Tuesday, June 16, 2015

ओन्लाइङ्को लेख भुकम्प पछिको आर्थिक नीतिको बहस -5

पहाडेलाई मधेसमा नसारौं, हिमाली बस्ती खाली नपारौं !

भूकम्पपछिको पुनर्बास नीतिबारे बहस

२०७२ जेठ ३० गते १८:१६ मा प्रकाशित
 589  20 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको उद्धार, राहत र पुर्ननिर्माणको बहस चलिरहँदा भूकम्पको राजनैतिक पराकम्पन पनि अनपेक्षित रुपमा देखा परेको छ ।
इन्डोनेसियाको राजनैतिक विवादलाई सुनामीको त्रासदीले गाडीदिएझैं भूकम्पको धक्काले मुख्य राजनैतिक शक्तिहरु वीचको विवादलाई समाप्त पार्ने अनिवार्य स्थितिको निर्माण गर्‍यो । केही भुरेटाकुरे र कन्फ्युज्ड पार्टीहरुलाई छाडेर लगभग सहमति भएको छ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
पछि तोड्न र मोड्नलाई सहज हुने गरी बनाइएको संघीयताको समझदारीले सत्तारुढ गठबन्धनसँग एमाओवादी र फोरम लोकतान्त्रिक एक स्थानमा आए भने धर्मनिरपेक्ष माथिको मौनताले संविधानसभाको चौथो शक्ति राप्रपा नेपाललाई रिङ बाहिर राखेर पनि अव्यक्त सम्वोधन गरेको छ ।
जेहोस् भूकम्पले नेपाली भूमि तरलीकरण भएका बेला त्यसको दबावले नेपाली राजनीतिमा ठोसकरण आएको हो कि भन्ने सन्देश नेपालीहरु माझ पुगेको छ ।
राजनीतिक विश्लेषण गर्ने स्वप्नकारको उद्देश्य छैन । तर, प्रशंग वश आइपरेको राजनैतिक स्थितिको उठान गरिएको मात्र हो, यसले नव/पुर्ननिर्माणको नीति र स्थितिलाई पनि अवश्य प्रभाव पार्ने छ ।
भूकम्पछिको नव/पुर्ननिर्माणका लागि आवश्यक आर्थिक नीतिको बारेमा अघिका लेखहरुमा देखिएका प्रतिकि्रया र शेयरले उत्साहित तुल्याएको छ यस स्वप्नकारलाई । नव/पुनर्निर्माण हेतु आवश्यक आर्थिक स्रोत जुटाउनेतर्फ पहिलेका लेखहरु केन्द्रित रहे । उक्त स्रोतको उचित प्रयोगले मुलुकको आर्थिक अवस्थामा नयाँ रक्तसञ्चार प्रवाह हुन सक्छ ।
यस श्रृंखलामा अहिले व्यापक बहसमा रहेको आवास/पुर्नवास नीति, सो अनुसारको भू-उपयोग नीति र आवश्यक कृषि नीतिका बारेमा केही धारण व्यक्त गर्ने कोशिस गरेको छ स्वप्नकारले ।
१ ग्रामीण आवास /पुर्नवास नीति –
नेपालको ग्रामीण क्षेत्रको परम्परागत बसोवास शैलीमा विकास पुर्‍याउन महंगो भएको सर्वविदितै छ । कुनै निश्चित केन्द्रमा विकास पुर्‍याए पनि त्यसको वरिपरिको क्षेत्र त्यसै रहने अवस्था छ । यस स्वप्नकारले आर्थिक नीति/विकास नीतिसम्वन्धी केही फोरमहरुमा राखेको विचारलाई पुनरुक्ति गर्नु आज पनि सार्न्दभिक लागेको छ ।
हिमाली पहाडी ग्रामीण क्षेत्रलाई शून्य पार्दै लाने हो भने नेपाल-चीन सीमाक्षेत्र नै वस्ती विहीन हुने अवस्था आउन सक्छ
कर्णाली अञ्चलको ठूलो, कठीन भूगोल र अत्यन्त न्यून जनघनत्वलाई सम्वोधन गर्न कस्तो विकास निति ल्याउनु पर्ला भन्ने प्रश्नमा स्वप्नकारको धारणा ८/१० वर्ष अघि प्रकाशित पुस्तक सपनाका गाथाहरुमा पनि सम्प्रेशित थियो । आज पुर्नवासको स्थिति प्रकृतिले कर्णाली प्रदेशमा नभएर पश्चिमाञ्चल र मध्यमाञ्चलका विरल जनघनत्ववाला क्षेत्रमा आइपरेको छ । यसकारण त्यो सोचलाई लागु गर्न सके उचित होला भन्ने अभिप्राय हो स्वप्नकारको ।
केही अगाडि भूकम्प पीडित जनतालाई केही स-सना घर घडेरी दिई मधेस र भित्री मधेसमा पुर्नवास गराउने नीतिको पनि चर्चा भएको थियो । स्वप्नकार त्यसको पक्षमा छैन । यसले जमीनको सानोे टुक्रामा पुर्नवास गराइएकाहरुलाई सदा सदाका लागि गरिवमा परिणत गर्नेछ ।
अर्कातर्फ यसरी हिमाली पहाडी ग्रामीण क्षेत्रलाई शून्य पार्दै लाने हो भने नेपाल-चीन सीमाक्षेत्र नै वस्ती विहीन हुने अवस्था आउन सक्छ । जनता स्वयम नै सीमारक्षक हुन् । यसर्थ त्यस्ता क्षेत्रलाई वस्ती शुन्य बनाउने गरी पुर्नवासको योजना बनाउनुहुँदैन । तर, अब भूकम्प प्रभावित जिल्ला, विशेष गरी हिमाली क्षेत्र छोएका जिल्लाहरुको पुर्नवासका लागि वैज्ञानिक बसोबास भएका जनसंख्या केन्द्रहरु निर्माण गर्नेतर्फ योजना ल्याउनुपर्छ ।
एउटा जनसंख्या केन्द्रबाट वरिपरिको क्षेत्रमा खेतीपाती गर्न सक्ने गरी जनसंख्या केन्द्रको अवस्थिति बनाइनुपर्छ । त्यस्ता केन्द्र बनाउनका लागि सुरक्षित क्षेत्रहरुको पहिचान गरिनुपर्छ । यसरी पुर्नवास गराइएका जनतालाई निजी जमीन मात्र अपर्याप्त भए सरकारी जमीन पनि भोगाधिकारमा दिने नीति राम्रो हुनेछ । अब यस्ता क्षेत्रमा ९६ रोपनीको हदबन्दीको कुनै अर्थ रहन्न ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका अत्यन्त न्युन जनघनत्व र सुदुरवर्ती पातला बस्तीहरुलाई पहिले सम्भाव्य स्थानहरु चयन गरी जनआवादी  क्षेत्र विकास गर्नुपर्छ
भूकम्प प्रभावित क्षेत्र त्यसमा पनि अत्यन्त कठीन भौगोलिक अवस्था र छरिएर बसेको सानो जनसंख्यालाई अर्बौ खर्बौंको योजनामा लगानी गर्दा त्यसको प्रतिफल कस्तो स्वरुपमा कसरी आउँछ भन्ने कुराको भरपर्दो तर्क र तथ्य लिखितरुपमा प्रस्तुत हुनुपर्छ । यसमा पहिले केही नीतिगत आधारहरु तयार गरी तदनुरुपको अवस्था निर्माण गरेपछि मात्र विकासको मोडेल तयार गर्न सकिन्छ ।
यसका निम्ति लिइनुपर्ने पहिलो नीति हो बैज्ञानिक पुर्नवास । भूकम्प प्रभावित क्षेत्रमा रहेका अत्यन्त न्युन जनघनत्व र सुदुरवर्ती पातला बस्तीहरुलाई पहिले सम्भाव्य स्थानहरु चयन गरी जनआवादी  क्षेत्र विकास गर्नुपर्छ । यसो भएपछि  त्यस्ता केन्द्रहरुमा सम्भाव्य विकास निर्माण गर्न सहज हुन्छ ।
व्यापक पुर्नवास भएपछि भूकम्पले प्रभावित रहेका धेरै ठाउँहरु खाली हुनेछन् । ती खाली ठाउँको उपयोग त्यसक्षेत्रको आर्थिक विकासको अर्को मुख्य सवाल हुनेछ । भूकम्प प्रभावित क्षेत्रहरुको भौगोलिक र प्राकृतिक स्रोतहरुको पहिचान गरि चरिचरन जडीबुटी उत्पादन तथा पर्यटन विकास यी तीन उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ ।
जहाँ यातायातको व्यवस्था छैन, त्यहाँ पशुपालनको व्यवसाय रोज्नेहरुलाई शक्तिशाली सञ्चार उपकरण, खच्चर वा पोनीसहित पशुहरु चरनमा लिएर जाने प्रणालीबाट प्रेरित गर्नुपर्छ । पशुजन्य उत्पादनले आर्थिक विकासमा ठूलो टेवा दिनेछ ।
जडीबुटीका लागि पनि कृषक समूहहरुलाई ठुल्ठुला क्षेत्रहरुको भोगाधिकार दिनुपर्छ । त्यहाँबाट उत्पादन हुने जडीबुटी अर्ध प्रशोधित वा कच्चा अवस्थामा ढुवानी गर्दा यातायातको पहुँच नभएका स्थानहरुमा  पशु ढुवानीबाट पनि आवश्यक स्थानमा लाने गर्नु पर्छ ।
भूकम्प प्रभावित क्षेत्रको विकासमा बैज्ञानिक पुर्नवास अपरिहार्य शर्त हो, यातायात पूर्वाधारको विकास गरी सकेसम्म सडकको पहुँच कम बनाई  भूकम्पले छियाछिया भएका क्षेत्रहरुलाई बचाउनुपर्छ
भूकम्पीय जोखिम भएका क्षेत्रहरुको पर्यटन विकासमा पनि पशु सवारी, पैदल यात्रा र केवुल वेको निर्माण गरी केबुल वेमै सीमित राख्न सक्नुपर्छ यसो गर्न सके स्खलनशील पहाडहरु झर्ने क्रम कम भई पहिरो खस्ने जस्ता दैवी प्रकोपबाट केही हदसम्म बचाउन सकिन्छ ।
गामीण सडक निर्माणको क्रममा अहिलेको भूकम्प प्रभावित क्षेत्रमा पनि ठूला, कमला र स्खलनशील पहाडहरुमा अत्यधिक छेडखानी भएको छ । स्वप्नकारको धारणामा यो सकारात्मक बिकास होइन । अति आवश्यक परेको खण्डमा मात्रै सडक निर्माण गर्नुपर्छ अन्यथा विकल्पहरु छन् ।
यी सबै विकासमा सञ्चार सुविधा महत्वपूर्ण हुन्छ । गोठाला पर्यटक र कृषकहरुलाई शक्तिशाली सञ्चार उपकरण उपलब्ध गराउनुपर्छ । यसले प्राकृतिक विपत्तिमा उनीहरुको उद्धार गर्न र उत्पादनको बजार मूल्यका बारेमा उनीहरु सदा सुचित रहन सघाउ पुग्नेछ ।
पुनःश्च भूकम्प प्रभावित क्षेत्रको विकासमा बैज्ञानिक पुर्नवास अपरिहार्य शर्त हो यातायात पूर्वाधारका हकमा केवुल वे, घोडा, खच्चड, भेडा, चौरीको यातायात विकास गरी सकेसम्म सडकको पहुँच कम बनाई पहिरोलगायतका दैवी विपत्तीहरुवाट भूकम्पले छियाछिया भएका क्षेत्रहरुलाई बचाउनुपर्छ भन्ने यो स्वप्नकारको उद्देश्य हो ।
अन्त्यमा, जहाँसम्म अहिलेको राजनीतिक सहमतिको सवाल छ, अन्तराष्ट्रिय उच्च रणनीतिक रस्साकसीमा दिशाहीन देखिएको नेपाली राजनीतिलाई दुई विशाल छिमेकीहरुको पार्श्व दबावमा टेक्टोनिक घर्षणको ताथै ताथै वीच राजनीतिलाई स्थिर बनाउने काम भएको छ  ।
यसले पश्चिमाहरुको नेपाली राजनीतिलाई जहिले तरल बनाएर चीन-भारतवीच आफ्नो नौका राखी रखवाली गर्ने रणनीतिलाई तुरुन्तका लागि अर्धविराम लगाइएको प्रतीत हुन्छ । उप्रान्त पश्चिम बनाम भारत चीन रणनीतिक टक्करले कुन स्वरुप ग्रहण गर्ने हो, प्रतिक्षाको विषय बनेको छ ।
ट्वीटर Dream dweller
- See more at: http://www.onlinekhabar.com/2015/06/287709/#sthash.46NftrhU.dpuf

Thursday, June 11, 2015

Article on Onlinekhabar-debate series 4

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई नेपालमा बोलाऔं

बहस : दातृ समुहको बैठक र नेपालले गर्नुपर्ने काम

२०७२ जेठ २३ गते ९:२८ मा प्रकाशित
 763  19 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको नवनिर्माणको एजेन्डामा बहस र प्रतिवद्धताका लागि यही आषाढ १० गते दातृ समूहको सम्मेलन आयोजना गरिएको कुरा सरकारले सार्वजनिक गरेको छ । यसका लागि समान हैसियतमा भारत र चीनसँगै जापान, अमेरिका, युरोपियन युनियन, एशियाली बिकास बैंक, बिश्व बैंक आदिलाई आमन्त्रण गरिएको छ । नेपालमा नै गर्न लागिएको उक्त सम्मेलनप्रति यो स्वप्नकार अलग धारणा राख्दछ ।
modi-and-hinese-president
केही समय अगाडि एशियाली विकाश बैंकको बाकुमा भएको वाषिर्क साधारणसभामा दातृ समूहको सह-अध्यक्षता र स्थानलाई लिएर गम्भीर बहस भएको थियो । उक्त बहसको रणनीतिक दबाव यति व्यापक थियो कि सहअध्यक्षता गर्ने राष्ट्र र सम्मेलनस्थलका बारेमा तुरुन्त बोल्नु गाह्रो भएको कुरा अर्थमन्त्रीले बताएका थिए ।
अमेरिका, ईयु, जापान भारत र चीन आफ्नै सहअध्यक्षता गर्न तयार रहेको बताइरहेथे र आयोजना स्थलमा पनि त्यस्तै विवाद पर्न गएको थियो । जापान र एडीबीको जोड मनिलामा बैठक हुनुपर्छ भन्ने थियो । पश्चिमाहरु र विश्व बैकको चाहना पेरिस थियो । चीन बेइजिङ वा अर्काे तटस्थ स्थान भनिरहेको थियो भने भारत दिल्लीमा हुनुपर्ने, अन्यथा अर्को तटस्थ स्थान भनिरहेथ्यो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
आखिर नेपाललाई  आपतकालीन सहायता गर्ने र त्यसका लागि बैठक आयोजना गर्ने स्थलका बारेमा यत्रो तर्क वितर्क  र जोडको के अर्थ छ ? पेरिस वा मनिला किन तटस्थ स्थल भएनन् भारत र चीनको नजरमा ? यही हो गम्भीर सवाल । र, यसको विश्लेषणात्मक उत्तर हेतु स्वप्नकारले बारम्बार उठाउँदै आएको प्रशंगको पुनरुक्ति आवश्यक पर्न गयो ।
नेापालमाथिको प्रभाव र भूमिलाई लिएर धेरै पहिलेदेखि पश्चिम वनाम भारतवीच द्वन्द्व भईआएको थियो । खास गरी वीपी कोइरालाको पश्चिमसँगको सामिप्यताले त्यो स्थिति ल्याएको थियो । विगतको दशकमा भारतसँग टकरावमा जानेभन्दा सहकार्य गर्ने रणनीतिमा पश्चिमाहरु पुगे र त्यसलाई भारतको तत्कालीन सत्ताले पनि स्वीकार गर्‍यो । परिणामस्वरुप नेपालमा अनपेक्षित राजनीतिक परिवर्तनसँगै पश्चिमाहरुको भूमिका विस्तारित भयो ।
पश्चिम वनाम चीनको टकरावले नेपालमा भारतको भूमिका पातलिन थाल्यो । वास्तवमा विगतका दशकमा भारतले लिएको नेपाल नीति असफल भयो
नेपालमा भारतको एकल प्रभावमाथि खास चासो नराखिरहेको चीन पनि पश्चिमाहरुको बढ्दै गएको क्रियाकलाप र नेपालको पहाडी क्षेत्रमा बढ्दै गएको सांस्कृतिक अतिक्रमण मार्फत तिब्बत मामिला र सिञ्जियाङ मामिलामा चीनले संकट बढ्दै गएको अनुभव गर्‍यो । परिणामस्वरुप नेपालको संघीय मामिला, सांस्कृतिक अतिक्रमण लगायतका मामिलाहरुमा चीन र पश्चिमी देश टकरावको अवस्थामा देखिए ।
पश्चिम वनाम चीनको टकरावले नेपालमा भारतको भूमिका पातलिन थाल्यो । वास्तवमा विगतका दशकमा भारतले लिएको नेपाल नीति असफल भयो भन्ने विश्लेषण छ यो स्वप्नकारको । तर, भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बन्नासाथ स्थितिमा बदलाव आएको छ । एकातर्फ नेपाल मामिलामा भारत र चीनका समान विचार आइरहेछन् भने  अर्कातर्फ आफु मात्र पर्याप्त नभएर भारतले पश्चिमसँग भन्दा रसिया, जापानलगायत अफगानिस्तान, भियतनामसमेत हिन्द चीनका अन्य राष्ट्रहरुसँग सघन सम्वन्ध बनाई चीनमाथि सामुहिक दबाव दिने र नेपाल मामलामा पश्चिमाहरुलाई अलग राख्ने प्रयत्न गरी चीनसँग समान धारणा राख्ने नयाँ रणनीति /कुटनीतिमा भारत अगाडि बढेको छ ।
अहिलेको यस विपतमार्फत पनि एशियाको ककपिट भनिएको नेपालमा आफ्नो वर्चश्व बढाउन पश्चिमा र जापान एउटा रणनीतिमा रहे भने चीन र भारत त्यसको विपरीतमा । र यही द्वन्द्व मुखरित भयो बाकुमा ।
०४७ सालपछि नेपालको आर्थिक सामाजिक नीतिलाई गलत बाटोमा लगी वर्तमान दुर्गतिमा पुर्‍याउने दोषी पनि यिनै डा. महत नै हुन्
नेपालका लागि त्यो अवस्था अप्ठेरो थियो यद्दपि अप्ठेरो नमान्नुपथ्र्याे । यो अप्ठेरो उत्पन्न भएको थियो नेपालको परराष्ट्र नीतिको आधार सिद्धान्तले । त्यसबाट तुरुन्त उम्कन अर्थमन्त्री डा. रामशरण महतले जे भने र जे गरे, त्यसको प्रशंसा नै गर्दछ यो स्वप्नकार । वर्तमान मन्त्रीमण्डलका सबैभन्दा अनुभवी मन्त्री हुन् उनी । तर, ०४७ सालपछि नेपालको आर्थिक सामाजिक नीतिलाई गलत बाटोमा लगी वर्तमान दुर्गतिमा पुर्‍याउने दोषी पनि यिनै डा. महत नै हुन् । यसमा भने उनलाई आलोचनाबाट उन्मुक्ति दिन सकिँदैन ।
अहिले सरकारले उक्त सम्मेलन नेपालमै गर्ने निर्णय त गर्‍यो । तर, यो बैठकका लागि तय गरिएको कुटनीतिक आधारसँग स्वप्नकार पूर्ण असहमत छ । माथि उल्लेख भएको द्वन्द्व त्यसरी मुखरित हुँदाहुँदै पनि नेपालले त्यस द्वन्द्वबाट आफूलाई मुक्त राखी विकासका लागि अगाडि बढाउने नयाँ सोच लिएर आउन सकेन ।
स्वप्नकारको पहिलेदेखिको स्पष्ट धारणा छ नेपालका लागि भारत र चीनको समान महत्वमा अरु कोही हुन सक्तैन । अतः दातृ समूहका नाममा समान हैसियतमा तेस्रो अरु राष्ट्रहरुलाई सहभागी बनाउने नेपालको कुटनीतिक निर्णय अदुरदर्शी अव्यवहारिक छ ।
नेपालले सबभन्दा पहिले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति दुबैलाई मात्र आमन्त्रण गरेर शिखर बैठकको आयोजना गर्नु पर्थ्यो । त्यो शिखर सम्मेलन नै नेपालका लागि यथेष्ट हुने थियो
नेपालमा भएको विनाशकारी भूकम्मपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण भएको थियो । उनको चिनियाँ राष्ट्रपतिसँगको वार्तामा नेपाल उच्च प्राथमिकताको विषय थियो, जसको कुटनीतिक/रणनीतिक संकेत नेपालले बुझ्नु पथ्र्यो । तर, नेपालले त्यो नबुझेको हो या बुझेर पनि यसै गरिएको हो यकिन भएन ।
अब प्रश्न उठ्छ, नेपालले आखिर के गर्नुपर्थ्यो ? यस प्रश्नको स्पष्ट उत्तर छ स्वप्नकारसँग । नेपालले सबभन्दा पहिले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति दुबैलाई मात्र आमन्त्रण गरेर शिखर बैठकको आयोजना गर्नु पर्थ्यो । त्यो शिखर सम्मेलन नै नेपालका लागि यथेष्ट हुने थियो । त्यसले छिमेकीप्रति हाम्रो विश्वसनीयता दर्बिलो हुने थियो । अन्य दातृराष्ट्र र निकायहरुका लागि कुटनैतिक पहल र मन्त्रीहरुको भ्रमण नै काफी हुने थियो । अझ पनि केही बितेको छैन, असार १० को सम्मेलनपछि पनि यस्तो शिखर बैठकको आयोजना गर्न सकिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/06/285300/#sthash.08lVdhZn.dpuf

Monday, June 1, 2015

भुकम्प पछिको आर्थिक नीतिको बहस शृंखला-३

सरकारले जाँड, बोका र बिँडी बेचेर बस्नुहुँदैन

बहस : अबको अर्थनीति कस्तो हुनुपर्छ ?

२०७२ जेठ १७ गते ११:३६ मा प्रकाशित
 704  14 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको पुनर्निर्माणका लागि जसरी मौद्रिक नीतिमा नयाँ सोच र परिवर्तन जरुरी छ, त्यसरी नै राज्य आफैंले ऋण, कर र अनुदान बाहेकका आफ्ना अरु स्रोतहरुलाई कसरी परिचालन गर्ने भन्ने सोच पनि जरुरी छ । यसको अर्थ हो, राज्यले आफ्नो स्वामित्वमा रहेका बोझिला सम्पतिहरुको उचित प्रयोग गर्नु ।
अरुण सुवेदी
अरुण सुवेदी
त्यस्ता सम्पतिमा पर्छन् धेरै सार्वजनिक प्रतिष्ठानहरु । रुग्ण र भ्रस्ट अवस्थामा रहेका सार्वजनिक  प्रतिष्ठानहरु अब सरकारी स्वामित्वमा राखिराख्न जरुरी छैन ।
एक्काइशौं शताब्दीको प्रजातान्त्रिक सरकारले बग्गीखानामा जाँड बेचिराखेको छ, उदयपुर/हेटौडामा सिमेन्ट र जनकपुरमा बिँडी । यो भन्दा हास्यास्पद के हुन सक्छ ?
सार्वजनिक प्रतिष्ठानहरु सरकारले चलाइराख्नु आधुनिक अर्थतन्त्रको मर्म विपरीत छ नै, त्यो सभ्य र प्रजातान्त्रिक सरकारको नैतिकता विपरीत पनि छ । सरकार जोसँग कर उठाउँछ, त्यसैसँग प्रतिस्पर्धी पनि बन्नु पूरापूर अनैतिक कार्य हो । यसकारण यस स्वप्नकारको स्पष्ठ धारणा रहिआएको छ कि कानुनहरु तुरुन्त परिमार्जन गरी उदयपुर सिमेन्टदेखि वाणिज्य बैंकसम्म निजीकरण हुनुपर्छ ।
टेलिकम अरु बढी विनिवेषमा जानुपर्छ, सबै विनिवेष गरे पनि फरक पर्दैन । विद्युत प्राधिकरणका हरेक परियोजना कम्पनी बनाई निजीकरण गरिनुपर्छ । आवश्यकता अनुसार वितरण क्षेत्र पनि निजीकरण गरिनुपर्छ ।
सरकार अहिले पनि जाँड, बोका र बिँडी बेचेर बसेको छ । वृद्ध अवस्थाको सुरक्षा गैरसरकारी संस्थाहरुको जिम्मा नै भएजस्तो छ
वर्तमान विद्युत प्राधिकरणलाई राष्ट्रिय प्रसारण निगम वा कम्पनीमा मात्र सीमित राखिनुपर्छ । वायुसेवा निगमका शेयर निजीक्षेत्रलाई बेचे हुन्छ । एउटा आपतकालीन आपूर्ति र कृषि उपज (नसड्ने) को क्रय प्रत्याभूति दिने संस्थान बाहेक सरकारले व्यापार गरी बस्नुपर्ने आवश्यकता छैन । सके स्वदेशी, नत्र विदेशी आएर पनि बोल कबोल गर्लान् ।
यसबाट सरकारलाई ठूलो रकम प्राप्त हुनेछ, जसलाई नयाँ विकास परियोजनाहरुमा लगानी गर्ने र विकासको नयाँ अध्याय सुरु गर्ने अवसर मिल्नेछ ।
‘कन्फ्युज्ड’ अर्थमन्त्री  
तर, यसका लागि सबैभन्दा अडचन हो, वर्तमान अर्थमन्त्रीको कार्य चिन्तन । उहाँप्रति मेरो कुनै व्यक्तिगत कुरा छैन । तर, मेरो विश्लेषण छ, उहाँ नेपालको अर्थनीतिको स्पष्ट गन्तव्यको खाका कोर्न ‘कन्फ्युज्ड’ व्यक्ति हुनुहुन्छ ।
ramsaran mahat
वर्तमान अर्थमन्त्री ०४७ सालपछि नेपालको अर्थनीतिको अभियन्ता हुने अनवरत अवसर प्राप्त गरेका व्यक्ति हुन् । आफूलाई नेपालमा उदार अर्थ व्यवस्थाको सुत्राधार माने पनि कुन क्षेत्रमा उदार नीति र कुन क्षेत्रमा सरकारको सक्रियता अपरिहार्य भन्ने कुरामा उहाँ र उहाँको टिम स्पष्ट नहुँदा आज सरकारको प्रत्याभुति हुनुपर्ने शिक्षा र स्वास्थ्य क्षेत्र मुनाफामूलक लगानीको क्षेत्रमा रुपान्तरित भए । तर, सरकार अहिले पनि जाँड, बोका र बिँडी बेचेर बसेको छ । वृद्ध अवस्थाको सुरक्षा गैरसरकारी संस्थाहरुको जिम्मा नै भएजस्तो छ ।
यस स्वप्नकारले यो कुराको पुनरुक्ति धेरै नै गरेको छ । आज पनि अर्थमन्त्री र उहाँको सहकर्मीहरुको सोच कार्यशैली र बीच बीचमा आएका विचारहरुलाई विश्लेषण गर्दा सार्वजनिक प्रतिष्ठानलाई एकै पटक निजीकरण गरेर ठूलो धनराशी उठाउन राज्य अग्रसर हुन्छ भन्ने मलाई लाग्दैन । उहाँहरु त्यस्तो गन्तव्यमा जानु हुन्छ कि हुन्न भन्ने कुरामा अहिले पनि ‘कन्फ्युज्ड’ नै हुनुहुन्छ । ‘कन्फ्युज्ड’ अभियन्ताहरुको नेतृत्वमा सामान्य अवस्थाको अर्थतन्त्र त घुमाउनेको पानीझै घुमिरहेकै हुन्छ भने यस्तो संकटकालमा कसरी अगाडि बढ्ला ? गम्भीर प्रश्न उठेको छ ।
यहाँ भनिए अनुसार अगाडि बढ्ने हो भने सरकारलाई लगानीका लागि ठूलो रकम प्राप्त हुनेछ । जुन रकम ठुल्ठुला जलाशययुक्त विद्युत परियोजना, रेल परियोजनाहरुको स्वपुँजीका रुपमा लगानी गर्न सकिन्छ, जसले विकास मार्फत रोजगारी र कारोबारको अवसर प्रदान गरी अर्थतन्त्रलाई चलायमान गराउन सक्नेछ ।
- See more at: http://www.onlinekhabar.com/2015/05/283218/#sthash.p9Xay1EB.dpuf