Sunday, January 31, 2016

‘महाधिवेशन गर्नुअघि कांग्रेसले जनतासँग माफी माग्नुपर्छ’ एक पूर्वकांग्रेसीको तिक्तोपदेशः महाधिवशेनलाई सुझाव - See more at: http://www.onlinekhabar.com/2016/01/376895/#sthash.l5tPz9Jc.ynEzastY.dpuf

महाधिवेशन गर्नुअघि कांग्रेसले जनतासँग माफी माग्नुपर्छ’

एक पूर्वकांग्रेसीको तिक्तोपदेशः महाधिवशेनलाई सुझाव

२०७२ माघ ५ गते १९:१५ मा प्रकाशित
अरुणकुमार सुवेदी
नेपाली कांग्रेस महाधिवेशनको चटारोमा छ । आन्तरिक द्वन्द्व र सत्ता सम्भावनाको चाकाचुलीमा हल्लिइरहँदा उसलाई मुलुक र जनताका समस्याप्रति यथेष्ट ध्यान दिने मौका सायद मिलिरहेको छैन । संसद र सडक दुबैमा कांग्रेस चुपचाप देखिन्छ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
काग्रेसका सबै नेता-कार्यकर्ताहरु गच्छेअनुसार श्रम र पैसा खर्च गर्दै आ-आफ्नो स्थानमा फिरेका छन् । गुटैगुट र गुटभित्र पनि फुटैफुटको पछिल्लो परम्परा बोकेको कांग्रेसमा आ-आफ्नो गुट उपगुटको स्वार्थबमोजिम अर्काको चीरहरण गर्ने संस्कार राम्ररी गढिसकेको छ । त्यसको अनुसरण कांग्रेसजनले घटाएर होइन, बढाएर गरिरहेछन् । अर्थात एक कांग्रेसले अर्काे कांग्रेसलाई दिगम्बर बनाउने उद्यम अब केही महिना राम्ररी नै चल्नेछ र अन्ततः दिगम्बरहरु नै भेला भएर महाधिवेशनको अन्तिम औपचारिकता पूरा गरिनेछ ।
वि.सं. ०४६ सालपछिको कांग्रेस अझ गिरिजाको गन्तव्य र उद्देश्यविहीन कांगे्रसको नीति र विधिको कुरा गर्नु खासै अर्थ संज्ञक छैन । त्यहीमाथि पूर्वकांग्रेसीबाट आएको विचारले कुनै अर्थ पनि नराख्ला । त्यै पनि बोल्ने लेख्ने स्वतन्त्रताका लागि जीवनभर संघर्ष गरेको व्यक्तिका हैसियतले केही लेख्ने प्रयत्न गरेको छु ।
लभ गर्ने उमेरमा जेल गएर गरी खाने उमेरमा झोला बोकी गाउँगाउँ भौंतारिएको सूद सम्झि एर आत्मरति गर्ने बाहेक अरु कुनै अपेक्षा पनि छैन ।
नेपालको राजनीति बजारमा कांग्रेसको नेतृत्व र ‘बडे भाइ’ भारत बारेमा कुनै पनि सुझाव दिनु आत्मघात बाहेक केही होइन भनिन्छ । तर, आफ्नो राजनितिक अभिष्ट नभएपछि यो छुट प्राप्त भएको छ । यसै पनि बाहिरबाट आएका त के आफ्नै दलभित्रका अलग गुटबाट आएका राय सुझाव कांग्रेसका लागि तिक्तोपदेश नै हो ।
नीतिमा अर्कमण्य र मतिमा स्खलित कांग्रेस इतिहासका सबैभन्दा ठूला खलनेता गिरिजाप्रसाद कोइरालालाइ शिखर पुरुष मानेर उनकै पदचापमा हिँडिरहेको वर्तमानमा कांग्रेसले नीतिका कुरा कति सुन्ला ? आफैमा अनुत्तरित छ ।
सबभन्दा पुरानो ठूलो दल भएको हुँदा उसमा ठालुपन हुनु अनौठो होइन त्यसमाथि अरुको कुरा सुन्ने फुर्सत र तहसम्म नभएका डाक्टर सावहरु नाैं चिरन्तन नीति अभियन्ता हुनुहुन्छ । उहाँहरुको चर्को हितोपदेश छाडेर स्वप्नकारजस्तो अकिञ्चनको विचार सुन्ने फुर्सत सायदैलाई होला । त्यै पनि नेपाली कांग्रेसको महाधिवेशनको हल्लैहल्लाको सुनसानमा ‘जरा हटके सोचने’ कोही निक्लेला कि भन्ने झिनो आशाले स्वप्नकार केही तिक्तोपदेश सम्प्रेषण गर्दछ ।
गिरिजाप्रसादका तर्फबाट उनका पदचिन्हमा हिँडेका वर्तमान बाँकी नेताहरुले मुलुकको यो अवस्थाप्रति मुलुकवासीसमक्ष क्षमायाचना गर्नुस्
१ मुलुक इतिहासकै गम्भीर संकटमा छ । ०४६ साल पश्चात कांग्रेसले उपयुक्त आर्थिक सामाजिक नीति अवलम्वन गर्न नसक्दा उत्पन्न भएका दुष्परिणामहरुको बृहत रुप हो यो । यसैको एक सह-उत्पादन थियो माओवादी नृशंश विद्रोहको सामाजिकीकरण र राजनीतिकरण । मुलुकको यो दुर्गतिको कारण कांग्रेसको गलत नीति र दृष्टिकोण नै हो । यसका प्रमुख कारणी कांग्रेसका शिखर पुरुष तात्कालीन सभापति गिरिजाप्रसाद कोइराला नै हुन् । यो स्थिति निर्माणका कारणी दिवंगत नेता गिरिजाप्रसादका तर्फबाट उनका पदचिन्हमा हिँडेका वर्तमान बाँकी नेताहरुले मुलुकको यो अवस्थाप्रति मुलुकवासीसमक्ष क्षमायाचना गर्नुस् ।
२. माओवादका नाममा गरिएको सशस्त्र विद्रोहका क्रममा भएका नृशंश हत्या र आक्रमणका जिम्मेवारहरु राष्ट्र र जनताका विरुद्धमा पञ्चखत गर्ने खतुकी थिए । मुद्दा चलाउनुपर्ने खतुकीहरुलाई प्रजातान्त्रिक पद्दतिको किङ्कमेकर बनाउने अधम काम विदेशीहरुको मार्गनिर्देशनमा भएकै हो । यसका प्रमुख जिम्मेवार पनि तात्कालीन नेता गिरिजाप्रसाद नै हुन् । यस्तो परपीडक र प्रतिकृयात्मक राजनीतिको परिणाम देश र जनताले झेलिरहेछन् । यसर्थ प्रचण्ड र उनको नेतृत्व समूहमाथि हेगमा मुद्दा नचलाई सबै खतहरुबाट उन्मुक्ति दिने काम कांग्रेसकै नेतृत्वमा भएको हो । यसका लागि जनतासामु माफी माग्नुस् ।
बिलोम नीति लिएर मुलुकलाई भड्खालोमा हाल्ने रामशरण महतलगायतका नीति अभियन्ताहरुलाई दायित्व मुक्त गर्ने घोषणा गर्नुस्
३ आफूलाई प्रजातान्त्रिक समाजवादी दल मान्नेले विगतमा लिएका नीतिले सामाजिक क्षेत्रको अस्वस्थ व्यापारीकरण गर्ने र जाँड, बिँडी, बोका जस्ता बस्तुको व्यापारमा राज्य संलग्न हुने काम भयो । त्यसले सामाजिक बहिस्करण एवं वर्ग विभेदलाई गहिराएर भ्रष्टाचार मौलाउने र बिद्रोह बढाउने स्थितिसमेत निर्माण भयो । यस्तो बिलोम नीति लिएर मुलुकलाई भड्खालोमा हाल्ने रामशरण महतलगायतका नीति अभियन्ताहरुलाई दायित्व मुक्त गर्ने घोषणा गर्नुस् ।
४ मुलुकको निर्माताप्रति प्रस्तावनामा कृतज्ञताको एक शव्द उल्लेख नभएको, आइएनजिओलाई संवैधानिक हैसियत दिने आर्थिक र औधोगिक विकासका लागि सत्रु प्रावधान राखिएको सांस्कृतिक अतिक्रमणकारीको ठाडो आदेशमा धर्म निरपेक्ष संविधान बनाई भारतको वर्तमान संस्थापना र चीनलाइ प्रतक्ष्य दुःख दिने पूर्वाधार तयार पार्नेलगायतका प्रावधानसहितको संविधान बनाई देशलाई विग्रह र विखण्डनतर्फ धकेल्ने काम कांगे्रसकै नेतृत्वमा भयो । यसका लागि पनि नेपालीजनता, मित्रराष्ट्र भारत र चीन सरकारसँग माफी माग्नुस् ।
आफ्नो विगतको मूल्यांकनसहित यति आत्माआलोचना गरेपछि उप्रान्त लिने नीतिबारे पनि किरिया खानुहोस् ।
१ इतिहासकै नालायक भुसको बोरा जस्तो आयतन भएको घनत्व विहीन, सांस्कृतिक अतिक्रमणमैत्री छिमेकद्रोही, राष्ट्रनिर्माताप्रति कृतघ्न, राष्ट्र र मानवताविरुद्ध हत्या र आतंक मच्चाउनेलाई महिमान्वित गरी लेखिएको संविधानलाई यथाशीघ्र खारेज गर्न राजनीतिक पहल गर्ने ।
उप्रान्त नेपाली विविधताको योजक सांस्कृतिक सुत्र हिन्दुराष्ट्रवादको पक्षमा कांग्रेस लाग्ने छ । र, धर्म निरपेक्षताको विरुद्धमा उभिने छ भनी किरिया खानुस् ।
अबको कांग्रेस महाधिवेशनले पारित गरेर नै या त पहिचानसहितको संघीयता, या एकात्मक राज्य भनी निर्णय गर्ने छ र सोही अनुसार कांग्रेस अगाडि बढ्ने छ भनी घोषणा गर्नुस्
२ अब कांग्रेसले अलग आर्थिक-सामाजिक नीति-मोडेलमा राष्ट्रको प्रगतिको खाका कोर्ने छ । सामाजिक क्षेत्रको जिम्मा राज्यले लिने छ । शिक्षा र स्वास्थ्य सेवाको राष्ट्रियकरण वा ट्रष्टकरण गरिनेछ । सरकारी व्यापारिक प्रतिष्ठानहरु सबै निजीकरण गरिनेछन । राज्य अति ठूला पूर्वाधार आयोजनाहरुमा मात्र प्रवर्धक बन्ने छ । कुनै पनि पूर्वाधार आयोजनाको आयमा प्रत्यक्ष-परोक्ष सरकारी नियन्त्रण हुन सक्छ भने त्यस्ता आयोजनाले लिने विदेशी कर्जाका लागि राज्यले जमानत दिनेछ । यी नीतिहरु मार्फत देशको दु्रत र बृहत बिकासमा कांग्रेस अघि बढ्ने छ भनी प्रतिवद्धता जनाउनुस् ।
वर्तमान भूमिसुधार नीतिमा पूर्ण पुनरावलोकन गरी सामाजिक न्यायसंगत बनाइने छ । उत्पादनशील भूमिमा हदबन्दी हटाइने छ र अनुत्पादक भूमि वा शहरी घरघडेरीमा हदबन्दी लगाइनेछ । यी लगायत कृषि तथा भूमि नीतिमा आमूल परिवर्तनको किरिया खानुस् ।
३ परम्परागत समदुरीको बिदेश नीति असफल मात्र भएन, नेपालका लागि प्रत्युत्पादक समेत भएको छ । यसर्थ अब कांग्रेसले भारत र चीन केन्द्रित विदेश नीति अवलम्बन गरी अरु राष्ट्रहरुलाई दोस्रो प्राथमिकतामा राख्दै नेपालको विदेश नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुहोस् ।
४ परिवर्तित विदेश नीतिका आधारमा कोशी उच्चबाँध, कणर्ाली चीसापानी परियोजना, महाकाली पञ्चेश्वरलगायत गंगा उपत्यका रणनीतिक योजनाअन्र्तगत कल्पना गरिएका जलाशयहरु र भारतको नदी जोड परियोजनालाई एकाकार गरी नेपालको हितका लागि कार्यन्वयनको दिशामा कांग्रेस लाग्ने छ । यसलाई चीनले कल्पना गरेको सील्क रोड इर्नजी कोरिडरबाट दक्षिण एशियाको जनसंख्यालाई उर्जा आपूर्ति गर्ने सपनासँग तादम्य राखी अगाडि बढ्ने दृढता राख्नोस् ।
५ अहिले संघीयता सबैभन्दा पेचिलो विवादको विषय बनेको छ । यसको मोडेलबारे कांग्रेस अर्कमण्य रहिरहन सक्दैन । विगतमा संघियतालाई मान्ने तर यसको आधार सिद्धान्त पहिचानलाई अस्वीकार गर्नाले यो स्थिति आएको हो । अबको कांग्रेस महाधिवेशनले पारित गरेर नै या त पहिचानसहितको संघीयता, या एकात्मक राज्य भनी निर्णय गर्ने छ र सोही अनुसार कांग्रेस अगाडि बढ्ने छ भनी घोषणा गर्नुस् ।
उप्रान्तका कुराहरु आंगीक मात्र हुन् आगे महाधिवेशनलाई कुम्भमेला बनाउने कि फलदायक ? निर्णय गर्नुहोला । विज्ञेशु किमधिकम् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/376895/#sthash.l5tPz9Jc.ynEzastY.dpuf

No comments:

Post a Comment