुई ठूला शक्ति राष्ट्रलाई व्यवस्थापन गर्ने रणनीति ककपिट मात्र हो ।
सरकारले कर्जा उठाउनका लागि निश्चित संवैधानिक प्रावधान पूरा गर्नुपर्छ । यो आपतकालीन अवस्था संकटकालीन अवस्था पनि हो । त्यसका लागि सरकारले आवश्यक अध्यादेश ल्याउन सक्दथ्यो पनि । भर्खरै मात्रै संसदको अधिवेशन सकियो, त्यसमा पनि पेश गर्न सक्दथ्यो । तर, त्यसतर्फ अर्थ मन्त्रालयले कुनै पहल गरेको देखिएन । यस्तो ऋण अल्पकालीन भएकाले राष्ट्रको अर्थप्रणालीमा कुनै ठूलो असर पनि पर्ने थिएन ।
अहिले राष्ट्र संघको प्रक्षेपणअनुसार ४२ अर्ब रुपैयाँ आपत व्यवस्थापनमा लाग्ने देखिएको छ । नेपालका बाणिज्य बैंकहरुको एकल पाटी सीमाको कर्जा सीमा भित्र रही सबै बैंक तथा वित्तीय संस्थाबाट सरकारले ऋण लिने हो भने पनि यति रकम सहजै जम्मा हुन्छ । यही काम राष्ट बैंकले केही क्षणमै गर्न सक्दथ्यो /सक्दछ ।
मेरो पहिलेदेखिको स्पष्ट विचार छः पश्चिमाहरुका लागि नेपाल एशियाका दुई ठूला शक्ति राष्ट्रलाई व्यवस्थापन गर्ने रणनीति ककपिट मात्र हो । यसर्थ सामान्य नीति वा विपदतकालीन नीति जेसुकै होस् पश्चिमाहरु ककपिट उपयोगको रणनीतिभन्दा बाहिर गएर कुनै पनि काम गर्दैनन् ।
यसपालिका भूकम्पीय विपत अधिकांश भौगोलिक क्षेत्र चीनसँगको सीमामा पर्‍यो । यस क्षेत्रमा पश्चिमा त के, भारतको सक्रियतालाई पनि नेपालले होशियारीपूर्वक प्रयोगमा ल्याएनुपथ्र्याे । यही अवस्थाले गर्दा पश्चिमाहरुले सोचे र चाहेअनुसारको मात्रामा उनीहरुको क्रियाकलाप हुन पाएन । यसको प्रतिक्रियास्वरुप भारत र नेपाल सरकारको राजनैतिक नेतृत्व विरुद्ध मिडिया ‘कु’ राम्रै भयो सकारात्मक र नकारात्मक समाचार एवं विचार सम्प्रेषणबाट ।
उनीहरुको अपेक्षा र योजनाअनुसार क्रियाकलाप हुन अप्ठेरो परेपछि पश्चिमा दाताहरुको रेस्पोन्स चिसो हुनु स्वभाविक हो । तर, पश्चिमाहरु त्यति सजिलै छाडनेवाला छैनन् । उनीहरुको कि्रयाकलाप अब अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु -आइएनजीओ) मार्फत सुरु हुने स्थिति देखिन्छ । यसमा सांस्कृतिक अतिक्रमणकारी मिशनहरुदेखि लिएर कथित विकासे आइएनजीओ र स्थानीय गैरसरकारी संस्थाहरु समेत संलग्न हुनेछन् । जसप्रति चीन र भारतको प्रत्क्षय औंला उठाउने ठाउँ पनि हुन्न र पश्चिमाहरुको काम पनि बन्नेछ ।
यी तीन अवस्थालाई मध्यनजर गरी उप्रान्त सरकारले द्रुतमार्गवाट उपयुक्त निर्णय लिनुपर्ने अवस्था आएको मेरो विश्लेषण छ ।
पहिलो सक्रियता अर्थ मन्त्रालय वा अर्थमन्त्रीको सोच र कार्यशैलीमा परिवर्तन ल्याउनेमा हुनुपर्छ । प्रधानमन्त्रीले तुरुन्त यसमा हस्तक्षेप गर्न जरुरी देखिन्छ । राष्ट्रलाई उद्धार राहत खर्चका लागि आवश्यक रकम सरकारले स्थानीय बैंक कोषहरु र बित्तीय संस्थाहरुबाट अविलम्व कर्जा लिनु पर्छ ।
यसले सरकारको साख बढ्ने छ र सरकार मगन्तेको छविबाट मुक्त पनि हुनेछ । त्यसैगरी सरकारले भारत, चीन, एशियाली विकास बैंक र विश्व बंैकसँग विपत व्यवस्थापन हेतु अल्पकालीन ऋण माग गर्नु पर्छ । यीबाहेक अरुहरुसँग हात फैलाइहाल्नु जरुरी देखिँदैन ।
जब दाता भनिएकाहरुबाट रकम जम्मा हुँदै गर्ला, तब उक्त कर्जा तिर्न सकिन्छ । अन्यथा सरकारले राहत उद्धार हेतु विशेष कर वा सेस पनि लगाउन सक्दछ ।
अन्तराष्ट्रिय गैससहरुले जम्मा गरे प्रधानमन्त्री राहत कोषमा जम्मा गर्छन्, अन्यथा चाहिएन तिम्रो सहयोग भन्ने ठाडो आदेश गर्न सक्नुपर्छ । प्रभावित क्षेत्रमा यिनीहरुको सहयोगले हाइटीको पुनरावृत्ति गर्न नपाओस् । साथै चीन र भारतविरुद्धको पश्चिमा चाखलाई स्थापित गर्न नपाओस् । राहत र उद्धारका नाममा सांस्कृतिक अतिक्रमणको कार्य हुन नपाओस् । आगन्तुक सांस्कृतिक स्थलहरुलाई हाम्रा छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग गर्ने अवस्थालाई निरुत्साहित गरिनु पर्छ । यसका लागि सरकारले विशेष निकाय र संस्थाको सूची तयार गरोस् । त्यो सूचीभन्दा बाहिरका संस्थाहरुलाई त्यस क्षेत्रमा क्रियाकलाप गर्न रोक लगाइयोस् ।
अहिले कमजोर र वचाऊ अवस्थामा हैन, सरकार चुस्त र आक्रामक शैलीमा अगाडि बढनुपर्छ । सरकार कुनै मिडिया मिसनका कारण वा सामाजिक सञ्जालको अभिमतवाट निर्माण भएको हैन, सार्वभौम नेपाली जनताको मतबाट निर्माण भएको हो ।
- See more at: http://www.onlinekhabar.com/2015/05/279658/#sthash.85FLs4Qz.ufYd6nSX.dpuf