Wednesday, July 15, 2015

काठमाडौंमा जग्गाको भाऊ बढ्ने संकेत

काठमाडौंमा जग्गाको भाऊ बढ्ने संकेत

राष्ट्र बैंक र सरकार नै जग्गा दलालको पक्षमा उभियो

२०७२ असार २७ गते १२:३० मा प्रकाशित
 6735  13 
  2
यस्तो देखिँदैछ कि अब काठमाडौ अझ अनियन्त्रित किसिमले फैलनेछ । टुक्रा जग्गाको मूल्य आकाशिने छ । जग्गाको प्लटिङ व्यवसाय उपद्रो फस्टाउने छ । जग्गा दलाल र भूमाफियाका लागि नयाँ नेपाल निर्माण हुनेछ ।
Arun Subediभूकम्पपछिको आर्थिक नीतिउपर लेखिरहँदा मस्यौदा संविधानले केही अंक बराल्यो । नेपाललाई नै युगौं बराल्नेखालको मस्यौदामाथि स्वप्नकार चुप रहन सकेन र आफ्नो ब्रम्हले देखेको राष्ट्रप्रतिको दायित्व पूरा गर्नै पर्‍यो । यसैबीच अर्को प्रशंग आएको छ, सरकारको नीति तथा कार्यक्रम ।
स्वप्नकारले लेखेका र लेख्ने विषयहरु नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने विषय नै हुन्, तर भएन र हुँदैनन् । जे कुरा उठान भए पनि त्यो एउटा सचेत नागरिकले देखेको कुरा लेख्ने बाहेक केही भएन । लेखिरहनु निस्पृय कर्म मात्र भएको छ ।
फेरि भूमाफिया फस्टाउने संकेत
शहरी आवास तथा भूपयोग नीति भूकम्पको विनासपछिको नव/पुननिर्माणको बहस भइरहँदा केही अनौठा प्रचारहरु आएका छन् । यसले मुलुकको भूउपयोग अवस्था र आवास नीतिमा दुरगामी नकरात्मक असर पर्नेछ ।
अग्ला पक्की घरहरु र अर्पाटमेन्टका बिरुद्ध अत्यन्त नकारात्मक प्रचारहरु आइरहेका छन् । यसमा सञ्चार माध्यमका बिश्लेषणहरु पनि त्यसै प्रकारले संप्रेसित छन् र सरकारका नीतिहरु पनि केही हदसम्म त्यसै प्रचारको प्रभावमा बग्न थालेको प्रतीत हुन्छ । अहिलेको ट्रेन्ड बिचार गर्दा अब काठमाडौ अझ अनियन्त्रित किसिमले फैलने छ । टुक्रा जग्गाको मूल्य आकाशिने छ । जग्गाको प्लटिङ व्यवसाय उपद्रो फस्टाउने छ । जग्गा दलाल र भूमाफियाका लागि नयाँ नेपाल निर्माण हुनेछ ।
मध्यम वित्तीय परिवारका लागि घर प्रायः असम्भव सपना बन्ने छ । सरकारलाई राजस्व खुब आउनेछ, जसका कारण यस्तो स्थितिप्रति सरकारको भद्र सहमति देखिन्छ ।
नक्सा पास र पास भएका नक्शाबाट बन्ने घरका सुपरीवेक्षण नगर्ने तर, बनाउन प्रतिबन्ध लगाउने, कित्ताकाट गरेर गग्गा बेच्न चाँहि छुट दिने, नगर बिकासको कुनै सहमति लिनु नपर्ने । यसमा भूउपयोग नीति को कुनै सरोकार नहुने ।
यस्ता तमाम लक्षणहरु छन्, जसले प्रमाणित गर्छ कि सरकार र राष्ट्र बैक जग्गा दलाल र माफियाकरण मार्फत जग्गाको कारोवार बढाउने पक्षमा छ ।
सरकार र राष्ट्र बैंक जग्गा दलाल र माफियाकरण मार्फत जग्गाको कारोवार बढाउने पक्षमा छ
अहिलेको सरकारी रवैयालाई विश्लेषण गर्ने हो भने सरकार दुईवटा निर्णयमा पुगेको स्पष्ट हुन्छ । पहिलो-राजस्वका स्रोतहरुबाट अपेक्षित राजस्व नउठेपछि राजस्व बढाउने भरपद्रो उपायका रुपमा जग्गाको खरिद-बिक्रीलाई प्रोत्साहन गर्ने । र, दोस्रो- तुरुन्त विदेशी लगानी पनि नआउने र पर्यटन उद्योगको कारोवार खुम्चिएको अवस्था आएबाट बिदेशी मुद्रामा आउने न्यूनतालाई आधार बनाएर नेपाली मुद्राको अवमूल्यन गर्ने ।
यी दुबै कुराका लागि नीतिगत पूर्वाधार मात्र नभएर योजनावद्ध प्रचार-प्रसार पनि सुरु भइसकेको छ । यो कुरा स्वप्नकारले बारम्वार भनी आएको छ । यी दुवै कुरा आत्मघाती हुनेछन् । यस स्थितिबाट मुलुकलाई कसरी बचाउन सकिन्छ भनी पहिले नै चर्चा भइसकेको छ । यसर्थ यस श्रृंखलामा शहरी आवास तथा भूउपयोग नीति कस्तो हुनुपर्छ भन्ने चर्चा गर्ने कोशिस गरिएको छ ।
काठमाण्डौ तथा अन्य प्रभावित शहरी क्षेत्रमा भूउपयोग नीति कडाइका साथ लागु गर्नुपर्छ, जसले आवासका लागि उपलब्ध जमीन झन् घट्न जानेछ ।
जमीनको हदबन्दी घडेरी अर्थात अनुत्पादक क्षेत्रमा लागु गर्नुपर्दछ । आवाशीय प्रयोजनका लागि एक व्यक्तिले कतिवटासम्म, कस्ता-कस्ता घर घडेरी राख्न पाउने भन्ने मापदण्ड तयार हुनु पर्दछ । स्वप्नकारको यो पुरानो अडान हो कि व्यक्तिको स्वामित्वमा रहेको जग्गा भए पनि नगर विकास प्राधिकरणको अनुमतिविना बिक्री र कित्ताकाट गर्न नपाउने नीति लागु गर्न ढीला भइसक्यो ।
अहिले नेपालीमा ठूलाघर र अपार्टमेन्टमाथिको विश्वास तुरुन्त फर्किन सक्ने अवस्था  छैन । एपार्टमेन्ट व्यवसाय धरापमा परेर जग्गाको प्लटिङ बढ्न थाल्यो भने त्यो अर्काे विडम्बना हुन जानेछ
भूकम्पपछि सर्वाधिक जोखिममा परेको व्यवसाय बन्न पुगेको छ संयुक्त आवास । पहिलेका मापदण्डहरु र अनुगमन उपयुक्त भएन भन्ने कुरा अहिलेको अवस्थाले प्रमाणित गरिसकेको छ । तर, त्यसको अर्थ ठूला घरहरु र अर्पाटमेन्ट बनाउनुनै हुँदैन भन्ने जुन आम प्रचार आइरहेको छ, त्यो पनि सर्वथा अनुचित छ ।
निर्माण मापदण्ड र इञ्जिनियरिङ तथा निर्माण सामाग्रीको प्रकार र गुणस्तरमा गम्भिर बहस हुन सक्छ । त्यसमा उपयुक्त विकल्पहरु खोजिन आवश्यक पनि छ र त्यस्ता विकल्पहरु येथेस्ट छन् पनि । रातो ईटा प्रधान बोझिलो निर्माण संस्कारलाई परिवर्तन गर्न आवश्यक छ । तर, सघन एवं व्यवस्थित संयुक्त र सामुहिक आवास भने आजका लागि मात्र हैन, भविश्यका पिँढीसमेतलाई जोगाउन र आवश्यक भूमि उपलब्ध गराउन आवश्यक छ ।
कानुनी र प्राविधिक मापदण्डहरु जे जस्ता तोकिए पनि अहिले नेपाली जनतामा ठूलाघर र अपार्टमेन्टमाथिको विश्वास तुरुन्त फर्किन सक्ने अवस्था  छैन । यसका लागि सरकारले प्रोत्साहन कार्यक्रमहरु अगाडि ल्याउन जरुरी छ ।
अब के गर्नुपर्छ ?
अपार्टमेन्ट व्यवसाय धरापमा परेर जग्गाको प्लटिङ बढ्न थाल्यो भने त्यो अर्काे विडम्बना हुन जानेछ । प्रोत्साहनात्मक कार्यक्रममा सबैभन्दा पहिलो कार्य हो, कानुनी र प्राविधिक मापदण्डलाइ विश्वस्नियताका साथ बनाइनु र कार्यान्यवन गर्नु । यस्ता प्रयत्नले आन्तरिक जनसंख्यामा विश्वास जगाउन लामो समय लाग्ने र त्यस्तो समय पर्खंदा ठूलो पुँजी जोखिममा पर्न जाने स्पष्ट छ । पहिलेदेखि धर्मराएको व्यवसायलाई त्यस्तो अवस्थामा जान नदिनु सरकारको दायित्व हो ।
यसकारण हाउजिङ र अर्पाटमेन्ट व्यवसायलाई पुर्नजीवन दिन कुनै थ्रेसहोल्ड विना विदेशीहरुले नेपालमा एपार्टमेन्ट र घर किन्न सक्ने कानुन बनाउन अपरिहार्य भएको ठहर छ स्वप्नकारको ।
apartment
बाबुराम भट्टराईका पालामा थ्रेसहोल्ड सहितको नीति आए पनि कानुन बन्न सकेको छैन । यदि यस्तो नीति र कानुन बनेमा विदेशी पुँजी त आउछ नै, त्यसले ठूलो पुजीँलाई जोखिमबाट पनि बचाउँछ । राजस्व पनि राम्रै प्राप्त हुनेछ । बैंक तथा वित्तीय क्षेत्रलाई पनि ठूलै जोखिमबाट मुक्ति मिल्नेछ ।  सरकारले कर्मचारी आवास तथा अन्य प्रयोजनका लागि पनि अर्पाटमेन्टहरु खरिद गरी उपयोग गर्ने प्रवर्धनात्मक नीति ल्याउन जरुरी भइसकेको छ ।
यसप्रकार धरापमा परेका संयुक्त आवास परियोजनाहरुलाई उकास्न सकिन्छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/07/298629/#sthash.bDvd0py6.dpuf

नेपाललाई पश्चिमाहरुले यसरी फुटाउँदैछन्

नेपाललाई पश्चिमाहरुले यसरी फुटाउँदैछन्

२०७२ असार २१ गते १२:२३ मा प्रकाशित
 72  41 
  0
अरुणकुमार सुवेदी
गत साता अनलाइनखबरमा प्रकाशित संविधानको मस्यौदा : मृत्युपत्रमा कांग्रेसको हस्ताक्षर शीर्षकको लेखमा मस्यौदा संविधानको प्रस्तावनामा नै समाजवाद शब्दको उपस्थितिप्रति यस स्वप्नकारले विमति राखेको थियो । यसमा विद्युत्तीय माध्यम र अन्य माध्यमबाट पनि तीखा, तीता/मीठा धेरै प्रतिक्रिया आए । लेख पढेर चासो राख्ने सचेत जनहरुमा कृतज्ञता ।
किसानलाई थर्काउने, संविधानमा समाजवाद लेख्ने ?
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
स्वप्नकारलाई समाजवाद शब्द र यसको मर्म जब प्रजातन्त्रसँग गाँसिन्छ, तब त्यसप्रति पहिले पनि आपत्ति थिएन र अहिले पनि छैन । स्वप्नकार स्वयम नै आर्थिक नीति अझ आर्थिक मोडेलउपर दुई दशकदेखि अनवरत लेखीआएको पात्र हो ।
मेरो विचारमा एउटा अचर धार छ । नेपालको परिप्रेक्षमा जसरी ०१६/०१७ सालताका वीपीले आफ्नो प्रजातान्त्रिक समाजवादलाई एउटा स्वावलम्वी नागरिक तयार गर्ने सपना राखेर राज्यको भूमिका निर्धारण गर्नुभएथ्यो, त्यसैका आधारमा अहिलेको युगसापेक्ष अवलम्वन गर्नुपर्ने नीतिका बारेमा बहस गर्न आवश्यक छ ।
त्यसमा पहिलो हो, शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको सुरक्षा राज्यको जिम्मामा हुने अनि उद्योग व्यापार निजी क्षेत्रको हुने ।
दोस्रो, काठमाण्डौ र अन्य शहरी क्षेत्रमा दशौं घर राख्न पाउने तर दाङमा १० विगाहा जमिन भएको किसान थर्कमान रहनेखालको भूमिसुधार नीति गलत छ । अनुत्पादक जमिनको स्वामित्व धारणमा हदवन्दी लगाउने र उत्पादनशील जमीनमा हदबन्दी कायम नगर्ने नीति अपनाउने ।
यी दुई नीतिलाई नेपालमा लगाइनुपर्ने प्रतिनिधि नीति भनीआएको छ स्वप्नकार । यीसँगै धेरै कल्याणकारी आर्थिक, सामाजिक नीतिहरु छन् ।
उल्लेखित नीतिहरुमा नेपालका ठूला भनाउँदा र समाजवादी भनाउँदा कुनै पनि दल बहससम्म नगर्ने तर, संविधानका प्रस्तावनामा नै समाजवाद राख्ने यसको अर्थ के लाग्छ ?
समाजवाद कुनै दलविशेषको आर्थिक राजजीतिक कार्यक्रमलाई प्रतिनिधित्व गर्ने विशेष शब्द हुन सक्छ । तर, संसारका कुनै पनि प्रजातान्त्रिक मुलुकको संविधानको प्रस्तावनामा यो शब्द छैन ।
केही एकदलीय सर्वसत्तावादको अभ्यास गरिरहेका राष्ट्रहरु क्युवा र उत्तर कोरियामा हुन सक्छन् । पहिलेको सोभियत सघं त समाजवादी गणतन्त्रको युनियन नै थियो । त्यस्तै थियो युगोस्लाभिया । जब संविधानको प्रस्तावनामा समाजवाद पर्छ, त्यो पनि प्रजातान्त्रिक लोकतान्त्रिक विशेषणरहित भएर भने आजीवन प्रजातन्त्रका लागि संघर्ष गरेको व्यक्तिले के बुझ्नुपर्छ ? व्याख्या गरिरहनु पर्दैन ।
वीपी कोइराला समाजवादी मात्र हैन, प्रजातान्त्रिक समाजवादी हुनुहुन्थ्यो यो कुरा पनि नभुलौं ।
संसदीय व्यवस्था असफल भएकै हो त ?
अर्को एउटा उट्पट्याङ तर्क /धारणा बारम्बार आउने गरेको छ । स्वप्नकारको गत हप्ताको मस्यौदा संविधान सम्बन्धी लेखका केही प्रतिक्रियाहरु पनि त्यस्तै आए, के बहुदलीय संसदीय व्यवस्था नेपालमा असफल भएकै हो ? पटक्कै होइन ।
बहुदलीय संसदीय व्यवस्थामा प्रजातन्त्रइत्तर सिद्धान्त लिने कम्युनिस्ट वा राजा वा दुवैलाई ‘एकोमोडेट’ गर्ने प्रयत्न चाहिँ विफल भएको हो भन्ने ठहर छ स्वप्नकारको ।
यसकारण राजा वा त्यसका अनुगामी शक्तिहरु र कम्युनिस्टले बहुदलीय संसदिय प्रणाली असफल भयो भन्दैमा कांग्रेसले आत्मविश्वास गुमाई सिद्धान्त च्यूत हुनुचैं बिडम्वना नै थियो र छ ।
अहिलेको मस्यौदा संविधानबारे पहिलो लेखको पूरक प्रसंगका रुपमा यति नलेखी नहुने खण्ड पर्‍यो ।
लिपुलेकको डंका
यो मस्यौदा संविधानको समय चलाखी र षडयन्त्रपूर्ण तरिकाले छानिएको छ । भूकम्पपछिको अस्तव्यस्तता, मनसुन ऋतु, खेतीपातीको समय, बाढी पहिरो, बजेटको सिलसिला, त्यसपछि चाड पर्व ।
मस्यौदामा भएका खलधाराहरु त्यतिका कुराहरुले पनि नछोपिने भएपछि रातोरात लिपुलेकको डंका सुरु भयो ।
प्रतिपक्षीहरुलाई लिपुलेक मुद्दामा धकेलियो, यता संविधानलाई पास गर्‍यो, यो सुत्र प्रष्ट छ ।
लिपुलेकमाथिको नेपाली सम्प्रभुतामा शंका छैन । तर, लिपुलेकलाई १९९९ मै चीनले औपचारिकरुपमा त्रि-बिन्दु भनी मानेको छ । अर्थात लिपुलेकको पश्चिम खण्डमा भारत-चीन आ-आफ्नो सीमा जोडिएकोमा ढुक्क छन् । त्यसैले त्रि-बिन्दुको पूर्वभाग नेपाल-चीन सीमा तर्काएर उनीहरु कुनै पनि सन्धी गर्न सक्छन् । लिपुलेकलाई त्रि-बिन्दु मान्दा यही अर्थ निस्कन्छ ।
यसकारण गल्ती त्यही भयो, जब चीनले सन् १९९९ मा यसलाई त्रि-बिन्दुभन्दा नेपालले कुनै औपचारिक प्रतिक्रियासम्म दिएन । तथ्य र दस्तावेजले लिम्पियाधुरा नै सीमाबिन्दु अर्थात त्रिबिन्दु हो भने चीनले भनेझैं लिपुलेक त्रिबिन्दु हुनै सक्दैन ।
लिम्पियाधुरादेखि काली नदीले काटेको पूर्वोत्तर भाग तिब्बत सीमासम्म सबै नेपाल पर्न जान्छ । सरकार र सम्बन्धित सबैले यो कुराको उठान गर्नुपथ्र्याे र पर्छ । तर, अहिले लिपुलेकको कुरा मात्र बढी उठाइएको छ अस्वाभाविक तवरले ।
यो क्षेत्रको सीमा विवाद आजको हैन । सम्वत २०१९ वा सन् १९६२ मा भएको भारत-चीन युद्धदेखि आजसम्म कालापानीमा भारतीय सेनाको उपस्थिति छ र लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि भारत अधीनस्थ छ । यो विवाद ५३ बर्षदेखि चली आएको छ । तर, अहिले आएर ऐन मौकामा यत्रो हल्ला किन भइरहेछ कुरा स्पष्ट छ । मस्यौदा संविधानका विरोधीहरुलाई एकातर्फ व्यस्त गराइयो भने अर्कातर्फ यो मस्यौदा संविधानले भारत र चीनलाई व्यवस्थापन गर्न नेपाललाई ककपिट बनाउने पश्चिमाहरुको चाखलाई सम्वोधन गरेबाट भारत र चीन दुबैमा जुन असन्तुष्टि बढ्नेवाला थियो, त्यसको सट्टा उनीहरुलाई नै लिपुलेकको सवालले बचाउको अवस्थामा पुर्‍याइदियो ।
लिपुलेक प्रकरणलाई हावा दिएर विरोधीको ध्यान अन्यत्र मोडियो र भारत चीनको असन्तुष्टिलाई पाखा लगाइयो । लिपुलेक कालापानी र लिम्पियाधुरा आन्तरिक राजनीतिका रणनीतिक औजार होइनन् प्रादेशिक संप्रभुताका विषय हुन् ।
पहिले यथेष्ठ चर्चा भइसकेको पनि छ, यो मस्यौदा संविधान पश्चिमाहरुको चाखमा नेपाललाई टुक्राउने आधारपत्र भई आएको छ । स्वभाविक प्रश्न उठछ, पश्चिमाहरुको नेपालमाथिको यत्रो चाख केका लागि ? भारत र चीन विश्व शक्तिका रुपमा उदाइसकेका राष्ट्रहरु हुन् । ठूलो बजार, ठूलै अर्थतन्त्र, ठूलै सैन्य शक्ति र ठूलो अन्तराष्ट्रिय डायस्पोरा ।
अब पश्चिमाहरुको शीत द्वन्द्व स्वभाविक रुपमा चीन र भारतसँग हुन्छ । अझ मोदी प्रधानमन्त्री बनेपछि भारत-चीन सम्बन्ध अरु असल र तनावरहित हुन थालेको छ । यो स्थिति पश्चिमका लागि चुनौति हो । यसको सामना गर्न उनीहरुले नेपाललाई उपयोग गरिरहेछन् ।
पश्चिमाहरुले एकातर्फ यस्तो संविधानका लागि पाश्र्व भूमिका खेल्ने, अर्कातर्फ सिके राउतहरुको भरण पोषण गर्ने । परिणति स्पष्ट छ, गृहयुद्ध अनि नेपालको विभाजन । टुक्राइएको नेपाललाई आधार बनाएर चीनको तिव्वत र सिञ्जियान तथा भारतको उत्तरपूर्व र कश्मिरमा प्रहार हुनेछ । हाम्रा दुबै छिमेकीहरु विखण्डनको आगोमा धकेलिने सम्भावना छ ।
त्यही अशान्तिले एशियाको ठूलो जनसंख्यालाई पुनः पश्चिमको बजार बनाउने प्रयत्न हुनेछ ।
त्यसैबीच सांस्कृतिक अतिक्रमणबाट उनीहरुले आफुपरस्त जनसंख्या पनि निर्माण गर्नेछन् । यही पश्चिमा डिजाइनको आधारपत्र हो अहिलेको मस्यौदा संविधान ।
(जलस्रोत विज्ञसमेत रहेका सुवेदी कांग्रेसनिकट बुद्धिजीवी हुन्)
- See more at: http://www.onlinekhabar.com/2015/07/296548/#sthash.5bXN8WXA.dpuf

Monday, July 6, 2015

संविधानको मस्यौदा : मृत्युपत्रमा कांग्रेसको हस्ताक्षर - See more at: http://www.onlinekhabar.com/2015/07/295027/#sthash.zZrDIzWp.dpuf

संविधानको मस्यौदा : मृत्युपत्रमा कांग्रेसको हस्ताक्षर

कस्तो समाजवाद ल्याउने उत्तर कोरियाको जस्तो ?

२०७२ असार १७ गते १०:०८ मा प्रकाशित
 1322  7 
  0
अरुणकुमार सुवेदी
अहिले संविधान मस्यौदाको चर्चा छ । भूकम्पपछिको नवनिर्माण कि पुनर्निर्माण भन्ने बहस चलिरहेको बखत संविधान पनि नव र पुनको बीचको जस्तो भएर मस्यौदा पेश भएको छ ।
सधैंजसो आर्धिक मुद्दामा आफुलाई केन्दि्रत गर्ने स्वप्नकार आज भने संवैधानिक मुद्दामा बढी केन्द्रित रहने अवस्था आयो । मस्यौदा संविधानमा केही सांस्कृतिक, केही राजनीतिक र केही आर्थिक पहलका सकारात्मक/नकारात्मक एवं अनुत्तरित प्रश्नमाथि विश्लेषण गर्ने चेष्टा छ यो स्वप्नकारको ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
लामो स्वभाविक गर्भकालबाट अस्वभाविक र छोटो प्रसवकालमा आएको मस्यौदा संविधानका स्वरुप र त्यसवारे आफ्नो अडान राख्दै आएका राजनीतिक दलहरुको स्थिति हेर्दा यो आश्चर्यको बिषय पनि भएको छ । आखिर यस्तो हतारो किन गरियो संबिधानका लागि विश्लेषणको विषय बनेको छ ।
यो कारण एउटा मात्र हो, धर्म निरपेक्षताका लागि पश्चिमा दबाव । सांस्कृतिक राष्ट्रियतालाई अश्विकार गरेको यो मस्यौदा संविधानले नेपालको बिखण्डनको बिजारोपण गरेको छ । राष्ट्रको मूलधार सांस्कृतिक पहिचानको अवज्ञा तथा त्यस अन्र्तगत रहेका अरु सांस्कृतिक पहिचानका आधारमा तयार पार्नुपर्ने संघीय ज्यामितिबाट विमुख रहेको संविधान लागु गरिएकै दिन जल्ने निश्चित छ ।
वर्तमान संविधानमा प्रचण्ड बहुमत भए पनि यसले ‘वाइभर’ संविधानको रुप ग्रहण गर्न सक्ने सम्भावना प्रवल रहेको छ । आफुले राखेको कुरा प्रमाणित नभए पनि ठूलो मात्रामा पश्चिमा धनराशीले खरिद गरिएको मस्यौदा संविधान त हैन ? यो भन्ने आशंका पनि यत्तिकै उत्पन्न भएको छ ।
बहुदलीय संसदीय प्रजातन्त्रलाई अपरिवर्तनीय सर्त राख्न सकेन नेपाली कांग्रेसले । यो भन्दा ठूलो पतन केही हुने छैन कांगे्रसको । अब नेपाललाई उत्तर कोरियाजस्तो प्रजातान्तिक जनगणतन्त्र नेपाल बनाउने कार्यलाई संविधानको प्रस्तावनाले चाँहि छुट दिएको छ । त्यसमा ‘समाजवादी’ पनि थप्न सकिनेछ ।
यो मस्यौदा संविधानसँगै नेपाली कांग्रेसले आफ्नो मृत्युपत्रका रुपमा यो मस्यौदा संविधानमा हस्ताक्षर गरेको छ ।
सापेक्षित रुपमा लामो र मर्मको ओजमा उभयरुपी एवं हल्का लाग्ने प्रस्तावनामा एउटा आर्थिक पदावलीलाई राख्नु अर्काे रहस्य र आश्चर्यको बिषय बनेको छ । त्यो हो समाजवाद । अब समाजवादलाई अस्वीकार गर्ने राजनीतिक शक्तिहरुले नेपालको राज्य सत्तामा उपस्थिति जनाउन पाउने कि नपाउने ? एकातर्फ राजनीतिक विचारलाई स्वतन्त्रता दिने प्रावधान राख्ने, अर्कोतर्फ समाजवाद एउटा सिद्धान्त विशेषलाई प्रस्तावनामै राख्ने अनौठो कार्य भएको छ मस्यौदा संविधानमा ।
यो समाजवाद नामको तुरुपले मुलुकमा कुन परिवर्तन लिएर आउला उप्रान्त ? जिज्ञाशाको विषय हो । यो स्वप्नकारको पहिलेदेखिको अडान छ शिक्षा, स्वस्थ्य र बृद्धावस्थाको पूरा सुरक्षा राज्यले प्रत्याभूत गर्नुपर्छ ।
आजसम्म र पहिले पनि कांग्रेस, एमाले र एमाओवादीले पटक-पटक शासन गरैकै हुन् र त्यो सासनले सामाजिक सुरक्षा दिइनुपर्ने क्षेत्रलाई अरु व्यापारीकरण पनि गरेकै हो । शिक्षा, स्वास्थ्य सेवा र बृद्धावस्थाको सुरक्षाको प्रत्याभुति नदिने यी क्षेत्रलाई बिकाउ र बस्तुकरण गर्ने राज्य व्यवस्थाको पक्षपाती यी राजनीतिक दलहरुले भनेको समाजवाद के हो ? स्वप्नकारले बुझ्न सकेको छैन ।
कुनै सरकारको नीति तथा कार्यक्रम बिशेषमा वा चुनावी घोषणा पत्रमा राखिने भाषा र मर्म राखिएको मस्यौदा संविधान कतिको सतही छ भनिरहनु परेन ।
जातीय, क्षेत्रीय, सांस्कृतिक पहिचानका अभियन्ताहरु र सांस्कृतिक मूलप्रवाहको पहिचानलाई संवैधानिक स्वरुप दिनुपर्छ भनी अडान राख्दै आएकाहरु एकठाउँ आउनै पर्छ
यो मस्यौदा संविधानको स्वरुप लिएर आउनका लागि बार्गेनिङ औजारका रुपमा पहिचानवादीहरुलाई प्रयोग गरियो । नेपालको मूल प्रवाह सांस्कृतिक राष्ट्रियतासँग जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानहरुलाई विरोधी बनाई लडाएर सांस्कृतिक अतिक्रमण पनि गरियो  र अहिले तिनलाई मझधारमा पारेर अरु उग्ररुप ग्रहण गर्नु पर्ने बाध्यतामा धकेलियो ।
अर्कातर्फ यस्तो सम्भावित संबिधान ल्याएर राष्ट्रलाई गृहयुद्धमा फसाउने डिजाइन सफल पारिँदैछ । यसको अर्थ स्पष्ट छ, हिजो पहिचानको मुद्दालाई अति उक्साउने र यस्तो संविधानको स्वरुपलाई अगाडि ल्याउने एउटै सुत्राधारका दुई अनुहारहरु हुन् ।
अब के गर्ने ?
जातीय, क्षेत्रीय, सांस्कृतिक पहिचानका अभियन्ताहरु र सांस्कृतिक मूलप्रवाहको पहिचानलाई संवैधानिक स्वरुप दिनुपर्छ भनी अडान राख्दै आएकाहरु एकठाउँ आउनै पर्छ । जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानहरुलाई सांस्कृतिक अतिक्रमणकारीहरुको प्रभावबाट मुक्त गराउन लाग्नुपर्छ यसका अभियानताहरु ।
त्यसपछि नेपालको सांस्कृतिक मूलप्रवाहको आन्दोलनसँग जोडिनुपर्छ यो सांस्कृतिक राष्ट्रवादी नयाँ सूत्रले मात्र सबैको पहिचानको सुरक्षा  गर्ने छ । अब नयाँ ध्रुवीकरणमा सांस्कृतिक राष्ट्रवादी आन्दोलन जरुरी छ, जसले बढीमा एक दशकभित्र अहिले लागु गर्ने भनिएको संविधान उखेल्न सकोस् । यदि यस्तो आन्दोलनले स्वरुप ग्रहण गर्न सकेन भने नेपालमा निरन्तर रुपमा बढदै गएको बिद्रोहको सामाजिकीकरणले राष्ट्र बिखण्डनमा पुग्नबाट कसैले रोक्न सक्दैन ।
सांस्कृतिक राष्ट्रियताको मूल प्रवाहलाई सकी नसकी राप्रपा नेपालले अरु आंगिक मुद्दाहरुसँग एकीकृत गरेर उठाई आएको छ । जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानका मुद्दाहरुलाई केही मधेसवादी भनिएका र केही जातिवादी भनिएका दलहरुले पनि उठाई आएका छन् । तर, यिनीहरुको भावना कतै मिल्दोजुल्दो भई आए पनि उद्भव र उद्भवपछिको योजना अलग अलग थिए र छन् ।
अब नयाँ अध्यायमा मुलुक प्रवेश गरेको छ । यी दुवैले आफ्नो पहिलेको अवस्थावाट ठुलो परिवर्तनको वाटोमा हिँडी एकीकृत आन्दोलनमा पुग्नै पर्छ । यो ध्रुवीकरणको नयाँ सुत्रमा आउन सकिए मात्र राष्ट्र जोगिन सक्छ, नत्र संसारको सोह्रौं पुरानो राष्ट्रको अवसानको युग प्रारम्भ भएको छ ।
(जलस्रोत विज्ञसमेत रहेका सुवेदी कांग्रेसनिकट बुद्धिजीवी हुन्)
- See more at: http://www.onlinekhabar.com/2015/07/295027/#sthash.zZrDIzWp.dpuf