Thursday, September 15, 2016

प्रचण्डको आशन्न भारत भ्रमण र राजनीतिक पर्यटन

पर्यटन

नेपाल भारत सम्बन्धः 'लभ एण्ड हेट'

अरुणकुमार सुवेदी
प्रधानमन्त्रीका विशेष दूत भएर भारत गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीजीको भारत भ्रमणको समयमा यो पंक्तिकार पनि आफ्नो कामविशेषले त्यहाँ पुगेको थियो । नयाँ दिल्ली क्षेत्रको हरियाणा फरिदावादस्थित होटलको लबीमा चिया गफ गर्दैगर्दा ती उद्यमीले मसँग सुरुमा माफी माग्दै राजनीतिक र कूटनीतिक प्रसंग निकाले । उनले गरेको प्रश्न र प्रश्नलाई पुष्टि गर्ने प्रसंग अलि लामै थियो । तर, एउटा नेपालीका लागि निकै पेचिलो र मननीय थियो ।
Arun-Kumar-Subediभर्खरैमात्र दुवै छिमेकीतर्फ आफ्ना दूतहरुलाई सप्ताहव्यापी राजनीतिक पर्यटनमा पठाएर यस क्रमको सुरुवात भइसकेको छ । हाम्रा मन्त्री र प्रधानमन्त्री यसरी लामो समय छिमेककोे तीर्थाटनमा गइरहने सामान्य प्रक्रियालाई हल्कारुपमै लिएको यस लेखकलाई एक भारतीय उद्यमीको प्रश्नले भने विचार गर्न बाध्य बनायो ।
हाम्रो व्यवसायिक प्रसंगबाट बाहिरिँदै उनले भने- ‘नेपाल-भारतबीच रहेका समस्या र त्यसबारे एक-अर्काको दृष्टिकोण दुवै मुलुकलाई पक्कै थाहा छ । त्यहाँ भारतका राजदूत लगायत उच्चपदस्थ कर्मचारी पनि छन् । नमिलेका विषय तिनीहरूमार्फत नै आए पनि त हुन्छ । संवेदनशील विषयहरु भए सम्बन्धित विशेषज्ञको समूहमा बहस गराउन सकिन्छ होला । तीर्थाटनमा यत्रो लामो समय किन पाहुना लागेर बस्नु ? यसले तिम्रो राष्ट्रको गरिमा त फितलो हुन्छ नै, भारतीय सरकारी पक्षलाई पनि झमेला लाग्दो हो भनी तिमीहरु सोच्दैनौ ?’
कुरा गम्भीर थियो । ५/७ दिन नै दिल्ली बस्नुको अर्थ मलाई पनि खासै सुझेको थिएन । तर, भारतको नागरिक स्तरमा पनि यो विषयलाई यति गम्भीरतापूर्वक लिइएको हुँदोरहेछ भन्ने कुराको हेक्का मलाई पहिलो पटक भइरहेथ्यो ।
मेरा उद्यमी मित्र जसको क्लाइन्टका रुपमा म त्यहाँ उपस्थित थिएँ । उनले थप कुरा गरे – ‘तिमीहरुको यस्तो काइदाले तिमीहरुकै इज्जत घट्छ । पहिले त प्रतिक्रियात्मक भएर अरुसँग रिसाउनुभन्दा आफू अदवमा बस्नु जरुरी छ । पहिले इज्जत र अदवमा बस, सस्तो नबन । त्यसपछि स्वावलम्बी बन । बाध्यताको निर्भरता त एक-अर्काबीच सबैमा हुन्छ, यो ठूलो कुरा होइन ।’
एउटा व्यापारी काउण्टर पार्टबाट आएका यस्ता कुराबाट म अपमानित र लज्जित थिएँ । तर, आत्मतर्कना बाहेक मलाई अरु कुनै प्रतिक्रिया सुझेन ।
भारतीयहरुसँग हाम्रो अनौपचारिक सम्बन्ध छ । तीर्थ-व्रतका सम्बन्ध छन् । भारतीय समाज पनि केही अनौपचारिक छ । भारतीयहरुलाई हामी अलि हेप्छौं पनि । भारतको राज्य पक्षसँग प्रधानमन्त्री निवास अगाडि नै प्रदर्शन गरेर टक्कर लिँदा पनि हामी त्यसमा अन्यथा सोच्नुपर्ने मान्दैनौं ।
भाषिक समस्या जनस्तरसम्म पनि खासै छैन । त्यस्तो राष्ट्रको एउटा सामान्य व्यापारीलाई त हाम्रो नेतृत्वको हल्कापनले यस्तो भाव विकसित हुनसक्छ भने चिनियाँ जस्तो औपचारिक राज्य र समाजले हामीलाई के सोच्दो हो !
यो पंक्तिकार अझै पनि जोड दिन्छ – फगत राजनीतिक पर्यटनमा हाम्रा प्रधानमन्त्री छिमेक यात्रामा नजाऊन्
चीनमा पनि हाम्रा राज्यका अधिकारी र राजनीतिज्ञहरु हप्तौं बसिदिन्छन् । बिनसित्ति सपिङ कम्प्लेक्समा सुरक्षा प्रबन्धको झमेला सिर्जना गरिदिन्छन् । यो राजनीतिक पर्यटनमा अनावश्यक धाइरहने, आफ्नो इज्जत घटाउने र छिमेकीलाई झिंंजो लगाउने कूटनीतिक शैली नेपालले परिवर्तन गरेमा राष्ट्र, जनता र स्वयं राजनीतिक नेतृत्वको पनि इज्जत बढ्ने रहेछ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
नेपाल भारत सम्बन्धः ‘लभ एण्ड हेट’
नेपाल-भारतबीचको ‘लभ एण्ड हेट’ सम्बन्ध लोककथ्यका आधारमा भन्ने हो भने हजार जिब्रो भएका शेष नागको पहुँचभन्दा पनि पर छ । तैपनि उठ्दा-बस्दा यस सम्बन्धका कारण हरेक नेपाली नागरिक कुनै न कुनै किसिमले प्रभावमा परिरहेका हुन्छन् । कथ्यमा समेट्न नसकिने त्यही प्रसंगलाई बारम्बार चर्चा गर्न हरेक नेपाली बाध्य छ ।
नेपालमा ६, ९, १२ महिनामा प्रधानमन्त्री फेरिइरहन्छन् । हरेक प्रधानमन्त्री कुनै न कुनै रुपमा भारत भ्रमण गर्न इच्छुक वा बाध्य के हुन्छन् कुन्नि ! सामान्यतया उसको पहिलो र यदाकदा दोस्रो गन्तव्य भारत नै हुने गर्छ । जे-जस्ता विषयमा पाखुरा सुर्के पनि भारतप्रति तुच्छ वचन प्रयोग गरेर आफूलाई सूरवीर ठान्नेको अवस्था पनि त्यो भन्दा फरक छैन ।
निकट अतीतको कुरा गर्ने हो भने भारत विरोधी राष्ट्रियता अघि बढाएको दोष पाएका केपी ओलीले पनि दक्षिणको भ्रमण गरेकै हुन् । अब वर्तमान प्रधानमन्त्री पनि जाने तयारी हुँदैछ । पुष्पकमल दाहाललाई हरिद्वार, काशी दर्शनका लागि समय पक्कै चाहिँदैन, तर, पनि पहिलेका प्रधानमन्त्रीझैं उनले पनि ४/५ दिन बिताउने पक्का छ ।
श्राद्धमा बिरालो बाँध्ने उखानझैं प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल पनि दुई छिमेकी राष्ट्रको राजनीतिक पर्यटनमा जाने पक्का छ । त्यसैका लागि आफ्ना दूत बनाएर दुई उपप्रधानमन्त्रीलाई आ-आफ्नो इष्ट राष्ट्र जाऊ भनी प्रधानमन्त्रीबाटै पठाइएको कुरा चर्चामा छ ।
प्रधानमन्त्रीले दुवै राष्ट्रको भ्रमणमा नगई सम्बन्ध व्यवस्थापन गर्न सक्षम हुनुभएमा अत्यन्त उत्तम हुनेछ । यदि जाने नै भए पनि माथिको समय प्रसंगलाई ध्यान दिए वेश होला । यसै पनि प्रधानमन्त्री दाहाललाई सांस्कृतिक र धार्मिक तीर्थाटन गर्नु छैन । घुम्न बाँकी पर्यटकीय ठाउँ बाँकी छैनन् । सद्भावना भ्रमण एकदिन नै काफी हुनेछ । अझै पनि नेपालका प्रधानमन्त्रीले भ्रमण गर्नुभन्दा आधीउधी तय भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ला ।
यस्तै, विगतमा लामै प्रयत्न गरे पनि मुक्तिनाथ, लुम्बिनी र जनकपुर जान नपाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ती स्थानको भ्रमण तय गरे सद्भावनामा टेवा पुग्नुका साथै बिगि्रएको कूटनीतिक सम्बन्धमा पनि विश्वास कायम हुन सक्ला ।
प्रधानमन्त्रीको तहमै भ्रमण गर्ने हो भने आफ्ना आन्तरिक समस्याको उचित सम्बोधन गरेर बाहिर कुनै पनि नाममा कुरा नउठ्ने स्थिति पहिले बनाउनुहोस् । त्यसपछि ठूला सवालमा निर्णयात्मक सम्झौता गर्न मात्र जानुहोस् । पञ्चेश्वर कार्यान्वयन, कोशी उच्च बाँध बनाई नेपालसम्म जलमार्ग विस्तार, कणर्ाली चिसापानीको विकास, ठूला पूर्वाधार योजनाहरुको मोडालिटीलाई अन्तिम रुप दिने जस्ता विषय टंुगिऊन् ।
यो पंक्तिकार अझै पनि जोड दिन्छ – फगत राजनीतिक पर्यटनमा हाम्रा प्रधानमन्त्री छिमेक यात्रामा नजाऊन् ।
२०७३ भदौ १३ गते १५:२१ मा प्रकाशित

No comments:

Post a Comment