Tuesday, March 15, 2016

सेनापतिको भारत भ्रमण र मधेस आन्दोलनको पटाक्षेप

सेनापतिको भारत भ्रमण र मधेस आन्दोलनको पटाक्षेप

२०७२ फागुन ५ गते १७:१२ मा प्रकाशित
 0  4 
  0
अरुणकुमार सुवेदी
भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउका नवावी समाजवादीको आतिथ्य र मन्त्रणापछि नेपालमा मधेस आन्दोलन शुरु भएको कुरा कसैबाट छिपेको थिएन । आन्दोलनमा उठेका माग र भावनाप्रति धेरै कोणबाट समर्थन पनि जुट्न पुगेकै थियो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
मधेसी नेताहरुको अभिव्यक्ति तराईको जनमनोविज्ञान तथा आन्दोलनको स्वरुप हेर्दा तुरुन्त नटुंगिने देखिन्थ्यो । तर, प्रधानमन्त्री भन्दा पहिले मित्रराष्ट्र भारतको आमन्त्रणमा दिल्ली पुगेका नेपाली प्रधानसेनापति सैनिक तथा राजनैतिक अधिकारीहरुसँग भेटघाटमा व्यस्त रहेका बखत मधेसी नेताहरुलाई पटनाबाट बोलावट आइपुग्छ । पटनाको लालु उपदेशपछि एकाएक मधेस आन्दोलनको अवतरण हुन पुग्छ । यो अनपेक्षित अवतरणपछिको रहस्य आज सर्वाधीक जिज्ञासाको विषय बनेको छ ।
मधेस आन्दोलनको पाश्र्व उद्देश्य
१. पश्चिमाहरुको दीर्घकालीन रणनीतिअन्र्तगत नेपालमा अराजकता निर्माण गरी राष्टसंघ मार्फत पश्चिमको उपस्थिति जनाउन महत्वपूर्ण औजारका रुपमा अहिलेको विवादास्पद संविधान लागु गराउने ।
२. चीनलाई घेर्ने रणनीतिअन्र्तगत भारतका सेकुलारिष्टसँग पश्चिमले सहकार्य गर्ने र मोदीलाई नेपाल मुद्दाबाटै बिहारको चुनाव हराई कमजोर बनाएर तीन चार वर्षपछिको आम निर्वाचनमा परास्त गर्ने ।
यी दुबै उद्देश्यका लागि भारतका सेकुलारिष्ट, पश्चिमाहरु र भारतिय खुफिया संस्था ‘रअ’ समेत सहकार्यमा रहेको कुरा यथेष्ट चर्चामा आइसकेको छ । अहिलेको सेकुलारिष्ट विभाजनकारी संविधान लागु गरेपछि उनीहरुको योजनाअनुसार नै तराईमा अराजकता र आन्दोलन बढ्दै गयो । तर, यसवीचमा एउटा अवस्था भने पाश्र्व निर्देशकहरुको अपेक्षा भन्दा बिल्कुल अलग किसिमले निर्माण हुन पुग्यो। नेपालका केही बुद्धिजिवी, विश्लेषकहरु (यो लेखक समेत) राष्ट्र बिघटनोन्मूख भएबाट अब अन्तिम शक्तिकारुपमा सेनाले सत्ता लिनुपर्छ भन्ने पक्षमा उभिन थाले भने जनमत पनि बिस्तारै त्यसै पक्षमा बन्न थाल्यो ।
नेपाली सञ्चार माध्यममा यस्ता विचारहरु आइरहदा सेनाले आफ्नो मुख्यालयमा अवकास प्राप्त केहि सैनिक उच्च अधिकारीहरु र बहालवाला अधिकारीहरुको सम्मेलन आयोजना गरी मार्शल मन्थन पनि गर्‍यो । मार्शल मन्थनपछिको शैनिक वक्तव्य पनि घुमाउरो किसिमले सेनाको सक्रियताको संकेत दिने प्रकारकै आएको हो । तर, नेपालजस्तो रणनीतिक अवस्थिति भएको राष्ट्रको राजनीतिक वा सत्ता परिवर्तनमा विश्व समुदाय र भारत तथा चीनको रवैया निर्णायक हुन जान्छ ।
पश्चिम र भारतका मोदी विरोधी सेकुलारिष्टहरुसँग नेपालका सबै राजनैतिक शक्तिहरुले भिन्न-भिन्न मोडेलमा सहकार्य गरिरहेको अवस्थाको विरुद्धमा सेनाले सत्तालिनु पर्ने खण्डमा चीन र भारतको केन्द्र सरकारसँग सेनाको कन्फिडेन्स नै निर्णायक कारण हुनु स्वाभाविक हो । सोका लागि सेनाले आफ्नो अन्तराष्ट्रिय सम्वन्धलाई मिहीनरुपमा उपयोग गर्न सुरु गरेका संकेत पनि आउन थालेका थिए ।
मोदीको ढिलाइ
नेपालमा बढ्दो अराजकता, धर्मान्तरणमार्फत खुकुलिँदो सास्कृतिक राष्ट्रियता र बढ्दो भारत विरोधी भावनावीच कुनै पनि बेला राष्ट्र संघ मिसनमार्फत पश्चिमाहरुको उपस्थितिको सम्भावना बढ्न थालेको सूचनाले मोदी ठूलो सकसमा पर्न थाले । यो अवस्थाप्रति निकै असन्तुष्ट रहेको चीनबाट पनि मोदीलाई नेपाल व्यवस्थापन गर्न नसकेकोमा ठूलो दबाव पर्नु स्वभाविक थियो ।
चीन स्वयमलाई पनि नेपाल खतराको स्थल बन्दै गएकोमा चीनले आफ्नो सरोकार देखाएकै हो । भारत नेपाल विवादका कारण उत्पन्न स्थितिले चीनमाथि अनावश्यक कुटनीतिक झण्झट थपियो भन्ने संकेत चीनको व्यवहारले दर्शाएकै हो । यस्तो अवस्थामा मोदीका लागि नेपालमा भरोसायोग्य राजनीतिक व्यक्ति मिलिरहेको थिएन । नेपालमा आफनो सानो मसिनो सहकर्मीसमेत नपाएका मोदीलाई अत्यन्त कम विकल्पहरु बाँकी थिए ।
नेपालको राजनीतिक अवस्थालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नु । मोदीको विवशता बुझ्न नेपालको सैनिक नेतृत्व सक्षम पनि भएको देखिन थाल्यो नेपाली सेना स्वयमनै सास्कृतिक राष्टियताको परम्परामा संगठित छ । यसकारण आपतकालिन उपायका रुपमा सेना अगाडि ल्याई मुलुकमा सल्किएको आगो निभाउन सक्ने सम्भावनालाई मोदीको सुसुप्त सर्मथन रहन सक्थ्यो । तर, मोदी त्यसका लागि तुरुन्त निर्णयमा पुग्न नसकेको देखियो सामान्यतया शिघ्र निर्णय गर्ने स्वभाव भएका मोदीले नेपालमा सैनिक सासनका पक्षमा निर्णय लिन हिच्किचाएको देखिन्छ ।
सायद नेपाली सेनाको इतिहासको केही घटनाहरुको प्रभाव र एउटा प्रजातान्त्रिक नेताको साखका कारणले उनमा त्यो अवस्था पैदा भएको हुन सक्छ । अराजकता र चरम तनावका वीच नेपाली सत्ता पक्षले लिएको उत्तेजक नीतिले कुनै पनि बखत ठूलो हिसांत्मक रुप ग्रहण गर्ने अवस्था लगभग आइसकेको थियो । यस्तो तरल अवस्थामा नेपालका प्रधान सेनापति दिल्ली पुग्नु केवल नियमित शिष्टाचार मात्र थिएन ।
अब भारतेली सेकुलारिष्ट र पश्चिमसँग पनि समय सकिँदै थियो तराईमा सेना परिचालन गरी द्वन्द्व भड्काउने नीतिलाई नेपाली सेनाले नै अश्विकार गरेर सेना अर्काे लाइनमा सकि्रय भइसकेको अवस्था बुझ्न गाह्रो थिएन । यस कारण मधेस आन्दोलन यथावत राख्नुको अर्थ सेना मार्फत अहिलेको संविधान निलम्वन हुने अवस्था निर्माण हुनु मात्रै नभएर नया राजनीतिक प्रकि्रयामा गणतन्त्र पनि धरापमा पर्न सक्ने सम्भावना स्पष्ट थियो ।
नेपालका प्रधान सेनापतिको दिल्ली भ्रमण त्यो पनि भारतको केन्द्र सरकारसँग नेपालको घोर तिक्तता भएका बखत, संकेत स्पष्ट थियो- अब मिनेटको ढिलाइ पनि उनीहरुका लागि जोखिमपूर्ण थियो ।
मोदीको एउटा निर्णयलेे सबै पासाहरु पल्टन सक्थे । यसर्थ रोकथामका लागि यसपटक सक्रिय बनाइए भारतीय राजनीतिमा अलग मौलिकताका व्यक्ति र मोदीका उग्र विरोधी लालु प्रसाद यादव ।
नेपाली मधेसी नेताहरु प्ाटना बोलाइए र अपमानजनक शारीरिक भाषाबीच मधेस आन्दोलनको अपमानपूर्ण विसर्जन गर्नैपर्ने वाध्यतामा मधेसी नेताहरु पुर्‍याइए । यसरी नेपाली राजनीतिमा आउन सक्ने यु टर्न को सम्भावनालाई रोकियो र मधेसी नेताहरु सेकुलारिज्म र संविधानका लागि बलीको बोका बनाइए ।
डिजाइन अरु खतरनाक छ
अहिले आएर मधेसका मूलप्रवाहका नेताहरु पूरै आवरुहीन भएका छन् । जनतामाथिको उनीहरुको पकड धरापमा परेको छ । तर, त्यसले ठूला दलहरुको पकड पनि बढेको छैन, घटेकै छ ।
स्पष्ट छ-अब तराईमा विखण्डनवादीको पकड दह्रो हुँदै जानेछ । नेपाललाई अस्थिर बनाउन र बिखण्डनमा पुर्‍याउने अवस्था विकसित भइरहेछ ।
तुरुन्त पश्चिमको उपस्थिति नभए पनि दीर्घकालीन अवस्था झनै खतरनाक हुने देखिन्छ । यसपछि विकसित हुने अवस्थाले पहाडमा पनि तीब्र अस्थिरता छाउनेछ ।
परिणामस्वरुप पहाडबाट क्षेत्री-बाहुनको सबैभन्दा बढी बसाइ-सराइ हुनेछ । यसको ठूलो हिस्सा युरोप अमेरिका र अष्टे्रलिया पनि पुग्नेछ । उच्चमध्यम र उच्च आर्थिक औकात भएका जनजातिहरुको बसाइ-सराइ पनि तीब्र हुनेछ । यसप्रकार बसाइ सरेको जनसंख्या या त केही जनसंख्या केन्द्रहरुमा या त विदेशमा नै पुग्ने छ । यो अवस्थालाई सांस्कृतिक अतिक्रमणबाट झन बढावा मिल्ने छ ।
तराईको अवस्था पनि पहाडी मधेसी द्वन्द्व र अराजकताले तीब्र बसाइँ सराइतर्फ नै उन्मूख हुनेछ । यो अवस्थाबाट मुक्त हुँदा तराई विभाजित भइसकेको हुनेछ भने पहाडको ग्रामीण क्षेत्रको आधाउधि जनसंख्या इसाइकरण भइसकेको हुनेछ ।
यो संविधान र अहिलेको अवस्था निरन्तर रहे यो परिणामका लागि तीन दशकको समय पनि लाग्ने छैन । यहाँसम्मको यात्राले लगभग कर्णाली नदीदेखि मेघना (बाराक ) नदी भारतसम्मको पहाडी भूभाग इसाइहरुको प्रभुत्वमा जानेछ ।
जुन जनसंख्या र जनमत भारत र चीनलाई व्यवस्थापन गर्न सबैभन्दा ठूलो हतियार हुनेछ । सम्भवतः यस समयसम्म यस क्षेत्रको राजनीतिक भूगोल परिवर्तन पनि हुन सक्नेछ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2016/02/389405/#sthash.1j6kBHNq.dpuf

कांग्रेसमा शशांक कोइरालाको नयाँ अवतार

कांग्रेसमा शशांक कोइरालाको नयाँ अवतार

एउटै लाइनका शेरबहादुर र शशांक किन दुई खेमामा ?

२०७२ फागुन २१ गते १८:०३ मा प्रकाशित
 4  7 
  0
अरुणकुमार सुवेदी
नेपाली कांग्रेसमा कोइराला परिवारको वर्चश्व र महत्व कहीँकसैबाट छिपेको छैन । यसप्रति विरोध र समर्थन पनि सुरुदेखि नै भई आएको छ । तर, आजको विषय भने यसतर्फ भन्दा पनि कोइराला परिवारका कान्छा भाइ शशांक कोइरालाको नयाँ अवतारका बारेमा केन्द्रित हुनेछ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
बैचारिक रुपमा कोइराला परिवारभित्र समय-समयमा विवाद परेको र बढेको कुरा नेपाली कांग्रेसको इतिहासको सामान्य जानकारी हुने जोकोहीलाई थाहा छ ।
मात्रिका अवतार
विसं. २००८ सालमा सर्वप्रथम नेपाली कांगे्रसकै नेता पहिलो प्रधानमन्त्री भएका बखत तात्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला र वी.पी. कोइरालावीचको विवादले एक्लिएका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला नयाँ भूमिकामा देखापरे ।
कोइराला परिवार र नेपाली कांग्रेस पार्टीको साथ नपाएर एक्लिएका मात्रिकाबाबुलाई तात्कालीन राजा त्रिभुवन र तात्कालीन हिन्दुस्थानी प्रधानमन्त्री नेहरुको भने राम्रै साथ थियो भन्ने इतिहासले देखाउँछ । तर मात्रिकाबाबुको राजा र हिन्दुस्थानपरस्त अवतारले २००७ सालको क्रान्तिमा वहाँले खेलेको भूमिकाको समेत यथोचित मूल्यांकन र चर्चाबाट नै वञ्चित गर्‍यो । त्यसपछिका दिनहरुमा पनि मात्रिकाबाबुको राजनीतिक यात्रालाई सधैं संकटमा पार्‍यो ।
मात्रिकाबाबुको यो अवतार कांग्रेस, प्रजातन्त्र, कोइराला परिवार र वहा स्वयंलाईसमेत प्रत्युत्पादक भएको देखिन्छ ।
प्रकाश अवतार
कोइराला परिवारभित्र वीचवीचमा अरु पनि विवादहरु नआएका होइनन् । तर, कांग्रेस पार्टी र कोइराला परिवारको निर्णय विपरीत सबैभन्दा उल्लेख्य विद्रोहकारी अवतार देखियो ०४६/०४७ सालको जनआन्दोलनमा बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइरालाको ।
Prakash Koirala-1नेपाली कांग्रेस, पूरा हिन्दुस्तान र पश्चिमाहरुसमेत एक खेमामा आएर चलाइएको जनआन्दोलनलाई कांग्रेसको मूल मान्यता विपरीत भनी वहाँले विरुद्धमा वक्तव्य दिनुभयो । वहाँको विरोधका बावजुद जनआन्दोलनले लक्षातीत उपलब्धि हासिल गर्‍यो र पञ्चायत ढल्यो ।
त्यसपछिका राजनीतिक क्रियाहरुमा प्रकाश कोइराला नेपाली कांग्रेसभित्र ‘एकोमोडेट’ त हुनुभयो, तर आफ्नो लाइन भने कहिल्यै परिवर्तन गर्नुभएन ।
कांग्रेसको मूल लाइनको विपरीत उभिएर पनि प्रकाश कोइराला केन्द्रीय सदस्य, सांसद, मन्त्री इत्यादि भइरहनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलन प्रक्रिया र राजावीचको तनाव पनि निरन्तर रहि नै रहयो । ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सहभागी भएता पनि प्रकाश १३ महाधिशवेनसम्म नेपाली कांग्रेसको प्रतिनिधि बन्दै आएका छन् ।
गिरिजा अवतार
नेपालको प्रजातान्त्रिक प्रकिया, भारत, राजदरबार र पश्चिमको चाख द्वन्द्वलाई नेपाली कांग्रेसले समायोजन र सन्तुलन गर्न नसकिरहेका बेला गिरिजाप्रसाद कोइरालाको एकछत्र नेतृत्वमा नेपाली कांग्रेस पुग्यो ।
Girija-Prasad-Koiralaगिरिजाप्रसाद कोइरालाको एकोहोरो कार्यशैली, विषयको गाम्भीर्यतामाथिको मसिनो समझ र आत्मकेन्दि्रत एवं परपीडक सोचबीच नेपालमा अप्रत्याशित घटनाहरु हुन पुगेको इतिहास निकट समयकै हो ।
यसैवीच पछिल्लोपटक तात्कालीन महाराज ज्ञानेन्द्रले राज्यसत्ता लिँदा फेरि कोइराला परिवारमा प्रकाश कोइराला पुरानै आफ्नो लाइन अनुसार राजा ज्ञानेन्द्रको नेतृत्वको मन्त्रीपरिषदमा सहभागी हुनु पुग्नुभयो ।
अलिकति आफ्नै कुरा
मेरो ०४७ सालपछि कोइराला परिवारका सदस्यमध्ये प्रकाश कोइरालासँग नै सघन सम्वन्ध भयो । तथापि सप्तकोशी पारिको कांग्रेसी राजनीतिमा निवासको इशाराविना पात पनि नहल्लिने अवस्थामा निवासको ठुलै सदस्यसँगको सम्वन्ध आफ्नै करिअर राजनीतिमा पटक-पटक खग्रास ग्रहण बनेर आउला भन्ने मलाई लागेको थिएन । तर, मैले यो नियति भोगें ।
प्रकाश कोइरालासँगको सामीप्यसँगै उहाँले लिनुभएको लाइनप्रति समय-समयमा मेरो गम्भीर असहमति रहेको पनि हो । तर, त्यसले सम्वन्धलाई त्यस्तो असर पारेन । वहाँका कतिपय बानी व्यहोराबारे अतिरञ्जनापूर्ण दुश्प्रचार पनि भए ।
प्रकाश कोइराला पछिल्लोपटक जब राजा ज्ञानेन्द्रको ‘कु’सरकारको मन्त्री बन्नुभयो त्यसपछि केही दिन उहाँसँग मेरो सघन सम्वाद भयो । गतिलै संवैधानिक हैसियतमा आफ्नो नियुक्तिको प्रस्तावमाथि हामीबीच धेरै नै विमर्श भयो । धेरै लामा टेलिफोन वार्ता भए । अन्ततः उहाँको प्रस्ताव मैले स्वीकार गर्न सकिँन । मेरो अन्तिम निर्णयपछि उहाँले आफ्नो लाइनका बारेमा भनेका दुईवटा तर्क भने अहिलेको नेपालको स्थितिले मेरा निमित्त झन मननीय बनाइरहेछ-
पहिलो- महत्वपूर्ण कुरा, राजाले सत्तालिनु नलिनु हैन, यो कदम असफल हुने वा बनाइने सम्भावना प्रशस्त छ । तर, पनि यो राष्ट्रियतासँग प्रत्यक्ष सम्वन्धित विषय भएकाले मैले यस्तो निर्णय लिएको हँु । यो राजाको कदमको अन्त्यपछि नेपाल निकै ठूलो दुर्गतिमा फस्छ ।
र, दोस्रो- अब नेपाललाई साम्प्रदायिक र धार्मिक द्वन्द्वमा फसाइनेछ । र, नेपाल अत्यन्त कमजोर हुनेछ ।
यीबाहेक पनि उहाँले धेरै कुराहरु गर्नुभयो । तर, ती सबैका बावजुद मैले राजा ज्ञानेन्द्रको कदमको औचित्य पुष्टि गर्दै समर्थन जनाउन र सहभागिताको सम्भावनातर्फ सोच्न चाहिँन । त्यो ‘मौका’ को उपयोग नगरेकोमा मेरा निकटस्थहरुबाट म अहिले पनि यथेष्ट आलोचित छु ।
त्यसपछि नेपालको राजनीतिक घटनाक्रम कता गयो, सबैलाई थाहा छ ।
आश्चर्यको एउटा अवस्था
दिल्लीको बाह्रबुँदे सम्झौतापछि भएको आन्दोलनमा मेरो पनि सक्रिय सहभागिता थियो नै । आफ्नो कार्यस्थान हेटौडामा रहेर जे गर्न सक्थें गरि नै रहेको थिएँ । त्यसपछिको राजनैतिक परिवर्तन सामुन्नेमा छन् ।
मलाई त्यसबखत सर्वाधिक आश्चर्य भयो, जब तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाह्रबुँदे सहमतिमा नभएका तीन कुराहरु आफ्नो खल्तीबाट निकाल्दै दिन थाल्नुभयोः संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ।
कुनै जमानामा चुनाव जितेका आफ्नै नेताले विघटन गरेका र त्यो विघटन संविधानसम्मतः छ भनी सर्वोच्च अदालतले ठहर्‍याएका भूतपूर्व सांसदहरु र जंगलबाट आमन्त्रण गरी ल्याएका व्यक्तिहरु सम्मिलित एउटा संज्ञाविहीन सभाको गठन भयो राजाकै हुकुम प्रमाङ्गीबाट । र, त्यही सभाले उप्रान्त आउने भनिएको संविधानसभालाई तिनै तीन कुरालाई पूर्वशर्त बनाई निर्णयसमेत गर्‍यो ।
म आश्चर्यमा परेको थिएँ यी निर्णयहरु काँग्रेस सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरिरहनुभएको छ कि कुनै कथित कम्युनिष्ट नेताद्वारा यी निर्णयहरु भइरहेका छन् ?
समय आएको थियो, मैले आफ्नो ब्रह्मको आवाज सुनें । हरेक कोणबाट विश्लेशण गरेर कांग्रेस अर्थात गिरिजाप्रसाद कोइरालाको विरुद्धमा उभिएँ । यी कृत्यहरु भइरहँदा किसुनजी, शैलजा आचार्य, तारानाथ रानाभाट जस्ता धेरै व्यक्तिहरु यसको विरुद्धमा उभिइसक्नुभएको थियो । तर, त्यसले राजनीतिक प्रवाहलाई थोरै पनि प्रभाव पार्न सकेन ।
नेपालमा भइरहेका राजनीतिक घटनाक्रमप्रति भारतको तत्कालीन विपक्षीमात्र नभएर कांग्रेस आइकै केही उपल्ला नेताहरुसमेत असहमत देखिन्थे । तथापि गिरीजाप्रसाद कोइराला रोकिएनन् ।
यी सबै घटना भइरहँदा मेरो अडान र सोचबारे मैले आफैंलाई बारम्बार विश्लेषण गरें । तर, मेरो स्थिति राजतन्त्रलाई छाड्ने हो भने प्रकाश कोइरालाले लिनुभएकै अडान वा भन्नुभएको लाइनमा देखियो । यो आकस्मिकताले म स्वयम आश्चर्यमा थिएँ । र, लामो समयपछि प्रकाश कोइरालासँग सम्पर्क गरेर आफ्नो मनको कुरा बताएँ । तरल उहाँको राजतन्त्रबारेको लाइनमा म आझसम्म पनि आएको छैन । त्यसबारेमा मेरा आफ्ना तर्क र धारणाहरु छन्, जुन यहाँ उल्लेख गर्न सम्भव छैन ।
शशांकको नयाँ अवतार
पहिलो संविधानसभा स्खलनपछि दोस्रो संविधानसभा र नेपालको संविधान ०७२ सम्म आइपुग्दा नेपाली कांग्रेसमा प्रकाश कोइरालाको लाइनमा धेरै नेता-कार्यकर्ताहरु आइपुगेका छन् । तर, प्रकाश कोइराला कांग्रेसमा आइपुग्नुभएको छैन । म स्वयमले पनि कांग्रेस छाडें तिनै मुद्दाहरुका कारणले । अहिले कांग्रेसमा ठूलै खेमा त्यो लाइनमा छ ।
Shasank Koiralaधर्म निरपेक्षतामा संविधान निर्माण प्रक्रियामा चुँसम्म नगरेका बरिष्ट नेता शेरबहादुर देउवाले समेत यस अभियानको कद्दावर नेता खुमबहादुर खडकाको गृहजिल्लामा पुगेर अझै हिन्दुराष्ट्र बनाउन सकिन्छ भन्नुभयो । डा. शेखर कोइराला पहिलेदेखि बोलिरहनुभएको थियो । तर, उहाँहरुले यो संविधानको विरुद्धमा आजसम्म खुलेर बोल्नु भएको छैन । र, कांग्रेसले यस अभियानको नेतृत्व गरेर संविधान परिवर्तन गरी छाडने प्रतिवद्धता कसैबाट आएको छैन ।
स्थिति हेर्दा लाग्छ, हिन्दु सांस्कृतिक राष्ट्रवादको लाइनबाट कमल थापाको पतन भएपछि कांग्रेसमा भइरहेको यो लाइन रामनामको मण्डी ओडेर पदको घिऊ खाने चाल हो कि, अन्तःस्करणको आवाज हो ? पर्गेल्न गार्‍हो भइरहेको छ ।
यसैवीच हिन्दु सांस्कृतिक राष्ट्रियताको लाइनमा बोल्नसमेत लगलगी कामेका आफ्नो खेमाका सभापतिका उमेदवार रामचन्द्र पौडेलको लाइनमा कहीँ ‘फिट’ नदेखिएको लाइन शशांक कोइरालाले अप्रत्याशितरुपमा लिएका छन् । विगतका राजनीतिक उपलब्धि भनिएका तीनैवटा विषयमाथि पुनरावलोकन हुनुपर्छ भनी डा. शशांक कोइरालाले ‘माष्टर स्ट्रोक’ हानेका छन् ।
दक्षिणबाट मोदीको निरन्तरको असन्तुष्टिवीच शशांकको नयाँ अवतार कति सोचविचार र योजनावद्ध किसिमले आएको हो ? प्रतिक्षाको विषय बनेको छ । तर, अचम्मको विषय के छ भने एउटै लाइनको वकालत गर्ने शेरबहादुर र शशांक अलग-अलग खेमाबाट चुनाव लड्दैछन् ।
हुनत कांग्रेसमा तेस्रो खेमा पनि देखिएको छ । तर, त्यसको औकात ‘चिढीको दुक्की’ भन्दा माथिको नदेखिएकाले यसको चर्चा गरिएन ।
शशांकको यो अवतार जेठा दाजु प्रकाश कोइरालाको लाइनकै शत प्रतिशतको अभिव्यक्ति चाहिँ पक्कै हो । अब प्रतिक्षाको विषय, शशांकको यो अवतार महामन्त्रीको निर्वाचन जित्न ओढिएको मण्डीमात्रै हो कि नेपालको राजनीतिक कोर्ष नै परवर्तनका लागि नेतृत्व लिन कसिएको कम्मर हो ?
नेपाली कांग्रेसको १३ महाधिवेशनमा शुभकामना मन्तव्य दिन आएका अतिथिहरुमध्ये भारतीय कम्युनिष्ट पार्टीका जोगेन्द्र शर्माले मोदीको मुख्य एजेन्डा हिन्दु राष्ट्र नै भएको पुष्टि गरे । भाजपाका पूर्वउपाध्यक्ष भगतसिंह कोसियारीले आफ्नो दल नेपालको संघीयतामा हिमाल, पहाड, तराई सम्मिलित विभाजनको पक्षमा रहेको कुरा व्यक्त गरेर तराई आन्दोलनको भौगोलिक विभाजनसम्वन्धी मागमा भाजपा असहमत रहेको सन्देश दिए ।
भारतवाटै यस्तो सोच आइरहँदा अब कांग्रेसभित्र भाजपा र संघ परिवारको भावनासँग तादम्य राख्ने नेतृत्वका लागि शेरबहादुर देउवा र शशांक कोइरालावीच प्रतिस्पर्धा पनि देखिएको छ । अब भविश्यमा देख्न पाइएला, यिनीहरुले संविधान निर्माण प्रक्रियामाझैं मोदीलाई छक्याउने छन् वा यही लाइनमा अडिग रहनेछन् ?
जे होस् यो लेखक डा. शशांकको नयाँ शुरुवातले निरन्तरता पाओस् भन्ने पक्षमा छ ।
- See more at: http://www.onlinekhabar.com/2016/03/396435/#sthash.uo8L1TiA.dpuf

Monday, February 8, 2016

लोडसेडिङ हटाउने भए यसो गर्नोस्

ओलीज्यू ! लोडसेडिङ हटाउने भए यसो गर्नोस्

हावाको कुरा गरेर जलविद्युतमा सौता नहालौं

२०७२ माघ १५ गते १७:५२ मा प्रकाशित
अरुणकुमार सुवेदी
अहिले मानिसहरुबाट बारम्वार सोधिने प्रश्न हो यो- लोडसेडिङ कहिले हट्ला ? खडगप्रसाद ओलीजी प्रधानमन्त्री भएपछि अरु दुई प्रश्न थपिएका छन्: के एक वर्षमै लोडसेडिङ समाप्त हुन्छ ? प्रधानमन्त्रीले त बोलेका छन् नि ? अर्को प्रश्न- उर्जा संकटकाल के हो र यसले कसरी लोडसेडिङ अत्य गर्छ ?
Arun-Kumar-Subediधेरै बडबोलीहरु आएका छन प्रधानमन्त्रीबाट ती बडबोलीमध्ये कति सम्भव, कति असम्भव होलान् समीक्षाका विषयहरु हुन । यद्यपि त्यस्ता महत्वपूर्ण विषयहरुलाई प्रधानमन्त्रीजीले जस्तो हलुंगो शैलीमा प्रस्तुत गर्नुभएको छ, त्यसले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यममा प्रधानमन्त्री यथेष्ठ उडाइएको पात्र बन्नुभएको छ ।
यो आलेखमा प्रधानमन्त्रीलाई उडाउनभन्दा पनि तात्विक विश्लेषण गरी त्यस्ता सपना सम्भव/असम्भवको अवस्था पाठकसामु यथारुपमा राख्ने कोशिस गरिएको छ । आज सर्वाधिक चासोको विषय लोडसेटिङको अन्त्यबारे यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छः
लोडसेडिङ एक वर्षमा हट्न सक्ने सम्भावना नै छैन । यदि उपयुक्त नीति र ती नीतिअन्र्तगतका विधि बनाई कार्यान्वयन गर्न आजैदेखि थालिए तीन/चार वर्षमा पक्कै हट्न सक्ला । यसका लागि के-कस्ता नीतिहरु आवश्यक पर्लान् ? सोहीबारेमा यो विश्लेषण केन्द्रित छ ।
१. उर्जा विकास प्राधिकरणको धारणा
अहिले उर्जा उत्पादकले जुन प्रशासनिक झण्झट व्यहोर्नुपर्छ, त्यो स्थिति हटाउन उर्जा विकास प्राधिकरण गठन गरी कम्पनी दर्ता, कर र उद्योग बाहेकका सम्पूर्ण काम त्यही प्राधिकरणले गर्ने अधिकार दिनुपर्छ ।
विद्युत विकास विभाग, उर्जा मन्त्रालय, वन मन्त्रालय अन्र्तगतका विभाग अझ जग्गा अधिग्रहण गर्नु परे विभिन्न निकायलाई ढोकैढोकामा ढोगभेटी गर्नुपर्ने बाध्यतावाट उर्जा उत्पादन गर्न खोज्नेहरुलाई मुक्त गरियोस् । लोडसेडिङ अन्त्य गर्ने हो भने यो पहिलो आवश्यक्ता हो ।
२. विद्युत प्राधिकरणको विभाजन गर
संसारमा यस्तो अनौठो सर्वशक्तिमान र लथालिङ्ग अवस्थाको व्यापारिक संस्था आजसम्म हामीले देखेको/पढेको छैन । जबसम्म यसमा उत्पादन, प्रशारण र वितरण तिनै क्षेत्र एकाधिकारमा रहन्छ, तबसम्म उर्जाको स्थिति सुध्रने अवस्था छैन । यसकारण यसका उत्पादन इकाइहरु सकेसम्म निजीकारण गर नभए कम्पनीकरण गरी जनसाधारणमा शेयर बेच ।
यसले वर्तमान प्राधिकरणलाई ठूलो धनराशी प्राप्त हुनेछ । यसका वितरण क्षेत्र (पकेट) पनि निजीकरण वा कम्पनीकरण गर । यसबाट पनि ठुलै धनराशी प्राप्त हुनेछ ।
सरकारको स्वामित्वमा प्रसारण कम्पनी मात्र राख त्यही कम्पनीलाई प्राप्त धनराशी दिई प्रशारण लाइनहरु द्रुत गतिमा बनाऊ । अहिले राष्ट्रमा लोडसेडिङ बढ्ने कारण उत्पादन नहुनु मात्र होइन, प्रसारण लाइन उपयुक्त नहुनु पनि हो ।
धेरै क्षेत्रको विद्युत ३३ केबीमा जोडिएको छ । जहाँ विद्युत खेर गएको छ र उपभोग गर्ने स्थानमा पुर्‍याउन सकिएको छैन । यसले वर्तमान प्राधिकरणलाई ठूलो घाटा पनि भइरहेको छ ।
३. उर्जा उत्पादनमा वित्तीय सुलभता
उर्जा क्षेत्रमा दिइने कर्जामा राष्ट्र बैंक र सरकार केही उदार देखिए पनि यतिमात्र यथेष्ट छैन । बढीमा स्प्रेड दर दुई मात्र राखी उर्जा क्षेत्रमा कर्जा प्रवाह नीति अनिवार्य बनाएमा धेरै परियोजना ९० प्रतिशत ऋणमा पनि सम्भव हुन जान्छन् । यसलाई पीपीएको दरले पनि सम्भव बनाउन सकिन्छ ।
यदि ९० प्रतिशतसम्म कर्जा प्राप्त हुने हो भने नेपाली उद्यमीले नै ठूला परियोजना गर्न सक्छन् । नेपाली बैकिङ क्षेत्र पनि ठूला लगानीका लागीसक्षम बन्दै गएको छ । गैरबैकिंग वित्तीय प्रतिष्ठानहरुसँग पनि लगानी क्षमता एथेष्ट छ । साधारण शेयरमा पनि आम जनता त्यतिकै उत्सुक छन् । यसर्थ जलविद्युत परियोजनाहरुमा प्रवर्धकले आँट गर्न सक्ने अवस्था भए कर्जा र इक्विटी दुबैको स्रोतको कमी नहुने अवस्था निर्माण हुनेछ ।
४. पीपीए दरमा पुनरावलोकन
९० प्रतिशतसम्मको कर्जामा पनि बढीमा १० बर्षमा कर्जा चुक्ता हुने गरीको दर कायम गरी विद्युत खरिद सम्झौता हुन सकेमा धेरै योजनाहरु तुरुन्त सुरु हुन सक्ने छन् । कर्जा चुक्ता भएपछिको हकमा लाभांशको अधिकतम सीमा निर्धारण गरी दर घटाउन सकिन्छ । यो नीति लिइएमा जलाशययुक्त परियोजना पनि निजी क्षेत्रबाट निर्माण सम्भव हुनेछ । जो उर्जाको मागका लागि अपरिहार्य पनि छ । संसारमै जलविद्युतको महत्व भनेको जलाशय युक्त परियोजना हो, जसबाट भनेका बेला चाहिएजति विद्युत उत्पादन लिन सकिन्छ ।
५. सार्वभौम जमानतको व्यवस्था
ठूला परियोजना अझ जलाशययुक्त परियोजनालाई आवश्यक पर्ने कर्जा विदेशबाट लिनुपर्ने भएमा आवश्यकता अनुरुप सरकारी जमानत दिनुपर्ने स्थिति निर्माण भइसकेको छ । यसको आयमा सरकारको प्रत्यक्ष नियन्त्रण हुने हुँदा अपचलनको सम्भावना पनि रहन्न । यस कारण सरकारी प्रत्याभुति जमानतमा प्रवर्द्धक कम्पनीहरुलाई कर्जा उपलब्ध गराउने निति लिनु पर्दछ ।
६. मौद्रिक नीतिमा पुनरावलोकन
नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रको साहायक अर्थतन्त्रझै भई आएको छ । यसलाई स्वतन्त्र र स्वावलम्भी बनाउनुपर्छ भन्ने धारणा सबैतिरबाट आएकै छन् । यसका लागि धेरै कार्य गर्नुपर्ने हुन सक्छ, ती सबैको चर्चा यहाँ सम्भव छैन । तर, यो स्वप्नकारले मौदि्रक नीतिमा र विशेष मुद्रा विनिमय नीतिमा लामो समयदेखि अलग धारणा लेखी /बोली आएको छ ।
नेपालले दोहोरो अचरताको विदेशी मुद्रा विनिमय निति लिनुपर्छ भन्नेमा स्वप्नकार स्पष्ट छ । भारतीय रुपैयाँ मजबुत भए अमेरिकी डलरलाई स्वतन्त्र छाडिदिने डलर मजबुत भए भारुलाई घट्न दिने, यो नीति नेरु-भारु सराबर आउञ्जेल लिनुपर्छ । यसले राष्ट्रको बैदेशिक ऋण घट्ने, डलरमा पीपीए गर्न सकिने अवस्था आउनाले विदेशी कर्जामा परियोजनाहरु आउने सम्भावना बढेर जानेछ ।
७. ‘बुट’को अर्थ परिवर्तन गरौं
बुट अर्थात् Built, Own, Operate and Transfer मा Transfer को सट्टा Tax भनेर परिभाषित गरौं । यो नीति यसै पनि पैसा लगाउ, कर्जा लेऊ यदि डुबेमा जेल बस्नुपरे पनि तिमी नै बस तर निश्चित समयमा तिम्रो कम्पनीको सबै सम्पत्ति सरकारलाई देऊ भन्ने अर्थको नीति हो यो ।
यो नीति राज्यमा सर्वसत्तावादी सोच राख्नेहरुले नै उत्पादनका स्रोतमा पनि राज्यको स्वामित्व र अधिकार हुनुपर्छ भन्ने कम्युनिष्ट वा सोसलिष्ट मान्यताका अवशेष राजनीतिक शक्तिहरुले ल्याएको हो । अब सरकारले हस्तान्तरण होइन, करमा चित्त बुझाउने नीति र नियम बनाउनैपर्छ । यो मान्यता उदारवादी प्रणालीको एकदमै विपरीत छ । उदारवादको अर्थ आवधिक उदारवाद हुन सक्दैन ।
यदि अहिलेको बुट नीति यथावत रहे कालान्तरमा यस्ता पूर्वाधार क्षेत्रको कर्पोरेट र व्यक्तिगत सम्पत्ति सरकारको स्वामित्वमा गई पुनः सरकार नै पूर्वाधार र सेवा उद्योगको मालिक हुने प्रणाली सुरु हुन जानेछ । सरकार कर्पोरेट वा निजी सम्पत्तिको स्वामित्वहरण गर्ने मोडेलका नीति निर्माणमा लाग्नु हुन्न । यसकारण बुटको हस्तान्तरणको नीति खारेज गरी कर लिने नीतिमात्र लागु गर्नुपर्छ ।
८. सौता सोच्न बन्द गर
उर्जा संकट बढ्दै जाँदा अनेक बहानामा जलविद्युतको सौताका रुपमा अन्य बैकल्पिक उर्जा प्रस्ताव गर्ने गरिएको छ । अहिले सौर्य विद्युतको कुरा उठिरहेछ । ५०-५१ सालताका तात्कालीन अर्थराज्यमन्त्री महेश आर्चायले प्राकृतिक ग्यासबाट विद्युत निकाल्ने अनौठो प्रस्ताव गरेका थिए । अहिले हावाको विद्युतको हावा पनि निकै चलिरहेछ ।
प्रकृति माताले सबैलाई सबैथोक दिएकी छैनन् । हामीलाई पानी दिएकी छिन् । यसर्थ यसैमा हाम्रो सम्वृद्धि खौजौं, यसैको प्रवर्धन गरौं । यसैबारे एकलव्य चिन्तन गरौं । यसलाई कुनै पनि बहानामा सौता हालेर ध्यान बाँड्ने काम गरी माफिया विशेषलाई व्यापारको अवसर नदिइयोस् ।
उल्लेखित नीतिहरुमा सकारात्मक वातावरण निर्माण होला भन्नेमा खास आशावादी हुने ठाउँ छैन । वर्तमान उर्जामन्त्री र वित्तमन्त्रीको स्थितिले पनि त्यही पुष्टि गर्छ । तर, प्रधानमन्त्रीबाट आइरहेका केही अभिव्यक्तिले आशा पनि जगाएको छ ।
यसै पनि धर्मराजको अभयदानस्वरुप प्राप्त समय प्रधानमन्त्रीले राष्ट्रलाई दिइरहनुभएको छ । आफ्नो पदको ओझ सम्झेर अभिव्यक्ति शैली परिवर्तन गर्नुहोस्, यस्ता नीतिहरु अवलम्वन गरी ढिलै भए पनि आफ्ना वचन सत्य सावित गर्ने कोशिस गर्नुहोस् ।
कम्युनिष्टलाई सत्ता, सदन, सडक र जंगलमा धरी देख्न नचाहने यो स्वप्नकारका शब्द ब्रम्ह वाक्य बनुन्-उल्लेखित कर्म गरी तपाईको दलको शासन दशकौं चलोस् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

- See more at: http://www.onlinekhabar.com/2016/01/381361/#sthash.QLTf6GY6.dpuf

Sunday, January 31, 2016

‘महाधिवेशन गर्नुअघि कांग्रेसले जनतासँग माफी माग्नुपर्छ’ एक पूर्वकांग्रेसीको तिक्तोपदेशः महाधिवशेनलाई सुझाव - See more at: http://www.onlinekhabar.com/2016/01/376895/#sthash.l5tPz9Jc.ynEzastY.dpuf

महाधिवेशन गर्नुअघि कांग्रेसले जनतासँग माफी माग्नुपर्छ’

एक पूर्वकांग्रेसीको तिक्तोपदेशः महाधिवशेनलाई सुझाव

२०७२ माघ ५ गते १९:१५ मा प्रकाशित
अरुणकुमार सुवेदी
नेपाली कांग्रेस महाधिवेशनको चटारोमा छ । आन्तरिक द्वन्द्व र सत्ता सम्भावनाको चाकाचुलीमा हल्लिइरहँदा उसलाई मुलुक र जनताका समस्याप्रति यथेष्ट ध्यान दिने मौका सायद मिलिरहेको छैन । संसद र सडक दुबैमा कांग्रेस चुपचाप देखिन्छ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
काग्रेसका सबै नेता-कार्यकर्ताहरु गच्छेअनुसार श्रम र पैसा खर्च गर्दै आ-आफ्नो स्थानमा फिरेका छन् । गुटैगुट र गुटभित्र पनि फुटैफुटको पछिल्लो परम्परा बोकेको कांग्रेसमा आ-आफ्नो गुट उपगुटको स्वार्थबमोजिम अर्काको चीरहरण गर्ने संस्कार राम्ररी गढिसकेको छ । त्यसको अनुसरण कांग्रेसजनले घटाएर होइन, बढाएर गरिरहेछन् । अर्थात एक कांग्रेसले अर्काे कांग्रेसलाई दिगम्बर बनाउने उद्यम अब केही महिना राम्ररी नै चल्नेछ र अन्ततः दिगम्बरहरु नै भेला भएर महाधिवेशनको अन्तिम औपचारिकता पूरा गरिनेछ ।
वि.सं. ०४६ सालपछिको कांग्रेस अझ गिरिजाको गन्तव्य र उद्देश्यविहीन कांगे्रसको नीति र विधिको कुरा गर्नु खासै अर्थ संज्ञक छैन । त्यहीमाथि पूर्वकांग्रेसीबाट आएको विचारले कुनै अर्थ पनि नराख्ला । त्यै पनि बोल्ने लेख्ने स्वतन्त्रताका लागि जीवनभर संघर्ष गरेको व्यक्तिका हैसियतले केही लेख्ने प्रयत्न गरेको छु ।
लभ गर्ने उमेरमा जेल गएर गरी खाने उमेरमा झोला बोकी गाउँगाउँ भौंतारिएको सूद सम्झि एर आत्मरति गर्ने बाहेक अरु कुनै अपेक्षा पनि छैन ।
नेपालको राजनीति बजारमा कांग्रेसको नेतृत्व र ‘बडे भाइ’ भारत बारेमा कुनै पनि सुझाव दिनु आत्मघात बाहेक केही होइन भनिन्छ । तर, आफ्नो राजनितिक अभिष्ट नभएपछि यो छुट प्राप्त भएको छ । यसै पनि बाहिरबाट आएका त के आफ्नै दलभित्रका अलग गुटबाट आएका राय सुझाव कांग्रेसका लागि तिक्तोपदेश नै हो ।
नीतिमा अर्कमण्य र मतिमा स्खलित कांग्रेस इतिहासका सबैभन्दा ठूला खलनेता गिरिजाप्रसाद कोइरालालाइ शिखर पुरुष मानेर उनकै पदचापमा हिँडिरहेको वर्तमानमा कांग्रेसले नीतिका कुरा कति सुन्ला ? आफैमा अनुत्तरित छ ।
सबभन्दा पुरानो ठूलो दल भएको हुँदा उसमा ठालुपन हुनु अनौठो होइन त्यसमाथि अरुको कुरा सुन्ने फुर्सत र तहसम्म नभएका डाक्टर सावहरु नाैं चिरन्तन नीति अभियन्ता हुनुहुन्छ । उहाँहरुको चर्को हितोपदेश छाडेर स्वप्नकारजस्तो अकिञ्चनको विचार सुन्ने फुर्सत सायदैलाई होला । त्यै पनि नेपाली कांग्रेसको महाधिवेशनको हल्लैहल्लाको सुनसानमा ‘जरा हटके सोचने’ कोही निक्लेला कि भन्ने झिनो आशाले स्वप्नकार केही तिक्तोपदेश सम्प्रेषण गर्दछ ।
गिरिजाप्रसादका तर्फबाट उनका पदचिन्हमा हिँडेका वर्तमान बाँकी नेताहरुले मुलुकको यो अवस्थाप्रति मुलुकवासीसमक्ष क्षमायाचना गर्नुस्
१ मुलुक इतिहासकै गम्भीर संकटमा छ । ०४६ साल पश्चात कांग्रेसले उपयुक्त आर्थिक सामाजिक नीति अवलम्वन गर्न नसक्दा उत्पन्न भएका दुष्परिणामहरुको बृहत रुप हो यो । यसैको एक सह-उत्पादन थियो माओवादी नृशंश विद्रोहको सामाजिकीकरण र राजनीतिकरण । मुलुकको यो दुर्गतिको कारण कांग्रेसको गलत नीति र दृष्टिकोण नै हो । यसका प्रमुख कारणी कांग्रेसका शिखर पुरुष तात्कालीन सभापति गिरिजाप्रसाद कोइराला नै हुन् । यो स्थिति निर्माणका कारणी दिवंगत नेता गिरिजाप्रसादका तर्फबाट उनका पदचिन्हमा हिँडेका वर्तमान बाँकी नेताहरुले मुलुकको यो अवस्थाप्रति मुलुकवासीसमक्ष क्षमायाचना गर्नुस् ।
२. माओवादका नाममा गरिएको सशस्त्र विद्रोहका क्रममा भएका नृशंश हत्या र आक्रमणका जिम्मेवारहरु राष्ट्र र जनताका विरुद्धमा पञ्चखत गर्ने खतुकी थिए । मुद्दा चलाउनुपर्ने खतुकीहरुलाई प्रजातान्त्रिक पद्दतिको किङ्कमेकर बनाउने अधम काम विदेशीहरुको मार्गनिर्देशनमा भएकै हो । यसका प्रमुख जिम्मेवार पनि तात्कालीन नेता गिरिजाप्रसाद नै हुन् । यस्तो परपीडक र प्रतिकृयात्मक राजनीतिको परिणाम देश र जनताले झेलिरहेछन् । यसर्थ प्रचण्ड र उनको नेतृत्व समूहमाथि हेगमा मुद्दा नचलाई सबै खतहरुबाट उन्मुक्ति दिने काम कांग्रेसकै नेतृत्वमा भएको हो । यसका लागि जनतासामु माफी माग्नुस् ।
बिलोम नीति लिएर मुलुकलाई भड्खालोमा हाल्ने रामशरण महतलगायतका नीति अभियन्ताहरुलाई दायित्व मुक्त गर्ने घोषणा गर्नुस्
३ आफूलाई प्रजातान्त्रिक समाजवादी दल मान्नेले विगतमा लिएका नीतिले सामाजिक क्षेत्रको अस्वस्थ व्यापारीकरण गर्ने र जाँड, बिँडी, बोका जस्ता बस्तुको व्यापारमा राज्य संलग्न हुने काम भयो । त्यसले सामाजिक बहिस्करण एवं वर्ग विभेदलाई गहिराएर भ्रष्टाचार मौलाउने र बिद्रोह बढाउने स्थितिसमेत निर्माण भयो । यस्तो बिलोम नीति लिएर मुलुकलाई भड्खालोमा हाल्ने रामशरण महतलगायतका नीति अभियन्ताहरुलाई दायित्व मुक्त गर्ने घोषणा गर्नुस् ।
४ मुलुकको निर्माताप्रति प्रस्तावनामा कृतज्ञताको एक शव्द उल्लेख नभएको, आइएनजिओलाई संवैधानिक हैसियत दिने आर्थिक र औधोगिक विकासका लागि सत्रु प्रावधान राखिएको सांस्कृतिक अतिक्रमणकारीको ठाडो आदेशमा धर्म निरपेक्ष संविधान बनाई भारतको वर्तमान संस्थापना र चीनलाइ प्रतक्ष्य दुःख दिने पूर्वाधार तयार पार्नेलगायतका प्रावधानसहितको संविधान बनाई देशलाई विग्रह र विखण्डनतर्फ धकेल्ने काम कांगे्रसकै नेतृत्वमा भयो । यसका लागि पनि नेपालीजनता, मित्रराष्ट्र भारत र चीन सरकारसँग माफी माग्नुस् ।
आफ्नो विगतको मूल्यांकनसहित यति आत्माआलोचना गरेपछि उप्रान्त लिने नीतिबारे पनि किरिया खानुहोस् ।
१ इतिहासकै नालायक भुसको बोरा जस्तो आयतन भएको घनत्व विहीन, सांस्कृतिक अतिक्रमणमैत्री छिमेकद्रोही, राष्ट्रनिर्माताप्रति कृतघ्न, राष्ट्र र मानवताविरुद्ध हत्या र आतंक मच्चाउनेलाई महिमान्वित गरी लेखिएको संविधानलाई यथाशीघ्र खारेज गर्न राजनीतिक पहल गर्ने ।
उप्रान्त नेपाली विविधताको योजक सांस्कृतिक सुत्र हिन्दुराष्ट्रवादको पक्षमा कांग्रेस लाग्ने छ । र, धर्म निरपेक्षताको विरुद्धमा उभिने छ भनी किरिया खानुस् ।
अबको कांग्रेस महाधिवेशनले पारित गरेर नै या त पहिचानसहितको संघीयता, या एकात्मक राज्य भनी निर्णय गर्ने छ र सोही अनुसार कांग्रेस अगाडि बढ्ने छ भनी घोषणा गर्नुस्
२ अब कांग्रेसले अलग आर्थिक-सामाजिक नीति-मोडेलमा राष्ट्रको प्रगतिको खाका कोर्ने छ । सामाजिक क्षेत्रको जिम्मा राज्यले लिने छ । शिक्षा र स्वास्थ्य सेवाको राष्ट्रियकरण वा ट्रष्टकरण गरिनेछ । सरकारी व्यापारिक प्रतिष्ठानहरु सबै निजीकरण गरिनेछन । राज्य अति ठूला पूर्वाधार आयोजनाहरुमा मात्र प्रवर्धक बन्ने छ । कुनै पनि पूर्वाधार आयोजनाको आयमा प्रत्यक्ष-परोक्ष सरकारी नियन्त्रण हुन सक्छ भने त्यस्ता आयोजनाले लिने विदेशी कर्जाका लागि राज्यले जमानत दिनेछ । यी नीतिहरु मार्फत देशको दु्रत र बृहत बिकासमा कांग्रेस अघि बढ्ने छ भनी प्रतिवद्धता जनाउनुस् ।
वर्तमान भूमिसुधार नीतिमा पूर्ण पुनरावलोकन गरी सामाजिक न्यायसंगत बनाइने छ । उत्पादनशील भूमिमा हदबन्दी हटाइने छ र अनुत्पादक भूमि वा शहरी घरघडेरीमा हदबन्दी लगाइनेछ । यी लगायत कृषि तथा भूमि नीतिमा आमूल परिवर्तनको किरिया खानुस् ।
३ परम्परागत समदुरीको बिदेश नीति असफल मात्र भएन, नेपालका लागि प्रत्युत्पादक समेत भएको छ । यसर्थ अब कांग्रेसले भारत र चीन केन्द्रित विदेश नीति अवलम्बन गरी अरु राष्ट्रहरुलाई दोस्रो प्राथमिकतामा राख्दै नेपालको विदेश नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुहोस् ।
४ परिवर्तित विदेश नीतिका आधारमा कोशी उच्चबाँध, कणर्ाली चीसापानी परियोजना, महाकाली पञ्चेश्वरलगायत गंगा उपत्यका रणनीतिक योजनाअन्र्तगत कल्पना गरिएका जलाशयहरु र भारतको नदी जोड परियोजनालाई एकाकार गरी नेपालको हितका लागि कार्यन्वयनको दिशामा कांग्रेस लाग्ने छ । यसलाई चीनले कल्पना गरेको सील्क रोड इर्नजी कोरिडरबाट दक्षिण एशियाको जनसंख्यालाई उर्जा आपूर्ति गर्ने सपनासँग तादम्य राखी अगाडि बढ्ने दृढता राख्नोस् ।
५ अहिले संघीयता सबैभन्दा पेचिलो विवादको विषय बनेको छ । यसको मोडेलबारे कांग्रेस अर्कमण्य रहिरहन सक्दैन । विगतमा संघियतालाई मान्ने तर यसको आधार सिद्धान्त पहिचानलाई अस्वीकार गर्नाले यो स्थिति आएको हो । अबको कांग्रेस महाधिवेशनले पारित गरेर नै या त पहिचानसहितको संघीयता, या एकात्मक राज्य भनी निर्णय गर्ने छ र सोही अनुसार कांग्रेस अगाडि बढ्ने छ भनी घोषणा गर्नुस् ।
उप्रान्तका कुराहरु आंगीक मात्र हुन् आगे महाधिवेशनलाई कुम्भमेला बनाउने कि फलदायक ? निर्णय गर्नुहोला । विज्ञेशु किमधिकम् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/376895/#sthash.l5tPz9Jc.ynEzastY.dpuf

Monday, January 18, 2016

कन्फ्युज्ड मधेसी, विवश मोदी र असभ्य भारत विरोधी

कन्फ्युज्ड मधेसी, विवश मोदी र असभ्य भारत विरोधी  |  Published: December 28, 2015  |  सोमबार 13 पुष, 2072  |  12:28 PM  |  Viewed: 1752 times

अरुणकुमार सुवेदी -
विगत ३/४ महिनाको समय नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभाव र त्यसको सकारात्मक/नकारात्मक असरहरु उपर चर्चा गर्नमै नेपाली प्रेस, आम जनता, बुद्धिजीवी र राजनीतिक क्षेत्र केन्द्रित भएको छ । आर्थिक, सामाजिक मुद्दा, विकास निर्माण सबै ओझेलमा परेका छन् । आन्तरिक राजनीतिक समस्या, भारतसँगको कुटनीतिक असफलता र रणनीतिक गोलचक्करकापरिणतिस्वरुप आएको नाकाबन्दीले जनजीवन कष्टकर भइरहेको बखत सबैलाई मन नपर्ने बिषय राजनीतिमा केन्द्रित हुनुपर्ने खण्ड पर्‍यो र विगत केही समयदेखि राजनीतिक, कुटनितिक शीत द्वन्द्व र रणनीतिका लुकामारीको मारमा परेको अव्यवस्थित नेपाली राजनीतिमाथि केही टिप्पणी गर्नैपर्ने हुन्छ ।
कन्फ्युज्ड मधेस (मधेसी)
मधेश आन्दोलन जे उद्देश्यबाट जसको पृष्ठपोषणमा उठाईएको थियो, तिनीहरुको तत्कालिन उद्देश्य पूर्ति भइसकेता पनि आन्दोलनको अवतरण गर्नलाई सकस परेको अवस्था छ । संविधानको मस्यौदा आउनसाथ वीरगंजबाट स्वःस्फुर्त सुरु भएको धर्म निरपेक्षता विरुद्धको आन्दोलनले अहिलेको संविधानको सुत्रधारहरुलाई सतर्क बनायो । विकराल स्वरुप ग्रहण गर्न सक्ने उक्त आन्दोलनलाई निस्तेज पारी धर्म निरपेक्ष संविधान लिएर आउन तीनवटा रणनीतिलाई अख्तियार गरेको देखिन्छ । पहिलो रणनीति अन्तर्गत संविधानसभा बाहिर रहेको र उपद्रो मच्चाउन सक्षम समुह वैध माओवादी र चन्द माओवादीलाई लिपुलेकको मुद्दा दिइयो । जसले चीन र भारत दुबैलाई बचावको अवस्थामा पु¥यायो । सांस्कृतिक अतिक्रमण र धर्मनिरपेक्षता प्रति असहमत चीन र भारत लिपुलेक मुद्दाको बचावको रणनीतिमा लाग्नु प¥यो । दोस्रो रणनीति अन्तर्गत नेपाली कांग्रेस र अरु दलका केही उच्च नेताहरुलाई हिन्दु राष्ट्र परस्त भएको आम प्रभाव पार्न र हिन्दु राष्ट्रवादीलाई आक्रामक बन्न नपर्ने जस्तो वातावरण निर्माण गर्न लगाईयो । तेस्रो रणनीति अन्तर्गत भारतको धर्मनिरपेक्षतावादीहरुले मधेसका कद्दावर नेताहरुलाई लखनउमा डाकेर मधेस आन्दोलनलाई अगाडी बढाउन तयार पारियो ।
यसै नीति अन्तर्गत तराईमा भइरहेको आन्दोलनमा नेपालका शासकहरुले भारतको केन्द्रलाई दोषारोपण गरेर मोदीलाई अरु बचावको अबस्थामा पुर्‍याए भने तराईका नेताहरु पनि त्यही प्रभाव दिन पछि परेरन् । यो सबै बखेडामा मधेसका जनतामाथि पृथकतावादीको प्रभाव बढ्दै गयो । भारतको केन्द्रीय सरकारको ठूलो समर्थन छैन भन्ने कुराको ज्ञान भएका भारतको धर्म निरपेक्षतावादी प्रतिपक्षसँग असल सम्बन्ध रहेका नेपालका शासक दलहरुले यही मौका छोपेर मधेसका मुल प्रवाहका नेताहरुलाई कुनामा धकेल्ने र भारतको केन्द्र सरकारलाई घेर्ने काम सुरु गर्‍यो । अब आएर मधेसका युनियनिष्ट शक्तिहरुमा ठुलो अकर्मण्यता छाएको छ । धर्म निरपेक्षतावादी संविधान आइसकेको अवस्थामा अवतरणको स्थान खोजौँ त पुरा नांगिने, आन्दोलन हाँकौ भने झन् युनियनिष्टहरु कमजोर हुँदै जाने अवस्था छ ।
मधेस आन्दोलनका कारणले बिहार चुनाव हारेका, मधेसका कुनै नेताहरुसँग खास सम्बन्ध नभएको तर मधेस आन्दोलनबाट यथेष्ट अपजस भोगेका मोदी पनि अब एक्सनमा निस्किएका छन् । यही एक्सनको एउटा पहल हो मधेसी नेताहरु माथिको दिल्ली ‘समन’ । अब मधेसी नेताहरुले कित्ता क्लियर गर्नुपर्ने हुन्छ । यदी मोदीसँग ‘प्याचअप’ हुने भए धर्म निरपेक्षता विरुद्धको अभियान लिएर मधेसी दलहरु आउनै पर्छ, अन्यथा धर्म निरपेक्षतावादीको सल्लाहमा कांगे्रसको संविधान संशोधनको प्रस्तावबाट फेस सेभ गरी अवतरण गर्नैपर्छ । जे गरे पनि मधेस मुद्दामा किचलो भने लामै चल्ने स्पष्ट छ । अब मधेसी नेताहरुले मोदीको निर्देशनमा अगाडी बढ्ने बाचा गरे धर्म निरपेक्षता पक्षधर भारतीय दलहरुले किचलो बढाउनेछन् । नभए भारतको केन्द्र सरकार नै मधेस आन्दोलनको दमनको शुप्त मतियार हुनेछ । यो दोधारको अवस्थाले मधेसका नेताहरु स्पष्टताका साथ उभिन सकिरहेका छैनन् ।
नयाँ शक्ति ठुलो खर्चको फितलो तुरुप
नेपाली कांग्रेसको तराई जनमत धरापमा पर्दै जानु र धर्म निरपेक्षताको कारणले परम्परागत आधार पनि खस्कने क्रममा रहेबाट कांग्रेस पार्टी कुनै पनि बेला आफ्नो जनाधार व्यापक बनाउने क्रममा धर्म निरपेक्षताको विरुद्ध लाग्ने सम्भावना टड्कारो देखिन्छ । यसका केही नेताहरुले यस्तो अडान राख्दै आएका छन् भने कार्यकर्तास्तरमा यस पक्षको अत्याधिक बहुमत नै छ । यस कारण भारतका धर्म निरपेक्षतावादी शक्ति र पश्चिमलाई कांग्रेस विश्वासिलो भइ नरहेको अबस्थामा नयाँ सेक्युलर शक्तिको आवश्यकता खस्किन थाल्यो । यही आवश्यकताको पूर्ति हेतु भारतको धर्म निरपेक्षतावादी कोखबाट पश्चिमा बीजले ‘सेरोगेसी’ गरी जन्माउन लागेको दलको गर्भरुप नै बाबुरामजीको नयाँ शक्ति हो भन्ने मेरो विश्लेषण छ । यसैले बाबुराम भट्टराईले पहिचानको मुद्दालाई सम्बोधन गर्ने तर सबै जातिको महाजाति पहिचान अर्थात हिन्दु पहिचानलाई अस्वीकार गर्ने लाईन लिनुभएको छ । योजक पहिचानलाई समाप्त पारेर जातीय पहिचानलाई उग्र पारिनु कालान्तरमा विखण्डनको अवस्था निर्माण गर्ने प्रारम्भिक रणनीति हो भन्ने मेरो ठहर छ । उहाँका अहिलेका क्रियाकलापहरु पनि मधेसीहरुलाई आफुसँग सहकार्य गराउने र मोदीसँग दुरी कायम गराई भारतीय प्रतिपक्षको रणनीतिक साझेदार बन्ने तर्फ उन्मुख देखिन्छ ।
विवस बन्दै मोदी
मोदीको नेपाल नीति र सांस्कृतिक राष्ट्रवादको पक्षपोषणलाई असफल बनाउन सहकार्य गरेका नेपालका दलहरु, भारतको प्रतिपक्ष र केही मधेसी दलहरुका कारणले अहिले आएर मोदीलाई प्रतिपक्षबाट मात्र नभएर आफ्नै दलभित्र पनि ठुलो विरोध खेप्नु परेको छ । भारतका सबै प्रतिपक्षहरुले नेपाल नीतिको विरोध र धर्मनिरपेक्षतावादी संविधानको समर्थन गरेका छन् । कम्युनिष्ट, जनता परिवार र राष्ट्रवादी कांगे्रसका नेता खुलेरै बोलीसकेका छन् । नेपालको संविधान भारतको पनि आन्तरिक राजनीतिको महत्वपुर्ण मुद्दा बनिरहेको छ । अहिले भारतको प्रतिपक्ष राजनीति र नेपालको राजनीतिक दलहरुको रवैया विश्लेषण गर्दा केही अन्तरिम समाधान भएता पनि नेपाल–भारत सम्बन्धको तनाव भारतको अर्को आम चुनावसम्म सहजै समाधान नहुने देखिन्छ ।
शक्तिशाली नेताका रुपमा नरेन्द्र मोदीको उदय र उनको चीन नीति अगाडी आउनासाथ गुरु योजना अन्तर्गत पश्चिमाहरुले नेपाललाई उपयोग गरेर भारतमाथि अर्को किसिमले खेल्न थाले । गैर सरकारी संस्था र सञ्चा्रको चलाखीपूर्ण प्रयोगले मोदीको कद्दावर उपस्थिती मै दिल्लीमा अरविन्द केजरीवालको सरकार अत्याधिक बहुमतले बन्न पुग्यो । वस्तुत ः त्यो सरकार आईएनजिओ परस्त सरकार हो । अहिले बिहारमा पनि त्यही रणनीति लगाएर नेपाललाई उपयोग गरेर नितिश–लालु सरकार बन्न पुग्यो । यी घटनाहरुको स्पष्ट संकेत छ, अब आउने निर्वाचनमा भारतमा भ्यागुताको धार्नी सरकार बन्ने सम्भावना छ । स्वाभाविक रुपले त्यस्तो सरकार कमजोर हुनेछ र पश्चिम परस्त पनि । त्यो समुह नै भारतमा चीनको उग्र विरोधमा लागिरहेको समुह हो वर्तमानमा । त्यही सरकारले नेपालसँगको सम्बन्ध सरल बनाउने छ । पश्चिमले भारतलाई भन्ने छ म नेपाललाई तिम्रै आँखाले हेर्छु । त्यसपछि नेपालमा जे गर्न चाहेका छन् उनीहरुले, त्यही गर्नेछन् । यो अवस्थालाई भारतको परम्परावादी कर्मचारी तन्त्र र थाराकान पन्थी ‘रअ’ को सहयोग अवश्य मिल्नेछ । यी सबै अवस्थाले मोदीलाई एउटा विवश नेतामा रुपान्तरित गर्दैछ ।
असभ्य भारत विरोधी
नेपाल–भारतको वर्तमान तनाव र मधेस आन्दोलनलाई लिएर सामाजिक सञ्जाल र केही हदसम्म छापा सञ्चार माध्यममा समेत अभिव्यक्त भारत र मधेस विरोधी विचारहरुमा प्रयोग भईरहेको शब्द र भाषाले सभ्यता र अनुशासनको तमाम सीमा नाघेका छन् । यस्तो भाषिक प्रयोगले दुनियाँमा नै समस्त नेपाली जातिको अभिव्यक्ति सभ्यतामा ठुलो प्रश्न उत्पन्न भएको छ । साथसाथै भारत र मधेसको तनावलाई शिथिलिकरण को सट्टा भड्काउने अवस्था निर्माण भएको छ ।
राजनीतिमा ‘टर्निङ प्वाइन्ट’
केही समय अगाडीसम्म राजनीतिमा ठुलो ‘टर्निङ प्वाइन्ट’ को संकेत नदेखिएता पनि अब अपरिहार्य झैँ प्रतीत भएको छ । नेपाललाई राष्ट्र नै विघटन वा असफल वा अराजक हुने स्थितिबाट बचाउन कहीँबाट पनि अन्तिम प्रयत्न हुन सक्छ । र त्यो सेनाको उल्लेख्य भुमिका सहितको हुन सक्छ ।
- See more at: http://www.imagekhabar.com/samachar/detail/56609/68/.meroml#sthash.mwqsOr6o.dpuf

गैरकम्युनिष्टको नजरमा बाबुरामको नयाँ शक्ति

गैरकम्युनिष्टको नजरमा बाबुरामको नयाँ शक्ति

बाबुरामले आत्मालोचना गर्नुपर्छ कि पर्दैन ?

२०७२ पुष १८ गते १७:४२ मा प्रकाशित
 407  13 
  0
baburam
अरुणकुमार सुवेदी
चार दशकभन्दा लामो कम्युनिष्ट राजनीतिलाई छाडेर गैरकम्युनिष्ट नयाँ शक्ति बनाउन लागि परेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई अहिले राजनीतिक माहौलमा चर्चा/कुचर्चाका प्रमुख पात्र बनेका छन् ।
आफ्नो कम्युनिष्ट राजनीतिको उत्कर्षमा एकाएक हिंसापूर्ण शसस्त्र विद्रोहका अभियन्ता बनी जंगल पसेको र सशस्त्र विद्रोहलाई एक दशकपछि बिसर्जन गरेका भट्टराई गैरकम्युनिष्ट राजनीतिको मार्गमा हिँड्नु यस स्वप्नकारलाई अलि अनपेक्षित परिवर्तन लागेको छ ।
वहाँ र वहाँकै समूहमा आवद्ध भइरहेका कम्युनिष्ट भावभूमिबाट प्रेरित र क्रियाशील ठूलो जमातमा एकाएक आएको परिवर्तन नाटकीय हो या स्वभाविक समयले अवश्य बताउला । अहिलेलाई भने नयाँ राजनितिक दलको गर्भका रुपमा रहेको नयाँ शक्तिउपर केही विश्लेषण गर्ने जमर्को गरिन्छ ।
नेपालको राजनीतिक इतिहासमा काँग्रेसको विकल्पमा प्रजातान्त्रिक धारका नयाँ राजनितिक शक्ति निर्माण गर्ने कोशिस २००७/८ साल देखि नै अनवरत हुँदै आएको हो । काँग्रेस बाहिर र काँग्रेसभित्रबाट पनि त्यसका लागि सघन प्रयत्न भए । डा. डिल्लीरमण रेग्मी, मात्रिकाप्रसाद कोईरालादेखि प्रदिप गिरी हुँदै जगन्नाथ आचार्यसम्मले प्रयत्न गरेकै हुन् ।
यो स्वप्नकारले पनि पछिल्लो अध्यायमा आएर त्यसका लागि एउटा ‘प्लप शो ‘ गरेकै हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शक्ति सहित नेपाली काँग्रेसलाई झण्डै ठाडो विभाजन (भर्टिकल स्प्लिट) गराएकै हुन् । तर, पनि यी सबै प्रयत्न अन्ततः निष्फल भए ।
मुलुकका यी पछिल्ला दुई दशकमा नेपाली कांग्रेस अकर्मण्य, भ्रष्ट, निश्प्रभावी र विपथगामी भएकै हो । यस्तो अवस्थामा नै इतिहासमा काँग्रेसले सबभन्दा ठूलो विभाजन पनि भोग्यो । तैपनि यसका विकल्पमा नयाँ प्रजातान्त्रिक शक्ति स्थापना भएन । किन ? स्वप्नकारलाई यो अनौठो सैद्धान्तिक र शास्त्रीय (क्लासिकल) प्रश्नको कसीमा बाबुरामजीको प्रयत्नलाई रगडेर हेर्ने उत्सुकता भयो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
विभिन्न वादका कुरा सुन्दा-सुन्दा वर्वाद भएको मुलुकमा फेरि वादकै चर्चा गर्नु मेरा लागि पनि प्रिय विषय हैन । तथापि यो राजनीतिको सैद्धान्तिक विश्लेषणसँग वाद नआई छाडदैन ।
नेपाली काँग्रेसको विकल्पमा नयाँ प्रजातान्त्रिक शक्ति स्थापित हुन नसक्नुका पछाडि एउटा महत्वपूर्ण सैद्धान्तिक कारण छ । नेपाली काँग्रेसले नयाँ शक्ति स्थापित हुन सक्ने दुईवटा सैद्धान्तिक धरातल ओगटेर बसेको छ । नेपालमा यसको विकल्पमा कम्युनिष्ट र सक्रिय राजतन्त्रवादी रहेको अवस्थामा प्रजातन्त्रको एकल धु्रब हुने शौभाग्य कांग्रेसलाई प्राप्त भयो भने सामाजिक न्यायको मुद्दा लिएर स्थापना हुन सक्ने प्रजातान्त्रिक समाजवादी धरातल पनि यसले ओगटी दियो । यही सैद्धान्तिक कारणले दक्षिणपन्थी प्रजातान्त्रिक धरातल र प्रजातान्त्रिक समाजवादी धरातल कुनै मा पनि नयाँ शक्ति निर्माण हुन सकेनन् ।
अर्को सैद्धान्तिक धरातल कम्युनिष्टमा बारम्बार नयाँ शक्ति स्थापित हुने र पतन हुने प्रक्रिया निरन्तर रह्यो । जनवादी केन्द्रीयताको श्वैर कल्पना /सपना देखाएर संगठन निर्माण गर्ने र निश्चित शक्ति आर्जन गरेपछि बहुदलीय व्यवस्थामा अवतरण गर्ने नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक नियति बनेको छ । फेरि पनि यही कारणले जनवादी केन्द्रियताको सपना त्याग्न नसक्नेहरुले अर्को कम्युनिष्ट पार्टी बनाएर पुनः शक्ति आर्जनमा लाग्ने ? यसको पछिल्लो उदाहरण माओवादी पार्टी हो ।
माथिका दुबै सैद्धान्तिक धरातलमा बाबुरामजीको पार्टीलाई खडा हुन सहज देखिन्न । अझ दोस्रो धरातलको सन्दर्भमा त वहाँले गैरकम्युनिष्ट पार्टी खोल्न लाग्नुभएको कुरा स्पष्ट गरेबाट त्यो मार्गमा जाने कुरै भएन । नेपालमा भुरेटाकुरे राजनीतिक दलहरु पनि माथिका कुनै न कुनै सैद्धान्तिक धरातलमा नै उभिएका छन् । अब बाबुरामजी कहाँ उभिने वहाँले स्पष्ट पार्नु पर्छ ।
आफुलाई शास्त्रीय शैली र सैद्धान्तिक धरातलीय आँखाबाट नहेर्न भनिरहेका नयाँ शक्तिका बिज शोचक डा. बाबुराम भट्टराई आफैँमा धेरै शंकाको घेराभित्र पनि हुनुहुन्छ । राजनीतिक नैतिकताको कसीमा पनि वँहाले जबाफदेहिता देखाइरहनु भएको छैन । यसकारण वहाँले पार्टीको औपचारिक घोषणा गर्नुपूर्व यी पक्षको प्रष्टीकरण जनतासामु राख्नुपर्ने हुन्छ ।
केही तत्कालीन मुद्दालाई पक्डिएर क्षणिक मत लिई सत्तारोहण गर्नलाई कहीँको डिजाइनबाट ल्याइएका भारतीय राजनीतिक पात्र अरविन्द केजरीवाललाई डा. भट्टराईले रोल मोडल त मान्नुभएको छैन ? गम्भीर प्रश्न छ ।
दिल्लीको हावासँग हल्लिने नेपाली राजनीतिको चरित्रमा नै वहाँ पनि सामेल हुनुभएको आरोप छ वहाँमाथि । भारतमा बढ्दै गएको ‘मोडरेट कञ्जरभेटिभ ‘ सांस्कृतिक राष्ट्रवादीहरुको पकडलाई चुनौति दिन पश्चिमाहरुले आएनजीओ र सञ्चार माध्यमहरुलाई उपयोग गरेर ल्याइएका व्यक्ति हुन् केजरीवाल । ठीक त्यही मोडेलमा नेपाली काँग्रेेस ‘सेकालारिज्म’ को मुद्दामा ढुलमुले देखिएका बखत भारतीय ‘सेकुलारिष्ट’ पश्चिमाहरुको बिजारोपणबाट जन्माउन लागिएको राजनीतिक शक्ति त हैन नयाँ शक्ति ? यस्तो प्रश्न पनि त्यतिकै महत्वपूर्ण छ ।
जनताका लागि कर्णप्रिय लाग्ने मुद्दा केजरीवालले भ्रष्टचारलाई बनाएका थिए भने डा. बाबुरामले आर्थिक बिकासलाई बनाइरहेका त छैनन् ? यी शंका र तर्कपूर्ण आरोपको सन्तोषजनक जबाफ नयाँ शक्तिका अभियन्ताले दिनुपर्ने हुन्छ ।
नयाँ शक्तिका बीजशेचक डा. बाबुराम नेपालका जातीय पहिचान र क्षेत्रीय पहिचानको जवर्जस्त समर्थक देखिनुभएको छ । यी दुबै साँस्कृतिक राष्ट्रियताका धारणाहरु हुन् । तर, जातीय र क्षेत्रीय पहिचानमाथि भइरहेको सांस्कृतिक अतिक्रमणमाथि वहाँ मौन रहनु रहस्यमय विषय बनेको छ ।
व्यष्टिगत पहिचानहरुको पक्षपोषण गर्दा ती सबै पहिचानको समष्टिगत पहिचान वा नेपालका अत्यधिक जातिहरुलाई एक सुत्रमा राख्ने महाजातिको विपक्षमा देखिनु अनौठो बिषय बनेको छ । नेपालका अत्यधिक व्यष्टिगत पहिचानहरुको महाजातीय पहिचान हिन्दु हो ।
आफ्नो उमेरको नेटो ६० काटेपछि र कम्युनिष्ट आन्दोलनमा चार दशकभन्दा बढी काम गरेपछि गैरकम्युनिष्ट पार्टी खोल्नलाई अगाडि बढ्नु भएको छ । जीवनको यो अध्यायमा आएर गैरकम्युनिष्ट हुनु थियो भने आजसम्म वहाँले कम्युनिष्ट भएर गरेका काम कार्यवाही प्रति आत्मालोचना गर्नुपर्छ कि पर्दैन ?
यो नेपाली राष्ट्रियताको सांस्कृतिक मूल आधार हो । यो आधारलाई अस्वीकार गर्ने अनि जातीय क्षेत्रीय पहिचानहरुलाई मात्र बढवा दिने हो भने जसरी सोभियत संघ विभाजन भयो, त्यसरी नै नेपाल पनि कालान्तरमा विभाजन नहोला भन्न सकिन्न । सोभियत संघको कम्युनिष्ट सत्ताले जातीय राज्यहरुलाई राख्ने र ती राज्यहरुको योजक सूत्र इसाई साँस्कृतिक राष्ट्रियतालाई निषेध गर्नाले नै विभाजन भोग्नु पर्‍थ्यो ।
पश्चिमाहरुले बाबुरामजीलाई नेपालको यल्त्सीनका रुपमा उपयोग त गरिरहेका छैनन् ? यस प्रश्नको चित्तबुझ्दो जवाफ वहाँहरुबाट आउनैपर्छ । पश्चिमाहरु नेपालको विभाजन किन चाहान्छन् भन्ने बारेमा यथेष्ठ लेखिसकेको छु ।
नयाँ शक्ति सामुहिक प्रयत्न र नेतृत्वको शक्ति हुनेछ भन्ने कुरा डा. बाबुराम भट्टराईले भन्नुभए पनि यो नेपथ्यका सुत्राधारको पटकथाबमोजिम डा. साहेब नयाँ शक्तिको बीजशेचक मात्र हुुनुहुन्छ भन्ने ठहर छ राजनीतिक बजारको ।
परिदृश्यमा बाबुराम भट्टराई एकल पर्याय हुन् । यसर्थ उनको राजनीतिक नैतिकताले नयाँ शक्तिको ओजलाई पूरा प्रभावित गर्ने छ । आफ्नो उमेरको नेटो ६० काटेपछि र कम्युनिष्ट आन्दोलनमा चार दशकभन्दा बढी काम गरेपछि गैरकम्युनिष्ट पार्टी खोल्नलाई अगाडि बढ्नु भएको छ । जीवनको यो अध्यायमा आएर गैरकम्युनिष्ट हुनु थियो भने आजसम्म वहाँले कम्युनिष्ट भएर गरेका काम कार्यवाही प्रति आत्मालोचना गर्नुपर्छ कि पर्दैन ?
वहाँको राजनीतिक जीवनको त्यो अध्याय गलत थियो कि थिएन ? यो प्रश्नको उत्तर पनि वहाँले नैतिकताका आधारमा दिनै पर्ने देखिन्छ ।
नयाँ शक्तिका लागि सैद्धान्तिक स्पेस
नेपाली काँग्रेस लामो समय देखी राजनीतिको एउटा मुलधार हो । त्यस्तै बहुदलबादी कम्युनिष्टका रुपमा एमाले अर्को मूलधारका रुपमा स्थापित भैसकेको छ । यस अवस्थामा ‘मोडरेट कन्जरभेटिभ ‘ धारको स्पेस खाली देखिन्छ । यो धारमा आउने सम्भावना रहेका कमल थापाको राजनीतिक पतन भएबाट यस धारको सम्भावना अझ बढेको छ ।
नेपालको सह-सांस्कृतिक राष्ट्रियता रहेको भारतमा उदय भएको साँस्कृतिक राष्ट्रवादी शक्तिसँग सैद्धान्तिक सामीप्यता राख्ने शक्तिको सम्भावना राम्रो देखिन्छ । तर, यो स्पेसमा आउन सक्ने सम्भावना बाबुरामजीको अतीत र वर्तमानलाई विश्लेषण गर्दा देखिन्न । खाली स्पेसमा नआउने र स्थापित शक्तिहरुलाई विस्थापित गर्ने स्थिति पनि नरहेबाट बाबुरामजीको नयाँ शक्तिबाट निर्मित दल पनि अन्ततः सत्ताको छयांकनका लागि संसदमा जाने एउटा समुह मात्र नहोला भन्न सकिन्न ।
- See more at: http://www.onlinekhabar.com/2016/01/370096/#sthash.l92rOoPS.dpuf